‘कोतपर्व’ मा सौगात

असार २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता सौगात मल्लले फिल्म ‘कोतपर्व’ मा शीर्ष भूमिका निर्वाह गर्ने भएका छन् । उनी राजनीतिक तथा ऐतिहासिक घटना कोतपर्वमाथि निर्माण हुने फिल्मका लागि बिहीबार अनुबन्धित भएका हुन् । 

फिल्ममा मल्लको शीर्ष भूमिका हुने भए पनि उनको पात्रबारे केही उल्लेख गरिएको छैन । फिल्म निर्माण पक्षले मल्ल अनुबन्धित भएका र अन्य कलाकारबारे कुराकानी भइरहेको जनाएको छ । फिल्मले राणा प्रधानमन्त्री जंगबहादुरको उदयसँग जोडिएका राजनीतिक घटनाक्रम चित्रित गर्ने निर्माण पक्षको दाबी छ । वि.सं. १९०३ असोज २ गतेको कोतपर्वपछि सुरु भएको राणा शासन १०४ वर्षसम्म चलेको थियो ।

रिमेश अधिकारीको निर्देशनमा बन्ने फिल्मको निर्माण नियन्त्रक पुष्कर लामा हुन् । महेश दवाडीको पटकथामा बन्ने फिल्मका निर्माता आरसी शर्मा र शारदा खड्का अर्याल हुन् । कार्यकारी निर्माता शिव चन्द्र हुन् ।

कान्तिपुर

Link copied successfully