२०४८ देखिका हरेक चुनाव जितेर सत्ता र शक्तिको केन्द्रमा रहँदै आएका भए पनि भ्रष्टाचार मुद्दाका कारण गच्छदारलाई यस पटक एमालेकी भगवती चौधरीको चुनौती बलियो देखिन्छ
इटहरी — प्रतिनिधिसभामा सुनसरी–३ बाट तेस्रो पटक प्रतिस्पर्धा गरिरहेका हेभिवेट थारू नेताहरूमा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदार छन् । दुवै जना यतिबेला जातीय मत कसरी आफ्नो पक्षमा तान्ने भन्ने कसरतमा जोडतोडले लागेका छन् ।
थारू बहुल यो क्षेत्रमा सधैं जातीय मत निर्णायक बन्दै आएको छ । यस पटकको परिदृश्य पनि फेरिएको छैन । गच्छदारको यो सातौं चुनावी प्रतिस्पर्धा हो । चौधरी भने गच्छदारसँग तेस्रो पटक भिड्दै छिन् । गच्छदारले २०४८ देखि निरन्तर जित्दै आएका छन् । ‘यस पटक पनि जित सुनिश्चित छ,’ गच्छदारले दाबी पेस गरे । अधिकांश समय काठमाडौंमा बिताउने गच्छदार चुनावी माहोल सुरु भएपछि भने निरन्तर मतदाता रिझाउने अभियानमा आफ्नो क्षेत्रमा व्यस्त छन् ।
गढी गाउँपालिका–१ का विभिन्न वडामा बिहीबार साँझ चुनावी सभा आयोजना गर्ने योजनामा थिए गच्छदार । तर, उनी अचानक ती सभामा सहभागी भएनन् । चाँदबेलाका एक कार्यकर्ताले भने, ‘स्टेज बनाएर तयार पारियो तर नेताज्यू नआउँदा मतदाता निराश बने ।’ गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ मा कांग्रेसबाट र २०६४ को पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट जितेका हुन् । २०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट जितेका उनी २०७४ मा पुन: कांग्रेसमै फर्किएर जितेका थिए । करिब ३ दशकयता निरन्तर शक्ति र सत्ताका वरिपरि घुमेका गच्छदार डेढ दर्जन पटक शक्तिशाली मन्त्रालयहरूको जिम्मेवारीमा रहे ।
यस पटक चुनावी मैदानमा उत्रँदा भने उनको पुरानो हैसियत कायम छैन । न उनी सत्तामा छन् न शक्तिमै । बरु बालुवाटारको सरकारी जमिन ललिता निवास प्रकरणमा नाम जोडिएका कारण विवादमा मात्र छैनन्, उक्त आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । यसले गर्दा पनि उनको अपराजित यात्रामा चुनौती थपिएको छ । २०७० र ०७४ मा पनि गच्छदारलाई चुनौती दिएकी थिइन् एमाले नेता चौधरीले । अघिल्लो चुनावमै गच्छदारलाई गाह्रो भएको थियो, यस पटक थप गाह्रो हुन सक्ने अनुमान मतदाताको छ । ०७४ को निर्वाचनमा चौधरी र गच्छदारबीचको मतान्तर ३ सय ६२ मात्र थियो । ‘यसपालि परिणाम उल्टिनेछ’, स्थानीय एक एमाले कार्यकर्ताले भने, ‘विगत जस्तो धाँधली गर्ने अवस्था हुनै दिँदैनौं ।’
अघिल्ला दुवै चुनावमा गच्छदारविरुद्ध ‘धाँधली’ को आरोप लगाएकी चौधरीले ०७४ को चुनावपछि त पुन:गणनाको माग गर्दै सर्वोच्चमा रिट नै दायर गरिन् । तर, अहिलेसम्म उक्त मुद्दाको पेसीसमेत नचढेकाले कार्यकर्ताले आपत्ति जनाउँदै आएका छन् । अदालतले न्याय नदिए पनि यो पटक जनताले आफूलाई न्याय गर्ने चौधरी बताउँछिन् । ‘मत गणनामा धाँधली भएपछि न्याय माग्न सर्वोच्च पुगेकी थिएँ, तर अझै मुद्दाको फैसला भएन’, चौधरी भन्छिन्, ‘अब जनताको घरमा जान्छु, जनताले न्याय गर्नेछन् ।’
बिहीबार बिहान इटहरी–११ को थारू बस्ती डुमरटाकाको सभामा भेटिइन् । निर्वाचन आयोगले चुनावी सभा गर्न तोकेको समयसीमाको पहिलो दिन चौधरी जातीय मत बटुल्ने सुर कसेर डुमरटाकाको खरेर बस्ती पुगिन् । त्यहाँ स्थापित थारू संस्कृति झल्किने सालिकको सम्मुख उनले उद्घोष गरिन्, ‘जनताले यस पटक परिवर्तनको आशा गरेका छन्, ३० वर्षदेखि एउटै मान्छेलाई देखेर मतदाताहरू वाक्क दिक्क भएका छन् ।’
१५ वर्षदेखि गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी चौधरी यस पटक भने बढी नै आशावादी देखिएकी छन् । कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले युवा स्वरोजगार, महिला सशक्तीकरणलगायतका मुद्दामा आफू बढी केन्द्रित भएको जनाइन् । ‘महिला र युवामा आर्थिक पहुँच बढाउने, उद्यमशील बनाउने, निर्यातमुखी कृषि प्रणाली निर्माण गर्नेलगायतका विषय मेरो मूल चुनावी एजेन्डा हुन्’, उनले कार्यकर्तामाझ भनिन्, ‘हावादारी गफ गरेर मात्रै हुँदैन, जनतासँग गरेका वाचा पूरा पनि गर्नुपर्छ ।’ जनताले परिवर्तन खोजिरहेको र त्यसको निर्विकल्प आफू मात्रै रहेको दाबी उनको थियो ।
‘मेरो प्रतिस्पर्धी (गच्छदार) विगतमा बलियो हुनुहुन्थ्यो होला तर अब उहाँको त्यो पावर छैन । भ्रष्टाचार मुद्दा खेपिरहनुभएको छ । पहिला जस्तो शक्ति र सत्ताको वरिपरि उहाँ घुम्ने अवस्था छैन,’ चौधरीले थपिन्, ‘अब जनता बेवकुफ हुनेवाला छैनन् ।’ लामो समयदेखि सत्तामा रहे पनि खासै विकास नगरेको भन्दै मतदातामा निराशा भने छ । ‘आफ्नो मन्त्री भएको संख्या जति पनि बाटोघाटो र पुलपुलेसो बनाउन सक्नुभएन,’ चौधरीले व्यंग्य कस्दै सुनाइन्, ‘जनताले यस पटक जवाफ दिने नै छन् ।’ डेढ दशकयता चौधरी राजनीतिक छलाङमा छिन् भने गच्छदारको राजनीतिक ओज क्रमश: गिर्दो छ । ‘गच्छदार पहिला जस्तो शक्तिशाली छैनन्,’ गढी गाउँपालिकाका मतदाता दिलीपकुमार साहले भने, ‘यस पटक उनलाई गाह्रै हुन सक्छ ।’
यस्तो छ गणित
सुनसरी–३ मा कुल १ लाख २५ हजार ४ सय ३२ जना मतदातामध्ये आधाभन्दा बढी मत थारू समुदायको छ । ‘दुवै नेताको दाउ भनेको जातीय मत कसरी आफ्नोतर्फ तान्ने भन्ने नै होड ज्यादा देखिन्छ,’ यस क्षेत्रका एक मतदाता भन्छन्, ‘थारू मत नै जितको मुख्य आधार हो ।’ यो क्षेत्रमा इटहरी उपमहानगरपालिकाका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नं. वडा गरेर १० वटा छन् । सुनसरी–३ मा गढी र बर्जु गाउँपालिका र दुहबी नगरपालिकाका सबै वडा समेटिन्छन् । इनरुवा नगरपालिकाको वडा नं. ७ मात्रै यो क्षेत्रतिर पर्छ । गत स्थानीय तह निर्वाचनमा इटहरीका १० मध्ये एमालेले ६ वडामा जितेको थियो । १४ नम्बर वडामा एमालेबाट बागी उठेका रमेश चौधरी विजयी भएका थिए । उनी एमालेमै फर्किसकेका छन् ।
३ वडामा कांग्रेस विजयी भएको थियो । गठबन्धन भएको इटहरी उपमहानगरका १० वटा वडामा एमालेका वडाध्यक्षले ११ हजार ५ सय ६६ मत पाउँदा गठबन्धनका वडाध्यक्षले १० हजार ३ सय १० मत पाएका थिए । दुहबी नगरपालिकाका ९ वटा वडामध्ये ७ वटा वडा कांग्रेसले जितेको छ । वडाध्यक्षमा कांग्रेसले दुहबी नगरपालिकामा ८ हजार ३ सय २३ मत पाएको थियो । एमालेले वडाध्यक्षमा ६ हजार ६ सय ४८ मत पाएको थियो । प्रमुखमा कांग्रेसका वेद गच्छदारले ११ हजार ९ सय २६ मत ल्याउँदा एमालेका विनय पोख्रेलले ११ हजार ४ सय ६१ मत पाएका थिए । ६ वटा वडा रहेको गढी गााउँपालिकमा भने एमालेले ५ वटा वडाध्यक्ष जितेको थियो । कांग्रेसले एउटा मात्रै वडा जितेको थियो । पालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।
बर्जुमा पनि एमालेले अध्यक्ष, उपाध्यक्षमा जित्दा कांग्रेसले २ वटा वडामात्रै जितेको थियो । गढी गाउँपालिकामा एमालेले वडाध्यक्षमा ६ हजार ३ सय २२ र कांग्रेसले ४ हजार ४ सय ४१ मत पाएका थिए । बर्जुमा कांग्रेसलाई वडाध्यक्षमा ७ हजार ८ सय ९ र एमालेलाई ७ हजार ५ सय ८१ मत प्राप्त भयो । इनरुवा नगरपालिका–७ मा कांग्रेस विजयी भएको थियो । उक्त वडामा कांग्रेसले १ हजार २ सय १४ र एमालेले १ हजार ३४ मत पाएका थिए ।
