चुनावमा सामाजिक सञ्जाल : एकतर्फी प्रचार, निगरानी कठिन

यस पटक युवा मतदाता बढी भएकाले पनि दल र नेताहरूले डिजिटल चुनावी प्रचारलाई तीव्रता दिएका छन् । यस पटकको चुनावमा समग्र नतिजालाई युवा मतले फरक पार्न सक्ने विश्लेषण गरिएको छ ।

कार्तिक १९, २०७९

मणि दाहाल, सजना बराल

काठमाडौँ — स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा निर्वाचित हुन बालेन शाहले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पाएको सफलतापश्चात् राजनीतिक दल र उम्मेदवारहरू सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा आकर्षित भएको देखिन्छ । शाहले विभिन्न सामाजिक सञ्जाल प्लाटफर्मलाई आफ्नो अनुकूल प्रयोग गरी सफलता हासिल गर्न सकेको भनेर विभिन्न मुख्य राजनीतिक दलका नेताहरूले नामै तोकेर उनको आलोचनासमेत गरेका थिए । 

केही महिनापछि हुन लागेको अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिँकिदै गर्दा सामाजिक सञ्जालमा अनेक किसिमका चुनावी अभियानले तीव्रता पाइरहेका छन् । दल, उम्मेदवार, कार्यकर्ता तथा इन्फ्लुएन्सरहरूले चुनावी विज्ञापन र प्रचार सामग्रीहरू धमाधम पोस्ट गर्न थालेका छन् भने स्थापित र अनुभवी नेताको कामप्रति असन्तुष्ट एक जमातले ‘नो, नट अगेन’ लगायत अभियानलाई साथ दिएका छन् ।

यस पटक युवा मतदाता बढी भएकाले पनि दल र नेताहरूले डिजिटल चुनावी प्रचारलाई तीव्रता दिएका छन् । यस पटकको चुनावमा समग्र नतिजालाई युवा मतले फरक पार्न सक्ने विश्लेषण गरिएको छ । यस पटक २५ वर्षमुनिका मतदाता २२ लाख ९४ हजार १९ अर्थात  १२.७५ प्रतिशत रहेका छन् । कुल  १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १८–४० वर्षका मतदाता ८८ लाख चार सय ३६ छन् ।  

कात्तिक १५ मा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा नेकपा एमालेले सामाजिक सञ्जालमा आकर्षक देखिन अडियो–भिडियो प्रेजेन्टेसनलाई निकै प्राथमिकता दिएको थियो । दलको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको सो कार्यक्रमलाई युवालक्षित बनाउने प्रयास देखिन्थ्यो । त्यसको भोलिपल्ट नेपाली कांग्रेसले निर्वाचन संवाद श्रृंखलाको नयाँ अंक फेसबुकबाटै लाइभ गर्‍यो । नेकपा माओवादीले पनि बिहीबार नै युट्युबबाट ‘भोट फर प्रचन्ड, भोट फर माओवादी...’ बोलको चुनावी र्‍याप गीत रिलिज गरेको थियो ।  

कात्तिक १७ देखि उम्मेदवारहरूले आमसभा, जुलुस, कोणसभा गर्न पाउने भएकाले आउने दिनमा सामाजिक सञ्जालमा चुनावी विज्ञापन अझै बग्रेल्ती देखिने निश्चित छ । अहिलेसम्म धेरैजसोले सामाजिक सञ्जालबाट लाइभ आउने, पोस्टर र भिडियो सामग्रीहरू पोस्ट तथा सेयर गर्ने शैली अपनाइरहेका छन् । कपितयले चाहिँ व्यक्तिगत वेबसाइट र मोबाइल एप बनाएर आफ्ना चुनावी सामग्री एकीकृत रूपमा प्रस्तुत गरिरहेका छन् । 

हाल सोसल मिडियामा विज्ञापनका रूपमा पैसा तिरेर र पैसा नतिरिकन साथीभाइमार्फत पनि प्रचारप्रसार गर्ने ट्रेन्ड छ । डिजिटल क्याम्पेनिङका लागि लाखौं रुपैयाँ बजेट छुट्याउनेदेखि सोसल मिडिया ह्यान्डलिङका लागि विशिष्ट टिम नै बनाएर प्रचार–प्रसारलाई तिब्रता दिनेहरू पनि छन् । पैसा तिरेर गरिएका विज्ञापनको प्रभाव ठूलो हुने भएकाले यसमा निगरानी आवश्यक हुने विज्ञहरू बताउँछन् । कतिपय नेता तथा उम्मेदवारले भाषणका क्रममा जथाभावी दाबी गर्ने र तिनका क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएको पनि देख्न सकिन्छ ।

कसको कस्तो अभियान ?

प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एमाले अध्यक्ष्य केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा दिनमा औसतमा ५ वटाजति सामग्री पोस्ट गर्ने गरिएको छ । तिनमा प्रशस्त मात्रामा रियाक्सन र कमेन्ट आएका देखिन्छन् भने मनग्गे सेयर हुने गरेको छ । ओलीले चुनावी प्रचारका लागि टिकटकलाई पनि मजाले प्रयोग गरिरहेका छन् । एमाले र ओलीका सामाजिक सञ्जाल प्लाटफर्म तुलनात्मक रूपमा व्यवस्थित देखिन्छन् ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा केन्द्रले नभै उम्मेदवारहरु आफैले गरेको बताए । ‘सामाजिक सञ्जालहरु उम्मेदवारहरुले आफ्नो तरिकाले प्रयोग गरेका छन् । केन्द्रिकृत रूपमा गरिएको छैन । त्यसलाई नियन्त्रण गर्न काम गरेका छैनौं,’ विष्टले भने, ‘उनले गायक गायिकाहरूले स्वस्फुर्त सामग्री निर्माण गर्नु भएको छ । पहिलो पार्टी निकट भएर हो र अर्को युट्युबहरुमा मोनिटाइज गरेर त्यसबाट कमाउनु भएको छ ।’

विष्टका अनुसार पोस्टर पम्लेट छाप्न नपाएपछि उम्मेदवारहरु सामाजिक सञ्जालको प्रचारका लागि प्रयोग गर्न थालेका छन् । सचिव विष्टले अध्यक्ष ओली आफै सामाजिक सञ्जालमा सक्रिय रहेकाले उनको पेज व्यवस्थित रहेको दाबी गरे । 

गोरखा-२ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेसबुक र ट्वीटरमा सक्रिय छन् । त्यहाँ उनले कार्यक्रमहरूमा भाग लिँदाका तस्बिर, आफ्नै वेबसाइटमा आएका समाचारका लिंक र पार्टी कार्यकर्ता एवं नागरिकसँग भेट्दाका भिडियोहरू पोस्ट गर्ने गरेका छन् । टिकटकमा आधिकारिक एकाउन्ट नभए पनि दाहालको नाममा खुलेका फ्यान पेजबाट प्रचार–प्रसारको काम भइरहेको देखिन्छ ।  

माओवादी केन्द्रको प्रचार हेर्दै आएका नेता विष्णु सापकोटाले सामाजिक सञ्जालको प्रयोग आफ्नो प्रभावकारी उपस्थिति देखाउने गरी अघि बढाउने बताए । उनले विषयवस्तुको उत्पादन केन्द्रिकृत भए पनि उम्मेदवारहरुलाई आफ्नो आवश्यकताअनुसार सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको बताए । 

‘हामीले सामाजिक सञ्जालहरूको प्रयोग आक्रमक रूपमा गर्ने नीति लिएका छौं । जसका लागि केन्द्रमा विभिन्न जनवर्गीय संगठनहरुले काम जिम्मेवारी निर्धारण गरिएको छ,’ सापकोटाले भने, ‘उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग भने आफ्नो आवश्यकताअनुसार प्रयोग गर्ने भएको छ । त्यस विषयलाई तल्लो कमिटीहरूले व्यवस्थापन गर्ने गरेका छन् ।’

सापकोटाका अनुसार जनसाँस्कृतिक महासंघले गीत तथा भिडियोहरु निर्माण गर्ने गरेको र अन्य संस्थाहरुले डिजिटल पम्लेटहरु बनाएका छन् । ‘वुद्धिजीवी संगठनले विषयवस्तुहरु उपलब्ध गराउने जनसाँस्कृतिक मञ्चले संयोजन गर्ने गरेको छ,’ सापकोटाले भने, ‘अखिल क्रान्तिकारी, वाईसीएलसहितका जनवर्गीय संगठनले आफ्नो पेजसहित अन्यत्रतर्फ प्रचार गरेका छन् ।’

चुनावी अभियानका लागि हाल गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सामाजिक सञ्जालमा उति एक्टिभ देखिँदैनन् । उनका आधिकारिक पेजहरूमा चाडपर्व, दुर्घटना, भेला, दिवसजस्ता इभेन्टसम्बन्धी पोस्ट मात्रै राख्ने गरिएको छ । त्यही पनि एकैचोटि पाँच दिनपछि शुक्रबार अपडेट गरिएको छ । कांग्रेसको फेसबुक पेज भने अपडेटेड छ । त्यसमा धेरैजसो प्रेस विज्ञप्ति र पोस्टर डिजाइन गरेर राख्ने गरिएको छ । यस पार्टीको भेरिफाइड ट्वीटर एकाउन्ट पुरानो जमानको भित्ते सूचनापाटीजस्तो छ, बेलाबखत प्रेस विज्ञप्ति र सूचनाहरू ‘टाँस्ने’ गरिएको छ ।

कांग्रेसको केन्द्रीय प्रचार समितिअन्तर्गतको सामाजिक सञ्जाल परिचालन उपसमितिका संयोजक राजीव ढुंगानाले विषयवस्तुहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नका लागि विज्ञहरूको टोली परिचालन गरिएको बताए । ‘समिति र देशभरका उम्मेदवारहरुले फरक-फरक रूपमा सामाजिक सञ्जालको प्रयोग तीव्र बनाएर लैजाने हो । विज्ञहरूको टिममार्फत पार्टीको घोषणापत्र अन्य क्षेत्रबाट सल्लाह र सुझावको अनुसार सामाजिक सञ्जालको विषयहरुलाई तयार पारेका छौं,’ ढुंगानाले भने, ‘सामाजिक सञ्जालको प्रयोगकर्तालाई कस्ता विषयले आकर्षित गर्छन् भनेर त्यसैअनुसार बनाएका छौं । लामा कुरा खासै रुचाउँदैनन् । थोरै समयमा भाइरल हुने विषयहरु राख्नु पर्‍यो । छोटो मिठो ढंगले मानिसले पहिलो नजरमा हेर्नेबित्तिकै त्यस कुराले क्याच गरोस् भन्नेर विषयवस्तु तयार पारेका छौं  । ’

ढुंगानाका अनुसार पार्टीको पक्षमा भएको विषयलाई प्रचार गर्ने र हाम्रोबारेमा विरोधीहरुले जे कुराको आरोप लगाउने गरेका छन् त्यसलाई समयमै खण्डन गर्ने नीति लिएको छ । ‘कांग्रेस र गठनबन्धनका बारेमा विपक्षीले जे भ्रम फैलाइरहेका छन् त्यसलाई चिर्नेका लागि विषयवस्तु तयार गर्ने कुरालाई उत्तिकै प्राथमिकता दिएका छौं,’ ढुंगानाले भने । सबै निर्वाचन क्षेत्रबाट ३-४ जना समावेश हुनेगरी ५ सय १ सदस्यीय सामाजिक सञ्जाल परिचालन कमिटी गठन गरिएको बताए । 

टिकटक चलाउन रुचाउने गुल्मी–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्री पछिल्लो समय ‘जनताको भाग्य लेख्ने कमल बोकी आइन्...’ गीतमा भिडियो बनाउन लागिपरेकी छन् । योसहित अन्य लोकलयका गीतहरूमा नाच्दै, गाउँदै गरेका उनका भिडियोहरू टिकटकमा लोकप्रिय नै देखिन्छन् । फेसबुकमा भने तस्बिरसहित विभिन्न सामग्री सेयर गर्ने गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ की उम्मेदवार सोबिता गौतमले  पनि सामाजिक सञ्जालमा धेरैजसो तस्बिर, पोस्टर र अन्तर्वार्ताका क्लिप सेयर गर्ने गरेकी छन् ।

नेकपा एमाले र जसपाबीचको चुनावी तालमेलको विरोध गर्दै एमाले छोडेर रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह सामाजिक सञ्जालमा अधिक सक्रियमध्ये एक हुन् । उनले प्रचारप्रसारका लागि पछिल्ला दिनहरूमा भिडियो माध्यमलाई बढी जोड दिएका छन् । उनी सामाजिक सञ्जालमा कहिले म्युजिक भिडियो पोस्ट गर्छन् त कहिले वृत्तचित्र, कहिले भने आफैं स्क्रिनमा आएर कथाहरू साझा गर्छन् । उनका पोस्टमा पनि राम्रै इन्गेन्जमेन्ट देखिन्छ । 

काठमाडौं–१ का उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले चाहिँ चुनावी अभियानका आफ्ना भिडियोहरूमा सम्भावित मतदाताका भनाइ पनि समावेश गरिरहेका हुन्छन् ।वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको ट्विटरमा १० लाख भन्दा बढी र फेसबुकमा साढे ८ लाख ६४ हजार फलोअर्स छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीका इन्फ्लुएन्सरहरुलाई प्रयोग गरेर प्रचार गर्ने नीति लिएको बताए । ‘केन्द्रले सामाग्रीहरु उत्पादन गर्ने र त्यसलाई पार्टीमा फेसबुक र ट्विटरहरुमा बढी फलोअर्स भएका नेताहरुकोबाट प्रयोग गरेका छौं’ श्रेष्ठले भने, ‘हामीले स्पोन्सर गर्ने नीति छैन ।’

त्यसैगरी राप्रपाबाट मोरङ-३ की उम्मेदवार अभिनेत्री रेखा थापाको फेसबुकमा ३३ लाख फलोअर्स छन् । फेसबुकमा निकै सक्रिय रहने थापाले पछिल्लो समय चुनावी प्रचारप्रसारका सामग्री पोस्ट गर्ने गरेकी छिन् । मतदाताहरूसँग मत माग्दै गरेका भिडियो उनले फेसबुकमा पोस्ट गरेकी छिन् ।  

चुनावी प्रचारका लागि टकिङ हेड भिडियो शैली सबैले अपनाएको देखिन्छ । यसमा एउटा मान्छे क्यामराअगाडि एक्लै बोलिरहन्छ । आफ्नो एक टेलिभिजन कार्यक्रममार्फत चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि सामाजिक सञ्जाल माध्यमहरूलाई चतुर्‍याइँपूर्वक प्रयोग गर्ने खुबी भएका उम्मेदवारका रूपमा देखा परेका छन् । अरु राजनीतिक नेता, कार्यकर्ताले राजनीतिमा आएपछि वा चुनाव, महाधिवेशनजस्ता महत्त्वपूर्ण समारोहमा सामाजिक सञ्जाल बढी प्रयोग गर्छन् । लामिछानेले भने सामाजिक सञ्जाललाई राजनीतिमा आउने माध्यम बनाए ।  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता केशव झा मधेसका जिल्लाहरुमा फेसबुक र टिकटक बढी प्रयोग हुन थालेपछि त्यसैतर्फ प्रचार सुरु गरेको बताउँछन् ।  ‘अघिल्लो चुनावभन्दा अहिले सामाजिक सञ्जालको प्रयोग गर्नेहरुको संख्या बढेको कारण त्यसमा प्रचार गर्नु सुरु गरेका छौं,’ झाले भने, ‘स्पोन्सर छैन । फेसबुक र टिकटकमा जोड छ ।’

अघिपछि ट्वीटरमा बढी सक्रिय देखिने कांग्रेस नेता गगन थापाले चुनावी प्रचारप्रसारका लागि फेसबुक र टिकटकलाई प्रमुख माध्यम बनाएका छन् । आफूबारे सामाजिक सञ्जालमा उठेका प्रश्नको जवाफ उनले भिडियोहरूमार्फत् दिइरहेका छन् । प्रतिनिधि सभा सदस्यमा काठमाडौं ४ बाट उठेका उनले डिजिटल क्याम्पेनिङका लागि ८ वटा टिम बनाएको एक जानकारले बताए । सोही क्षेत्रबाट एमालेको उम्मेदवार बनेका राजन भट्टराई पनि सामाजिक सञ्जालहरुको आक्रामक रूपमा प्रयोग गर्दै आएका छन् । 

काठमाडौंमा उम्मेदवार बनेका मानुषी यमि भट्टराई, प्रकाशमान सिंह, सर्वेन्द्र खनाललगायत काठमाडौंका उम्मेदवारहरूले पनि डिजिटल अभियानका लागि उल्लेख्य मात्रामा साधान र स्रोतहरुको प्रयोग गर्दै आएका छन् । छोरी मानुषीका लागि बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् ।  उनी आफै‌ं भने यसपटक चुनावी मैदानमा उत्रिएका छैनन् ।  बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय रहने नेता हुन् । 

खर्च कति लाग्छ ?

‘दलहरूले पार्टीकै सदस्य वा स्वयंसेवकमार्फत चुनावी विज्ञापन र प्रचार–प्रसार गरेका हौं भन्छन् तर डिजाइनर राख्न वा बुस्ट गर्न राम्रै पैसा खर्च हुने गरेको छ,’ एक जानकारले भने, ‘फेसबुकमा विज्ञापन राख्दा एकाधले मात्रै डलर कार्डबाट भुक्तनी गरिरहेका छन् । धेरैजसो भुक्तानी अमेरिकाबाट भइरहेको छ ।’ उनका अनुसार हालसम्म सबैभन्दा धेरै फेसबुकबाट विज्ञापन गरिएको छ । त्यसपछि टिकटकबाट (इन्फ्लुएन्सरमार्फत) । विज्ञापनका लागि युट्युब र इन्स्टाग्राम पनि अलिअलि प्रयोग भइरहेका छन् । ट्वीटरको विज्ञापन महँगो हुने र टिकटकमा विज्ञापनको व्यवस्था नभएकाले तिनमा इन्फ्लुएन्सर (चर्चित व्यक्तिहरू) मार्फत् प्रचारप्रसार भइरहेको छ । यसबापत् इन्फ्लुएन्सरले पारिश्रमिक लिने गर्छन् ।

आसन्न चुनावहरूलाई लक्ष्य गर्दै सेप्टेम्बर ७ (भदौ २२) मा मेटा (फेसबुक) कम्पनीले नेपालसहित २४२ वटा देशमा ‘पोलिटिकल एड ट्रान्सपरेन्सी टुल’ सार्वजनिक गरेको थियो । त्यही भएर अहिले तपाईं/हाम्रा फेसबुक र इन्स्टाग्राम एकाउन्टमा आउने कतिपय राजनीतिक विज्ञापनमा ‘पेड फर बाई’ लेखिएको देखिन्छ । राजनीतिक वा निर्वाचनसम्बन्धी विज्ञापनलाई पारदर्शी बनाउन मेटाले उक्त टुल निर्माण गरेको हो ।  साथै, मेटाको एड लाइब्रेरीमा गएर राजनीति वा चुनावसम्बन्धी विज्ञापन खोजी गर्‍यो भने कसले, कति रकम तिरेर, कति इम्प्रेसन प्राप्त गर्न खोजेका छन् भन्ने विवरण जोकोहीले हेर्न सक्छन् । हाल धेरैजसो उम्मेदवार र तिनका समर्थकले एक पटकमा एक हप्ताका लागि १ सय डलरभन्दा बढी शुल्कका विज्ञापन गरिरहेको देखिन्छ । 

सेप्टेम्बर र अक्टोबर महिनामा फेसबुकमा निर्वाचनकेन्द्रित विज्ञापनमा एक सय डलरभन्दा बढी खर्च गर्ने ५० उम्मेदवार/समूहले २० लाख रुपैयाँ खर्च गरेकोबारे सञ्चार विज्ञ उज्ज्वल आचार्यले ट्वीट गरेका छन् । उनले पोस्ट गरेको चार्टअनुसार सबैभन्दा धेरै ४३.८ प्रतिशत स्वतन्त्र उम्मेदवारहरूले खर्च गरेका छन् । जसपाका उम्मेदवार/समूहले १४.१ प्रतिशत र कांग्रेसले ११.५ प्रतिशत खर्च गरेका छन् ।

एकतर्फी प्रचार

भौतिक रूपमा प्रचारप्रसारका क्रममा मतदातासँग दोहोरो कुराकानी हुन्छ । मतदाताले उम्मेदवारसँग आफ्ना असन्तुष्टि वा माग राख्न सक्छन् । तर सामाजिक सञ्जालमा भने सबै पार्टी र नेताहरूले एकोहोरो आफ्ना कुरा राखिरहेका छन् ।

स्थापित दल तथा नेताप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै नयाँ विकल्प चाहिरहेको जमातलाई निर्वाचन आयोगले त्यसो नगर्न भनिरहेको छ । तर, जसकाबारे प्रश्न उठाइएको हो, ती भने लगभग मौन देखिन्छन् । उम्मेदवारहरूका चुनावी अभियानहरू नियाल्दा आफूमाथि उठेका प्रश्नको जवाफ दिने कष्ट तिनले गरेको पाइँदैन । ‘बोल्ने बोलिरहन्छन्, बोल्नेजति मेरा विरोधी हुन् भन्ने सोचबाट हाम्रा उम्मेदवारहरू प्रेरित भएको देखिन्छ,’ आचार्य भन्छन्, ‘बोल्नेहरू पनि मेरै नागरिक हुन् वा यिनलाई आफ्ना सम्भावित मतदाता बनाउन सकिन्छ भन्ने उहाँहरूलाई लागेकै छैन । त्यसैले आफ्ना चुनावी विज्ञापन पनि एकतर्फी शैलीका बनाइरहनु भएको छ ।’  

आचार्यका अनुसार सामाजिक सञ्जालका अभियान वास्तवमा दोहोरो वा अन्तरक्रियात्मक हुनुपर्छ । तर, कसैले पनि साेसल मिडिया नेटिभ अर्थात् सामाजिक सञ्जालको प्रकृतिअनुरुपका सामग्री बनाइरहेका छैनन् । उनीहरूले आफ्ना पोस्टहरूमा आउने कमेन्टहरूमा जवाफ दिने वा रियाक्टसम्म पनि गरेको देखिँदैन । कतिपय उम्मेदवारका पेजहरूमा म्यासेज पठाउने सुविधा खुला गरिएको छैन । लाइभ कार्यक्रममा राखिएका जिज्ञाशाको जवाफ उम्मेदवारले दिएको देखिँदैन । प्रयोगकर्तालाई सम्बोधन गर्ने भाषा र जेस्चर (हाउभाव) सोसल–मिडियामैत्री छैन । रेडियो, टेलिभिजन, स्टेज कार्यक्रम वा सभा–समारोहलाई सम्बोधन गरे झैं सुनिन्छ । 

उम्मेदवारहरूले आफ्ना पोस्टमा अरूले खिचेका तस्बिर प्रयोग गर्दा स्रोत खुलाएको पाइँदैन । कतिपयले त जसको भेट्यो, उसकै फोटो तानेर पोस्ट गरेको देखिन्छ । यस्तोमा उनीहरूले कानुनी झमेलासमेत भोग्न सक्ने देखिन्छ । उदाहरणका लागि भारतीय राष्ट्रिय कंग्रेसले पछिल्लो समय दक्षिण भारतीय चलचित्र केजीएफ-२ को गीत अत्यधिक प्रयोग गरेको भन्दै मुद्दा दायर भएको छ । 'भारत जोडो यात्रा' मा कंग्रेसले केजीएफ-२ को गीत प्रयोग गरेको भन्दै बेंगलुरुस्थित एमआरटी म्युजिकले कंग्रेस नेता राहुल गान्धी, जयराम रमेश र सुप्रिया श्रीनेतिवरुद्ध मुद्दा दायर गरेको हो । 

सामाजिक सञ्जालका खाताहरू नेता आफैंले वा पार्टी प्रतिनिधिले चलाएको हो कि अरू कसैलाई चलाउन दिइएको हो, त्यसबारे कसैले कुनै ‘डिस्क्लेमर’ राखेका छैनन् । इन्फ्लुएन्सरहरूले पनि कसैलाई समर्थन गर्दा ‘यो विज्ञापन हो’, ‘प्रायोजित कन्टेन्ट’ हो भनेर खुलाउने गरेका छैनन् । फलानोलाई भोट दिऊँ भनेर यत्तिकै हालिदिने गरेको पाइन्छ ।  

उम्मेदवारहरूले सामाजिक सञ्जालमा लक्षित मान्छेलाई ‘माइक्रो टार्गेटिङ’ गरेर विज्ञापन गर्न सक्ने सुविधा प्रयोग नगरेको सञ्चार विज्ञ आचार्यले औंल्याए । ‘यसबाट त लक्षित समुदायलाई पनि उमेर समूह, लिंग आदिमा विभाजन गरेर लक्षित सन्देश दिन मिल्छ,’ उनले भने, ‘नेपालको यो ठाउँ बस्ने, यति वर्ष उमेर समूहका महिला वा पुरुषलाई मात्रै विज्ञापन देखाउँछु भन्न पाइन्छ । यसबारे उम्मेदवारलाई जानकारी नभएको देखियो ।’

निगरानी गर्न कठिन

२०७४ को निर्वाचनको तुलनामा यसपटक सामाजिक सञ्जालबाट गरिने विज्ञापनको संख्या र ट्रेन्ड ह्वात्तै बढेको सूचना प्रविधिका जानकार प्रकाश झा बताउँछन् । ‘डिजिटल प्लाटफर्मबाट गरिने चुनावी विज्ञापनले परम्परागत माध्यमको विज्ञापनलाई विस्थापित गरिसक्यो,’ उनले भने, ‘स्थानीय तहको चुनावमा मौन अवधिमा समेत थुप्रैले सामाजिक सञ्जालबाट विज्ञापन गरेका थिए ।’

सामाजिक सञ्जालका विज्ञापनको निगरानी गर्न असाध्यै गाह्रो हुने भएकाले निर्वाचन आचारसंहिता उल्लंघनको जोखिम बढ्ने झाको भनाइ छ । यसले मित्थ्या सूचना, दुष्प्रचार र घृणामिश्रित अभिव्यक्तिको प्रवाह बढाउन सक्ने उनले बताए । सोसल मिडिया क्याम्पेनिङले उम्मेदवारहरूबीच डिजिटल डिभाइड बढाउने अर्का विज्ञ आचार्यले औंल्याएका छन् । ‘जो डिजिटल साक्षर छ वा जसले टार्गेटेड कन्टेन्ट उत्पादन गर्न सक्छ, उसले निर्वाचनमा अनड्यु एड्भान्टेज पाउन सक्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यद्यपी, सामाजिक सञ्जालको प्रयोगले निर्वाचन खर्च घटाउन मद्दत गर्छ । ती विज्ञापन सस्ता हुने भएकाले लोकतन्त्रमा एउटा सामान्य मानिसलाई पनि निर्वाचन लड्न सहज हुने अवस्था आउँछ ।’ यस्ता विज्ञापनले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि निर्वाचन आयोगले उपयुक्त कानुन बनाइ त्यसको निगरानी गर्नसक्ने आचार्यको भनाइ छ ।

‘सामाजिक सञ्जालमा कतिसम्मको विज्ञापन गर्न पाउने भन्ने निर्धारण गर्नुपर्छ,’ उनले भने, ‘पैसा बाहिर जाने कुरा भएकाले हाम्रो अर्थतन्त्र हेरेर खर्च सीमा निर्धारण गर्नुपर्छ । निर्वाचन आचारसंहितामा राजनीतिक विज्ञापनमा डिस्क्लेमर नराखिकन सामान्य विज्ञापन झैं पोस्ट गर्न नपाइने भन्ने बुँदा समेटिनुपर्छ । र, यसलाई कडाइका साथ निगरानी गर्न सकियो र पालना नगर्नेलाई कारबाही गर्न सकियो भने यसलाई व्यवस्थित गर्न सकिन्छ ।’

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully