आधा मतदाता ४० वारि : दुई तिहाइ उम्मेदवार ४० पारि

२५ वर्षमुनिका मतदाता २२ लाख ९४ हजार १९ छन्, १२.७५ प्रतिशत यी युवाको मतले समग्र नतिजा फरक पार्न सक्ने विश्लेषण
मकर श्रेष्ठ

काठमाडौँ — आगामी निर्वाचनमा झन्डै आधा मतदाता ४० वर्षमुनिका युवा छन् तर दुई तिहाइ उम्मेदवार भने ४० वर्षमाथिका छन् । १६ दिनपछि हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन् । यीमध्ये १८–४० वर्षका मतदाता ८८ लाख चार सय ३६ छन् । 

आधा मतदाता ४० वारि : दुई तिहाइ उम्मेदवार ४० पारि

प्रमुख राजनीतिक दलहरूबाट उम्मेदवार बनेका मध्ये २५ देखि ४० वर्ष उमेर समूहका जम्मा ३१.४७ प्रतिशत मात्रै छन् । ४० वर्षमाथिका उम्मेदवार भने ६८.५३ प्रतिशत छन् । स्थानीय तहको नेतृत्वमा स्वतन्त्र रूपमा उठेका युवाले जितेसँगै अबको निर्वाचनमा पनि यस्तै नतिजा आउन सक्ने डर दलका नेताहरूमा छ ।

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कुल २ हजार ४ सय १२ र प्रदेशसभामा ३ हजार २ सय २४ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ ४१ देखि ९९ वर्षसम्मका उम्मेदवार १ हजार ६ सय ५३ छन् । त्यस्तै प्रदेशसभामा पनि यो उमेर समूहका उम्मेदवार २ हजार २ सय १७ जना अर्थात् ६८.७६ प्रतिशत छन् । गत स्थानीय निर्वाचनमा भने उम्मेदवारी दिनेमध्ये ४१ प्रतिशत युवा थिए ।

यो निर्वाचनमा १८–२५ वर्षका मतदाता मात्रै २२ लाख ९४ हजार १९ छन्, यो कुल मतदाताको १२.७५ प्रतिशत हो । त्यस्तै २६–४० वर्षका मतदाता ३६.१७ प्रतिशत छन् । आउँदो निर्वाचनमा युवाको मत निर्णायक हुने देखिएकाले नतिजामा असर पर्न सक्ने राजनीतिक विश्लेषक विष्णु सापकोटाको आकलन छ । भन्छन्, ‘जनता एकातिर, दलहरू अर्कातिर छन् । दल र मतदाताको सोच नै फरक छ । स्थानीय तहमा पनि केही स्थानीय तहको नतिजा फरक आयो । आउँदो निर्वाचनको नतिजामा पनि उतारचढाव आउन सक्छ ।’

६ महिनाअघि स्थानीय तहमा निर्वाचित ४० प्रतिशत अर्थात् १४ हजार ४ सय ४ प्रतिनिधि युवा छन् । अब हुने निर्वाचनमा पनि आधा मतदाता युवा भएकाले उम्मेदवारलाई चुनौती रहेको सापकोटाको विश्लेषण छ । राजनीतिले आशा जगाउन छाडेकाले युवामा वितृष्णा रहेको उनको बुझाइ छ । ‘नयाँ संविधान, संघीयतालगायत ठूला परिवर्तनले केही आशा जगाए पनि पछिल्लो समय मतदातामा राजनीतिप्रति वितृष्णा छ, त्यो चुनावमा प्रकट हुने सम्भावना छ,’ सापकोटा भन्छन् ।

४१ वर्षभन्दा बढी उमेरका मतदाता ५१ प्रतिशत छन् । आयोगका अनुसार ४१–५० वर्षका मतदाता १७.५६ प्रतिशत अर्थात् ३१ लाख ५८ हजार ५ सय २६ जना छन् । यो समूहका मतदाता सबैभन्दा बढी वाग्मती प्रदेशमा ६ लाख ३० हजार छन् । ५१–६० वर्ष उमेरका मतदाता २६ लाख ८२ हजार ६९ अर्थात् १४.९१ प्रतिशत छन् । त्यस्तै ६१–७० वर्षका मतदाता १०.२९ प्रतिशत छन् । ७१–८० वर्षका मतदाता १० लाख ६२ हजार ७३ जना अर्थात् ५.९ प्रतिशत छन् । आयोगका अनुसार ८१ वर्षभन्दा माथिका मतदाता २.४१ प्रतिशत अर्थात् ४ लाख ३४ हजार १ सय ९५ जना छन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौं–८ मा प्रतिनिधिसभा सदस्यको टिकट पक्का भएको थियो तर युवालाई अवसर दिन भन्दै उनी उम्मेदवार बन्न चाहिनन् । ‘मतदाता युवा धेरै छन्, पार्टीमा पनि युवा आएका छन्, मैले त अवसर पाएर यहाँसम्म पुगिसकें,’ उनले भनिन्, ‘युवालाई प्राथमिकता दिनुपर्ने भएकाले उम्मेदवारी दिइनँ ।’

युवा मतदाताले विश्वका विकसित मुलुकमा जस्तै तत्काल परिवर्तन खोज्ने गरेको उनको बुझाइ छ । ‘राजनीतिमा युवा केही गर्छु भनेर आइरहेकाले उनीहरूलाई डोर्‍याउने काम पाको पुस्ताले गर्नुपर्छ, युवाले परिवर्तन चाहेको छ, व्यवस्था छिटो परिवर्तन होस् भन्ने चाहन्छन् तर हाम्रो मुलुकको स्थिति बुझ्न जरुरी छ,’ उनी भन्छिन् ।

ललितपुर–३ की माओवादी उम्मेदवार पम्फा भुसालले उमेरकै कारण प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो अन्तिम पटक भएको घोषणा गरिसकेकी छन् । ‘म ६० वर्ष पुगें । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ बाट ६० वर्ष पुगें । अर्को संसद् आउने बेलासम्म ६५ वर्ष पुग्छु,’ उनले भनिन्, ‘अब मभन्दा युवा साथीहरू आउनुहोस् ।’

राजनीतिशास्त्री प्राध्यापक कृष्ण हाछेथुले अहिलेका युवा दलको विचारप्रति तुलनात्मक रूपमा निरपेक्ष रहेकाले नतिजामा फरक पार्न सक्ने बताउँछन् । ‘दलको विचारबाट टाढा भएका युवा संगठित छैनन्, त्यसैले दिल्लीमा जस्तो नतिजामा असरचाहिँ नगर्न सक्छ,’ भन्छन् ‘धेरैजसो युवा ठूला दलको पकडमा छन् । जेसुकै होस्, असर त पारिहाल्छ नि ।’

प्रकाशित : कार्तिक १९, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?