१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनार्दन शर्माले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नु भएको छ : दाहाल

'राजीनामा नगरेको भए त्यै विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएका बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले शर्माले आफूले केही नगरेको बताएको र त्यसबाट सकारात्मक सन्देश गएको बताएका हुन् । 

जनार्दन शर्माले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नु भएको छ : दाहाल

'उहाँले आफूले केही गरेको छैन भन्नुभएको छ र एउटा सन्देश गरेको छ । नैतिकता र त्यागको सन्देश गएको छ । संसद्‍मा कुरा उठेपछि उहाँले प्रस्ट कुरा राखेर संसद्‍मा नैतिकता प्रदर्शन गर्नुभएको छ,' दाहालले भने । राजीनामा नदिएको भए यसै विषयलाई उचाल्दै गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको पनि दाहालको भनाइ थियो । उनले भने, 'राजीनामा नगरेको भए त्यै विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।' शर्माले राजीनामा दिएर राजनीतिक संस्कार देखाएको पनि दाहालले बताए ।

यसै विषयलाई लिएर माओवादीलाई अपमानित गर्न खोजिने भन्दै उनले जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले अगाडि भने, 'छानबिनका लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । एउटा राजनीतिक कल्चर विकास गर्ने प्रक्रियाको कडी हो । यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्छन् तर यसलाई नयाँ तरिकाबाट जान जरुरी छ ।'

असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर बिहीबार बसेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ । बिहीबारको बैठकमा पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरोको टुंगो लगाउने बताइएको छ ।

सदन, सडक र जनस्तरबाट चर्को दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका हुन् । बजेट ल्याउँदा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई समावेश गरेपछि मन्त्री शर्माको चर्को विरोध भएको थियो । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन विशेष समिति गठन गर्ने सहमति भएपछि सुरु भएको संसद्मा बुधबार शर्माले राजीनामा घोषणा गरेका हुन् ।

प्रकाशित : असार २३, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?