उम्मेदवारले मत मागे, मतदान गर्न सिकाएनन्

स्थानीय तह निर्वाचनको मतपत्र झन्झटिलो भएको मतदाताको गुनासो, मत खसाल्नेबारे बुझाउनै मुश्किल
मधु शाही, मकर श्रेष्ठ

काठमाडौँ — उनी आमासँगै मतदान केन्द्रमा आए । पहिलो पटक स्थानीय तहको निर्वाचनमा मत खसाल्ने अवसर पाएका शंखमूलका सरोज श्रेष्ठले हल्का रमाइलो मान्दै केही संकोच महसुस गरेका थिए । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि उनी शंखमूलस्थित ज्ञान निकेतन स्कुलमा मतदान परिचयपत्र लिन पुगेका हुन् । यति मात्रै होइन, उनले मत कसरी खसाल्ने भन्ने विषयमा मतदान अधिकृतबाट केही सिके पनि । आमा संगीता श्रेष्ठले उनलाई थप हौसला दिइरहेकी थिइन् । नमुना मतपत्र १९ वर्षे सरोजले सोचेभन्दा ठूलो थियो ।

उम्मेदवारले मत मागे, मतदान गर्न सिकाएनन्

मतदान अधिकृतले उनलाई कसरी मतपत्रमा छाप हान्नेबारे सिकाए । उनी भने अलमल पर्दै आमाको मुख हेर्थे । ‘बिग्रिन्छ कि भन्ने डर पनि लाग्या छ ममी,’ उनले आमातिर फर्किंदै भने, ‘हजुरले घर गएर पनि सिकाइदिनु है ।’ आमाछोराको मतदानप्रतिको छलफल चलिरह्यो । संगीताले ‘छाप हानेपछि हल्का फुकेर मात्रै राम्रो गरी मतपत्र पट्याउनु, नभए मसी लतपतिन्छ,’ भन्दै सिकाइन् । सरोज निकै चासो दिएर सुनिरहन्थे । मत हाल्न सिकाउँदै गर्दा संगीताले भनिन्, ‘मत बदर हुनु भनेको तिम्रो अधिकार बदर हुनु हो बाबु, ध्यान दिएर मत खसाल्नु है ।’

स्थानीय तहको चुनावको तयारी देशभर छ । काठमाडौं जिल्लामा एक महानगरपालिका र अरू १० नगरपालिकामा निर्वाचन हुँदै छ ।

मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउनेको बुधबार घुइँचो थियो । उनीहरूलाई मतदान गर्ने तरिका सिकाउने काम पनि भइरहेको थियो । ज्ञान निकेतन स्कुलमा परिचयपत्र लिन आएकी २० वर्षीया सुस्मिता नकर्मीले प्रक्रिया सिक्न ठ्याक्कै आधा घण्टा लगाइन् । आफूले सिकेपछि घरमा गएर आमाबुबालाई समेत सिकाउने उनले बताइन् । तर, उनी आफैं पनि पहिलो पटक मत खसाल्ने अनुभूति बटुल्दै गरेकामा दंग थिइन् । ‘मैले राम्रोसँग सिक्छु अनि घर गएर बुबाआमालाई बुझाउँछु,’ उनले भनिन्, ‘भोट खेर नजाओस् भनेर सचेत छु ।’

पुरानो बानेश्वरस्थित रत्नराज्यलक्ष्मी स्कुलमा काठमाडौं महानगरपालिकाको वडा–१० को मतदान केन्द्र छ । स्थानीय मतदाता कपिलकुमार श्रेष्ठले मतदान अधिकृतसँग लामो समय छलफल गरे । उनको गुनासो थियो, ‘मतदान प्रशिक्षण अलि पहिले नै सिकाउनुपर्छ । यो भनाइ उनले भोट माग्न घरदैलो आएका राजनीतिक दललाई पनि सुनाएका थिए । उनको घरमा ७० वर्षकी आमा छिन् । उनको हात थरथर काप्छ । मत खसाल्नेबारे उनलाई बुझाउनै मुस्किल छ । ‘यो चिह्नलाई भोट हाल्नु भन्ने नेता धेरै आए तर मतपत्रमा यसरी भोट हाल्नु भन्नेर सिकाउने कोही आएनन्,’ कपिल भन्छन्, ‘आफैं कन्फ्युज छु, बूढी आमाले के भेउ पाउनुहोला !’ पुरानो बानेश्वरका १९ वर्षे प्रणयराज कायस्थको मनमा खुसी र कौतुहलता दुवै छ । जब उनले परिचयपत्र पाएपछि निकै घोरिएर पढे अनि मतदानको नमुनापत्रतिर आँखा लगाए । ठूलो मतपत्रलाई उनले सर्लक्क हातमा तेर्स्याए । एकैछिन उनी मतपत्रको स्वरूप हेरेरै दंग परे । ‘मतपत्र हेर्दै तिरिमिरी झ्याइँ भइयो नि,’ उनले व्यंग्य गर्दै भने, ‘रातभरि मत खसाल्ने अभ्यास गर्नुपर्ला जस्तो छ ।’

स्थानीय तह चुनावमा मतदानपत्र अलि झन्झटिलो भएको मतदाताले बताएका छन् । उनीहरूलाई बुझाउने काम भइरहेको मतदान अधिकृत र कर्मचारीको दाबी छ । गठबन्धनले गर्दा पार्टीको मान्छे, चिह्न सम्झनलाई गाह्रो रहेको रत्नराज्य लक्ष्मी स्कुलस्थित मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत रेवतीप्रसाद पराजुलीले बताए । उनका अनुसार पहिलाको चुनावमा पार्टीलाई मात्रै मत दिँदा सजिलो हुन्थ्यो । ‘अहिले गठबन्धनले गर्दा मतदाता कन्फ्युज हुन सक्छन्,’ उनी भन्छन्, ‘धेरै रद्द हुन सक्ने सम्भावना देखेका छौं ।’ यद्यपि मतदान केन्द्रका कर्मचारीले मतपत्रमा छाप हान्ने र व्यवस्थित रूपले पट्याउने काम सिकाइरहेको उनले बताए । काठमाडौं उपत्यकामा ६ लाख ३७ हजार ७ सय ७५ मतदाता छन् । ७ सय ५९ मत केन्द्र छन् । ३ सय २० वटा मतदान स्थल छन् ।

प्रकाशित : वैशाख २९, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?