मतदाता नामावलीमा भएकाले परिचय खुल्ने सरकारी कागजातबाट मतदान गर्न पाउने

वैशाख २८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — मतदाता नामावलीमा नाम समावेश भएकाहरुले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति निकालेर शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने जानकारी गराएका हुन् । 

'मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,' विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार देशका ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully