अरूमा संक्रमण दर घट्यो, ५ वर्षमुनिकामा उस्तै

संक्रमणमुक्त भएका बालबालिकामा ‘मल्टिसिस्टम इनफ्‍ल्यामेटरी सिन्ड्रोम’

जेष्ठ २६, २०७८

जनकराज सापकोटा

काठमाडौँ — पछिल्लो एक साताको पीसीआर र एन्टिजेन परीक्षणमा कोरोना संक्रमितको संख्या ओरालो लागेको देखिए पनि कम उमेर समूहका बालबालिका संक्रमित हुने दर घटेको छैन । १८ वर्षमुनिका संक्रमित बालबालिकामध्ये ५ वर्षमुनिका बालबालिकाको हिस्सा उच्च देखिन्छ ।

मंगलबार संक्रमण पुष्टि भएका ५ हजार १ सय ५३ मध्ये १८ वर्षमुनिका ५ प्रतिशत अर्थात् २ सय ९३ जना छन् । संक्रमित बालबालिकामध्ये ५ वर्षमुनिकाको संख्या भने झन्डै १४ प्रतिशत छ । सोमबार ४ हजार ४ सय ७२ संक्रमित हुँदा १८ वर्षमुनिकाको संख्या ७ प्रतिशत थियो । ३ सय १२ जना बालबालिकामा संक्रमण पुष्टि भएकामा ५ वर्षमुनिका ५६ जना थिए । यो कुल संक्रमितको १ दशमलव २५ प्रतिशत हो ।

संक्रमित बालबालिकामा ५ वर्षमुनिका झन्डै १८ प्रतिशत छन् । यस्तै, आइतबार ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि हुँदा १८ वर्षमुनिका ६ प्रतिशत अर्थात् २ सय ३४ जना थिए । कुल संक्रमितमध्ये ५ वर्षमुनिका बालबालिकाको संख्या ३९ अर्थात् १.१२ प्रतिशत थियो । आइतबार १८ वर्षमुनिका कुल संक्रमित बालबालिकामा ५ वर्षमुनिकाको संख्या १६.६६ प्रतिशत थियो ।

शनिबार कुल संक्रमितको संख्या ५ हजार ४२ थियो । जसमा १८ वर्षमुनिका ६ प्रतिशत अर्थात् ३ सय १७ बालबालिका संक्रमित भए । जसमा ५ वर्षमुनिका संक्रमित बालबालिकाको संख्या ४८ जना अर्थात् कुल संक्रमितको ०.९५ प्रतिशत थियो । शनिबार कुल संक्रमित बालबालिकामा ५ वर्षमुनिका १५.१४ प्रतिशत थिए ।

गत बुधबारयताको तथ्यांकले ५ वर्षमुनिका बालबालिकामा संक्रमण दर घटेको देखाउँदैन । कुल संक्रमितको संख्यासँगै १८ वर्षमुनिका बालबालिकाको संक्रमण दर पनि ओरालो लागिरहँदा पनि ५ वर्षमुनिका बालबालिकाको संक्रमण दर भने उस्तै देखिन्छ । मंगलबार कुल संक्रमित बालबालिकामा ५ वर्षमुनिकाको संख्या कम देखिए पनि १८ वर्षमुनिका बालबालिकामध्ये यो उमेर समूहको संक्रमित बालबालिकाको हिस्सा उल्लेख्य रूपमा घटेको देखिँदैन । बालबालिकासम्बन्धी ऐनले १८ वर्ष उमेर पूरा नभएको व्यक्तिलाई बालबालिका भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार विज्ञप्ति निकालेर कोरोना महामारीको दोस्रो लहरजस्तै तेस्रो र चौथो लहर आउने सक्ने र त्यतिबेला बालबालिका बढी मात्रामा प्रभावित हुने जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा त्यति बेला बालबालिकाको संक्रमणको दर बढ्न सक्ने हुनाले अस्पतालहरूले स्वीकृत शय्यामा कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका निम्ति प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

अन्य देशको तुलनामा पनि बालबालिका संक्रमित हुने दर नेपालमा उच्च देखिन्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार अमेरिकामा कुल संक्रमितमध्ये बालबालिका १३ प्रतिशत हाराहारी छन् । जबकि नेपालमा पछिल्लो एक साता कुल संक्रमितमध्ये बालबालिका १५ प्रतिशतभन्दा धेरै छन् । 

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाले कोभिडको पहिलो लहरमा कुल संक्रमितमध्ये २ देखि ३ प्रतिशत मात्रै बालबालिका देखिएकामा पछिल्लो लहरमा उल्लेख्य वृद्धि भएको बताए । ‘एक सातायता संक्रमणको दर स्थिर देखिए पनि बालबालिकाको हिस्सामा उल्लेख्य कमी आएको देखिँदैन,’ उनले भने, ‘बरु संक्रमित भएर निको भइसकेका बालबालिकामा मल्टिसिस्टम इनल्यामेटरी सिन्ड्रोम (एमआईएससी) देखिने गरेको बताए । डा. बिच्छाका अनुसार कोभिड संक्रमणमुक्त भएको एक देखि डेढ सातापछि बालबालिकामा शरीरका दुई वा दुईभन्दा धेरै अंग संक्रमित हुने जोखिम देखिएको छ ।

हार्वर्ड मेडिकल स्कुलका अनुसार दुई दिनभन्दा बढी लगातार उच्च ज्वरो आउनु, आँखाको सेतो भाग रातो देखिनु, पेट दुख्नु, बान्ता वा पखाला चल्नु, घाँटी दुख्नु, जिब्रो अस्वाभाविक रातो देखिनु, निन्द्रा राम्रो नपर्नु र मांसपेशी दुख्नु जस्ता समस्या एमआईएससीमा देखिने गर्छ । प्रसिद्ध ‘जर्नल ल्यानसेट चाइल्ड एन्ड एडोलेसेन्ट’ मा गत वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्ममा गरेको अध्ययन प्रतिवेदनअनुसार एमआईएससीको उपचार सकिएको ६ महिनापछि पनि एक तिहाइ बालबालिकामा लगातार मांसपेशी कमजोर हुने, थकान लाग्ने र मानसिक स्वास्थ्यसम्बन्धी अप्ठ्यारा देखा पर्ने गरेको पाइएको थियो ।

डा. बिच्छाका अनुसार संक्रमण दर उच्च भएर ओरालो लाग्न थालेको साता दिनपछि एमआईएससीका लक्षण भएका बालबालिका अस्पतालमा भर्ना हुने दर बढ्ने देखिन्छ । उनले अघिल्लो लहरमा पनि संक्रमण उच्च भएको एक सातापछि यस्ता बिरामीको संख्या अस्पतालमा बढेको सुनाए ।

‘सोमबार मात्रै अस्पतालमा एमआईएससी भएका तीन र मंगलबार दुई बालबालिका भर्ना भए,’ उनले भने । कान्ति बाल अस्पतालमा अहिले १६ जना संक्रमित बालबालिका उपचाररत छन् । ‘भर्ना भएकामध्ये ९० प्रतिशतभन्दा धेरै बालबालिकामा संक्रमणको सामान्य लक्षण मात्रै देखिएको छ,’ उनले भने, ‘अभिभावकले जनस्वास्थ्यको नियम पालना गरेनन् भने बालबालिका संक्रमण हुने दर बढ्छ ।’

कोरोना खोपकोरोना भाइरस

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully