सुर्खेत — कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । यहाँको कोरोना विशेष अस्पतालमा हाल अक्सिजन चलाउनुपर्ने १९ जना बिरामी छन् । तीमध्ये ४ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार भेन्टिलेटरमा राखिएका बिरामीलाई २–३ घण्टामा एउटा अक्सिजन सिलिन्डर फेर्नुपर्छ । ‘अहिलेसम्म त पुगनपुग भएकै छ, जटिल अवस्थाका संक्रमित थपिए भने धान्न मुस्किल हुने देखिन्छ,’ उनले भने, ‘धेरै बिरामीलाई उपचार गर्न सक्ने अस्पतालमा क्षमता पनि छैन ।’ अस्पतालमा कोरोनाका लागि २५ आईसीयू र ८ भेन्टिलेटर बेड छन् । सबैमा गरेर ४० वटा अक्सिजन सिलिन्डर छन् । एक साताभित्र अक्सिजन प्लान्ट सञ्चालन गर्ने गरी थप ४० वटा सिलिन्डर खरिद गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले अक्सिजन प्लान्ट सुरु भएमा संक्रमितको उपचारमा केही राहत हुने बताए । अस्पतालले अक्सिजनको ३० लाख रुपैयाँ तिर्न बाँकी छ । सामाजिक विकास मन्त्रालयले रकम भुक्तानी नगर्दा अक्सिजन आपूर्तिमा समस्या भएको डा. खड्काले बताए ।
सल्यानमा पनि अक्सिजन अभाव देखिएको छ । अहिले एउटा मेसिनबाट पाइप जडान गरेर दुई संक्रमितलाई अक्सिजन दिनुपरेको अस्पतालका प्रमुख डा. भीमकान्त जैशीले बताए । उनका अनुसार दैनिक ३ जना अक्सिजन दिनुपर्ने कोरोनाका बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका तीनमध्ये दुईवटा मात्र सञ्चालनमा छन् । ‘अक्सिजन लगाउन पनि पालो कुर्नुपर्ने अवस्था आउन सक्छ, त्यतिबेला निकै गाह्रो हुनेवाला छ,’ उनले भने, ‘सरकारसँग समयमै सहयोग मागिए पनि बेवास्ता हुँदा समस्या देखिएको छ ।’ अस्पतालले अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरे पनि कहिलेसम्म सञ्चालन हुन्छ भन्न नसकिने उनले बताए ।
स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार वैशाखयता मात्र ४० संक्रमित थपिएका छन् । तीमध्ये २ जनाको मृत्यु भएको छ । स्थानीय तहलाई कोरोना परीक्षण गर्ने जिम्मेवारी दिए पनि चासो नदिएको उनले बताए । कोभिड संक्रमितको उपचार गर्ने जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने अक्सिजनको समस्या छैन । त्यहाँ ३ सय बेडका लागि अक्सिजन प्लान्ट जडान गरिएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पछिल्लो समय जटिल अवस्थाका संक्रमितको संख्या बढ्दै गए पनि उपचारको प्रबन्ध भने भरपर्दो नभएको बताए । ‘कतिपय बिरामीले हामीलाई समेत फोन गरेर हारगुहार गर्ने गरेका छन्, तर अस्पतालमा अक्सिजनलगायत अन्य उपचारको अभाव झन् खड्किँदै गएको छ,’ उनले भने, ‘कर्णालीको प्रवेशद्वार र केन्द्र भएकाले हामीले सुर्खेतमा पूर्वाधार विकासमा जोड दिने योजना बनाएका छौं ।’
