अस्पताल भर्ना भएका ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको चिकित्सक बताउँछन्, तर अक्सिजन चाहिने संक्रमितका लागि एचडीयू जडान गर्ने योजना राजधानीकै अस्पतालमा पूरा भएन
काठमाडौँ — प्रमुख अस्पतालहरूमा कोरोनाका जटिल बिरामी थपिन थालेपछि बेड अभाव हुन थालेको छ । अक्सिजन चाहिने बिरामी बढिरहेका छन् । तर अक्सिजन चाहिने संक्रमितलाई उपचार गर्न सकिने एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडान गर्ने सरकारी योजना भने अपूरै छ ।
राजधानीकै वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा सरकारको योजना पूरा भएको छैन । संक्रमित भएर अस्पताल भर्ना भएका ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था आएको चिकित्सकहरू बताउँछन् ।
संक्रमितले आईसीयू पाउन छाडेपछि गत कात्तिक पहिलो साता सरकारले ६ हजार एचडीयू बनाउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कात्तिक ६ को प्रेस बिफ्रिङमा काठमाडौं उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा एक सय बेडको एचडीयू व्यवस्था हुने बताएका थिए । एचडीयूका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ विनियोजन गरेर पठाइसकेको पनि उनको भनाइ थियो ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले नयाँ एचडीयू थप नभएको बताए । ‘हाम्रोमा पहिला नै १० बेडको एचडीयू थियो, मन्त्रालयले बजेट दिन्छु थप गर्नु भनेको थियो,’ उनले भने, ‘कोरोना कम भएकाले केही गरेनौं । अब थप गर्ने विषयमा छलफल भइरहेको छ ।’ अस्पतालमा अहिले २१ वटा आईसीयू बेड छन् ।
सरकारीबाहेक निजी अस्पतालमा पनि सरकारले एचडीयू बनाउने भनेको थियो । एक सय एचडीयूको व्यवस्था गर्ने भनिएको त्रिवि शिक्षण अस्पतालमा ५० बेडमात्रै तयार छ । अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले थप ५० बेडको ठेक्का पाएका सप्लायर्समध्ये केही सामान दिन नसक्ने भन्दै पन्छिएको र केहीको मुद्दा परेकाले ढिलाइ भएको बताए । हाल कोभिडका लागि छुट्याइएका ५० बेडमा २/३ वटा बेडबाहेक सबै भरिएको उनले जानकारी दिए । वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले एचडीयू बेडका लागि उपकरण र बजेट पाएपछि २५ बेड चलाइरहेको बताए । ‘संक्रमित बढेपछि हाल ननकोभिड वार्डमा भर्ना गर्न थालेका छौं,’ उनले भने ।
थापाथलीस्थित प्रसूति गृहमा जनशक्ति अभाव भएपछि जडान भएको एचडीयू सञ्चालनमा आउन सकेको छैन । एक साताभित्र जनशक्ति व्यवस्थापन गर्ने निर्देशक डा. संगीता मिश्राले बताइन् । बानेश्वरस्थित सिभिल अस्पतालमा २५ बेडको एचडीयूको उपकरण र बेड मन्त्रालयले खरिद गरेर उपलब्ध गराएको थियो । कोरोना संक्रमित कम भएपछि मनिटर लगाएका सामान जनरल बेडमा जडान गरिएको डा. दिनेशकुमार लम्सालले बताए ।
प्रदेशका अस्पतालमा पनि ५० बेडका दरले एचडीयू बनाउने सरकारी घोषणा थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभर कति एचडीयू बने भन्ने विवरण आइनसकेको बताए । तत्काललाई ८ सय बनाइसक्ने भने पनि त्यसलाई थपेर १ हजारसम्म पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ । ‘प्रगतिका आधारमा पैसा पठाउने भनेका छौं । धेरैले काम अघि बढाइसकेका छन्,’ उनले भने । उनका अनुसार १ हजारमध्ये २ सय बेडचाहिँ निजी क्षेत्र तथा सरकारी क्षेत्रमा पहिले भएका बेडहरूको व्यवस्थापन गरेर अपग्रेड गर्ने योजना छ । लगभग ५० प्रतिशत काठमाडौंलाई केन्द्रित गरेर बनाइने उनले बताए ।
आईसीयू बेड भरिँदै
शुक्रबारसम्म देशभर १ सय ७३ जना आईसीयू र ५७ जना संक्रमित भेन्टिलेटरमा छन् । १ हजार १ सय ८० आईसीयू र ५ सय १२ वटा भेन्टिलेटरमात्रै उपलब्ध रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामी राख्ने ठाउँ न्यून रहेको अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले बताए । ‘आईसीयू र भेन्टिलेटरका लागि फोन आइराख्छ, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छ,’ उनले भने, ‘रिफर गर्न अरू अस्पतालमा पनि बेड छैन । हामी एकदमै डरलाग्दो अवस्थामा छौं ।’
नेपालगन्जस्थित भेरी अस्पतालमा १ सय ४२ बेड कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ । हाल सबै बेड भरिइसकेका छन् । अस्पतालका प्रमुख डा. प्रकाश थापाले १ सय ६३ जना उपचाररत रहेको बताए । १ सय ४२ बेडको आइसोलेसन वार्ड पनि बिरामीले भरिएका छन् । ४० वटै आईसीयू बेड र भेन्टिलेटर पनि खाली छैनन् । अक्सिजन चाहिने बिरामीलाई उपचारका लागि अन्य अस्पतालसँग समन्वय गरिरहेको डा. थापाले जानकारी दिए । यस्तै, अस्पतालमा १५ वटा भेन्टिलेटर रहेकामा ६ वटामा बिरामी भर्ना छन् । ‘हामीसँग ५० एचडीयू बेड छन्, ३६ बेडका लागि सरकारबाट सामग्री तथा बजेट प्राप्त भएको छ,’ उनले भने, ‘संक्रमितका लागि २ सय बेडसम्म पुर्याउने लक्ष्य छ ।’
बाँकेमा हरेक दिन ३ सयदेखि ४ सय बिरामी थपिइरहेकाले अवस्था नियन्त्रण बाहिर गइरहेको उनको भनाइ छ । भेरी अस्पतालले बिरामी थेग्न नसकेपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बेड थप्ने काम भइरहेको छ । भेरीमा गम्भीर प्रकृतिका बिरामी आए पनि राख्ने ठाउँ नहुने भएपछि शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मेडिकल कलेज कोहलपुरमा २ सय बेड सञ्चालन गर्ने निर्णय गरेको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले ३४ वटा एचडीयू बेड सञ्चालनमा रहेको जनाए । ८० क्षमताको बेड एक साताभित्र थप्ने गरी काम अघि बढाएको उनको भनाइ छ । ‘१ सय ५० बेडको फुल फ्लेजको कोभिड एचडीयू र आईसीयू चलाउने प्रयास गरिराखेका छौं,’ उनले भने, ‘बिरामी एकदमै धेरै बढेका छन् । विभिन्न ठाउँबाट रिफर भएर आउँछन् ।’ ४२ बेड रहेकामा अस्पतालका ३२ बेड भरिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा पनि बेडको अभाव देखिन थालेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत ५० शय्याको कोरोना अस्पतालमा बिहीबार ३७ जना संक्रमित उपचाररत रहेकामा अधिकांशको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । कर्णालीमा भने एउटा पनि एचडीयू नरहेको मन्त्रालय स्रोतले बतायो ।
मन्त्रालयले थाल्यो विवरण संकलन
कोरोना संक्रमितको संख्या दैनिक २ हजार ५ सयभन्दा बढी हुन थालेपछि भने मन्त्रालयले एचडीयूको प्रगति संकलन थालेको छ । मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ५ सय ९ वटामात्रै एचडीयू बनेका छन् । प्रदेश १ मा १ सय ३१, प्रदेश २ मा ५४, वाग्मती प्रदेशमा १ सय ८६, गण्डकीमा २५, लुम्बिनीमा ९२, सुदूरपश्चिममा २१ वटा एचडीयू बनेको पाइएको हो ।
हरेक प्रदेशमा कम्तीमा २ सय बेडको एचडीयू बनाउने गरी मन्त्रालयले अस्पतालसमेत घोषणा गरेको थियो । उपत्यकाबाहिरका २१ अस्पतालमा २५/२५ बेडको एचडीयू हुने मन्त्रालयले घोषणा गरेको थियो । २५ बेडको एचडीयू संरचनाका लागि ३ करोड १२ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरेर बजेट उपलब्ध गराउने मन्त्रालयले निर्णय गरेको थियो । संक्रमितको संख्या बढेपछि तत्काल एचडीयू व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रमा एचडीयूको अवस्था बुझ्न मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीसहितको टोली चार दिनअघि कीर्तिपुर पुगेको थियो । उनीहरूले जनशक्ति व्यवस्थापन गरी तत्काल एचडीयू सञ्चालन गर्न निर्देशन दिएका छन् । त्यहाँ उपकरण ल्याए पनि तयार हुन बाँकी छ । ‘संक्रमित बढेपछि जतिसक्दो चाँडो काम गर्न अस्पतालहरूलाई निर्देशन दिइसकेका छौं,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘धेरैलाई पैसासमेत पठाइसकेको छ । सबैले काम हुँदै छ भनेर जवाफ दिएका छन् ।’ मन्त्रालयले एचडीयू राख्ने योजनालाई प्रगतिका आधारमा मात्रै भुक्तानी दिने निर्णय गरेको उनले बताए । ‘एचडीयूमा बजेटको सुनिश्चितता गरेको चिठी पठाएका थियौं,’ उनले भने, ‘विगतमा बजेट फ्रिज भयो ।’ संक्रमित बढेपछि अस्पताल व्यवस्थापनले पनि एचडीयू राख्न चासो देखाएका छन् ।
