कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

संक्रमण रोक्न सरकारले हवाई र स्थल सीमानाकामा कडाइ गर्नैपर्छ : जनस्वास्थ्यविद्
भारतबाट आएर परीक्षण गराएकामध्ये १२% मा संक्रमण
लुम्बिनी प्रदेशबाट मात्रै एक सातामा ३२ हजार भित्रिए

काठमाडौँ — कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन ।

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो । पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ ।

वैशाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन । वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ ।

बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । तर, त्यसअनुसार सावधानी अपनाइएको छैन ।

गृह मन्त्रालयले पनि जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई यसअघिकै आदेश पालनामा कडाइ गर्नेबाहेक महामारीविरुद्ध थप सक्रियता देखाएको छैन । संक्रमण विस्तार हुन थालेपछि जनस्तरबाटै लकडाउन र सीमानाका सिल गर्नुपर्ने विषय उठेका छन् । सरकार तत्कालै लकडाउन गर्ने पक्षमा देखिएको छैन । जनस्वास्थ्यविद् डा. शरद वन्तले विदेशबाट संक्रमण भित्रिन नदिन सीमानाकामै पर्याप्त परीक्षण गरी संक्रमित देखिए आइसोलेसनमा पठाउनुपर्ने सुझाव दिए । आयातित संक्रमण रोक्न सरकारले हवाई र स्थल सीमानाकामा कडाइ गर्नैपर्ने उनको भनाइ छ ।

‘भारतबाट स्वदेश फर्कन चाहेका नेपालीलाई निर्बाध प्रवेश दिएर होल्डिङ सेन्टर र क्वारेन्टाइनमा राख्नुपर्छ, परीक्षणमा संक्रमित देखिए अस्पताल वा तोकिएका आइसोलेसनमा पठाई सरकारले उचित व्यवस्थापन गर्नुपर्छ,’ वन्तले कान्तिपुरसँग भने, ‘भारतीयको हकमा राज्यले व्यवस्थापन गर्न सक्छ भने प्रवेश दिएर परीक्षणको दायरामा ल्याउनुपर्छ, नत्र तत्कालका लागि प्रवेश निषेध गर्न सक्छ ।’ उनले भारतीयलाई नेपालबाट तेस्रो मुलुक जान सहज गरिदिएकोमा पनि असन्तुष्टि जनाए । हवाईमार्गबाट आएका विदेशीलाई पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै अर्को मुलुक जान अनुमति दिन उनको सुझाव छ ।

प्रधानमन्त्रीले ब्रिफिङ लिए

कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रतिनिधिसँग शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणको अवस्था र आगामी रणनीतिबारे ब्रिफिङ लिएका थिए । तर, संक्रमणविरुद्ध आगामी कदम कस्तो चाल्ने भन्नेमा ठोस निर्णय भएन । दैनिकजसो झन्डै ३ हजार नयाँ संक्रमित थपिन थालेका छन् । मृत्यु दर पनि निकै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भयो । २ हजार ६ सय १९ संक्रमित थपिए । हालसम्म कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् । संक्रमित र निको हुने दरमा पनि ठूलो अन्तर छ । करिब ३ हजार संक्रमित थपिँदा निको हुने संख्या ३ सय ६८ मात्रै छ ।

सीसीएमसीका सदस्यहरूबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले स्थिति निकै भयावह हुँदै गएको र त्यसलाई रोक्ने प्रतिकार्य योजना आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न निर्देशन दिएको एक मन्त्रीले बताए । ‘दोस्रो लहरको संक्रमण निकै भयावह रूपमा फैलिएको, संक्रमित र मृत्यु हुनेमा युवा वर्ग बढी रहेको र संक्रमित अनुपात पनि युवा नै बढी रहेकोमा प्रधानमन्त्रीले गम्भीर चिन्ता व्यक्त गर्नुभयो,’ ती मन्त्रीले भने, ‘यो जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा सम्बोधन हुने गरी आगामी मन्त्रिपरिषद् बैठकमा कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको छ ।’ अब बस्ने सीसीएमसी बैठकले भारतीयलाई स्थल नाकाबाट प्रवेशमा कडाइ गर्ने र नेपालीको हकमा होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी कदम चाल्नेबारे सिफारिस हुने उनले बताए ।

मन्त्रिपरिषद्को पछिल्लो आदेशको सही पालना नभएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका छन् । आदेश पालनामा सम्बद्ध पक्षबाट नै अटेर गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ब्रिफिङका क्रममा अवगत गराएका थिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले मन्त्रिपरिषद्बाट जारी गरिएका आदेश राम्रोसँग लागू नभएको र अब पनि अटेर गरिए कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्रीबाट स्पष्ट निर्देशन भएको बताए ।

थन्कियो सुरक्षा निकायको सुझाव

वैशाख ५ को मन्त्रिपरिषद् बैठकले संक्रमण रोकथाम र नियन्त्रण गर्न वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द, २५ जनाभन्दा बढी भेला हुन रोकलगायतका ३० बुँदे आदेश जारी गरे पनि सीमाबाट हुने आवागमन नियन्त्रण फितलो छ । पछिल्लो एक सातामा भारतबाट नेपाल आउनेको संख्या औपचारिक नाकाबाट ७० हजारभन्दा बढी छ । त्यसमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट करिब ३२ हजार मानिस नेपाल भित्रिएका छन् । तर, भित्रिएकाको सामान्य ज्वरो नाप्ने र अभिलेख राख्नेबाहेक अरू हुन सकेको छैन ।

चारवटै सुरक्षा निकायले मानवीय संवेदनासँग जोडिएका कामबाहेकमा भारतीय नागरिकलाई निषेध गर्ने र नेपालीको हकमा सीमानाका नजिकै पर्याप्त होल्डिङ सेन्टर बनाएर त्यही पीसीआर/एन्टिजेन परीक्षणको व्यवस्था र संक्रमितलाई आइसोलेसनमा पठाउनुपर्ने सुझाव सरकारलाई दिए पनि कार्यान्वयन हुन सकेको छैन । नेपाली सेनाले महामारी रोकथाम र नियन्त्रण गर्न तत्काल भारतीय नागरिकलाई सीमाबाट प्रवेश निषेध, लामो दूरीका सवारी सञ्चालनमा रोक र जिल्लाको वस्तुस्थितिअनुसार निषेधाज्ञा र एरिया सिल गर्नुपर्ने सुझाव दिएको छ । यस्तै भारतबाट भित्रिने नेपालीको हकमा सीमामै होल्डिङ सेन्टरमा राखेर पीसीआर/एन्टिजेन परीक्षण गरी शंकास्पद र संक्रमितलाई अस्पताल, आइसोलेसन अनि अरूलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर पठाउनुपर्ने सुझाव कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत दिए पनि त्यसअनुसार सरकारले प्रतिकार्य योजना ल्याएको छैन ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले महामारीको दोस्रो लहर थप फैलिन नदिन सीमा व्यवस्थापनदेखि देशभित्रका जोखिममा रहेका स्थानमा अपनाउने प्रतिकार्य योजना र सावधानीबारे सम्बन्धित निकायलाई आवश्यक सुझाव दिइएको बताए । ‘सीमाबाट हुने आवागमनदेखि देशभित्रै जोखिमको अवस्था हेरेर सुझाव दिइसकेका छौं,’ उनले भने, ‘तर, सरकारका आदेश र निर्देशन त्यसअनुसार देखिएको छैन ।’ सेनाले सीसीएमसीमा राखेका सुझावबारे शनिबार बालुवाटारमा पनि छलफल भएको थियो ।

रेडजोन’ मा पर्ने खतरा

सरकारले महामारीको हटस्पटबाट आएका भारतीयलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिनै तेस्रो मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न अनुमति दिएपछि जोखिम झन् बढेको छ । महामारी तीव्र गतिमा फैलिएपछि भारतलाई अमेरिका, बेलायत, साउदी अरब, न्युजिल्यान्ड, यूएई, जापान, हङकङ, फ्रान्स, अस्ट्रेलिया, सिंगापुर, इन्डोनेसिया, ओमान, क्यानडालगायत मुलुकले ‘रेडजोन’ मा राखेपछि भारतीय नागरिक नेपाल हुँदै तेस्रो मुलुक जान थालेका छन् । अहिलेसम्म नेपालबाट यी मुलुकका लागि हुने आवागमन सहज छ । भारतबाट नेपाल हुँदै गएका मानिसमा संक्रमण देखिएमा ती मुलुकले पनि नेपाललाई रेडजोनमा राख्न सक्ने खतरा छ । त्यसप्रति सरकारले जोखिम मोलेर भारतीयलाई धमाधम तेस्रो मुलुक जान त्रिभुवन विमानस्थल प्रयोग गर्न दिएको छ । त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय स्थल सीमानाकाबाट पनि भारतीय लुकीछिपी र औपचारिक नाकाबाटै निर्बाध भित्रिरहेका छन् ।

भारतको ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (कानपुर) ले गरेको एउटा प्रक्षेपणमा वैशाख अन्तिम साता भारतमा महामारीको असर अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने उल्लेख छ । त्यसको असर नेपालमा पनि पर्न सक्छ । केही नाकाबाट नेपालीलाई पारिपट्टि जान कडाइ गरिए पनि त्यो अभ्यास अरू नाकामा लागू भएको छैन । बरु पारिबाट नेपाल आउनेको संख्या दैनिक बढ्दो छ । प्रदेश १, २, लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार औपचारिक नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको संख्या दैनिक १० हजारको हाराहारीमा छ । यो संख्याभन्दा लुकीछिपी भित्रिने दसौं गुणा बढी हुने अनुमान छ ।

चोरबाटोबाट भित्रिनेको अभिलेख र तापक्रम मापन हुँदैन । नेपाल–भारत करिब १ हजार ८ सय ८० किमिको खुला सिमाना छ । त्यसमध्ये अहिले ३५ नाकाबाट मात्रै औपचारिक आवागमन अनुमति दिइए पनि अन्य नाकामा उपस्थिति कमजोर हुँदा लुकीछिपी आउनेबाट संक्रमण सर्ने जोखिम थप छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले सरकारबाट जारी आदेशअनुसार तोकिएका ३५ नाकासहित ४० स्थानमा हेल्थ डेस्क राखेर आवागमन नियमन गरिँदै आएको बताए । तर, गत वर्षको तुलनामा आवागमन व्यवस्थापन र नियमनमा सशस्त्र र प्रहरीको उपस्थिति कम छ ।

प्रकाशित : वैशाख १२, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?