भारतले अनुदानमा उपलब्ध गरायो १० लाख डोज कोरोना खोप - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले अनुदानमा उपलब्ध गरायो १० लाख डोज कोरोना खोप 

बिहीबार काठमाडौं आइपुग्‍ने
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् ।

काठमाडौंमा बुधबार भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठी (दायाँ) र भारतीय राजदूत विनयमोहन क्वात्रा । तस्बिर : अंगद ढकाल/कान्तिपुर

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।

मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको 'एजेडडी१२२२' नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । ‘हामीले अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छौं,’ बुधबार कान्तिपुरसँगको कुराकानीमा उनले भने ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

प्रकाशित : माघ ७, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा  विघटनविरुद्धका मुद्दामा वकालतनामा थप्‍न नपाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिसभा  विघटनविरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासले वकालतनामा नथप्न भनेको हो । 


स‌ंवैधानिक इजलासका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वकालतनामा नथप्न भनेका हुन् । अहिलेसम्म करिब २ सय वकालतनामा परेको र फेरि पनि वकालतनामा थपिने क्रम जारी रहेपछि प्रधानन्यायाधीशले वकालतनामा नथप्न निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा मुद्दा परेका छन् । मुद्दाको टुंगो लाग्न लामो समय लाग्ने भन्दै वकालतनामा नथप्न भनिएको हो । यसअघि सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूलाई समय पनि निर्धारण गरिएको छ । प्रत्येक कानुन व्यवसायीलाई बढीमा ३० मिनेट निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

नेकपाका नेताको जुधाइमा संसद् मिचाइमा पर्‍यो : वरिष्ठ अधिवक्ता ज्ञवाली

प्रतिनिधिसभा विघटन मुद्दा : कानुन व्यवसायीका लागि प्रधानन्यायाधीशले तोके समय

प्रकाशित : माघ ७, २०७७ १४:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×