नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति 

माघ २, २०७७

बुनु थारु

काठमाडौँ — औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी गराए । यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो । 

बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो । विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनसाय राख्ने उत्पादक वा आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपत्कालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको गरिएको थियो । 

कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ । 


विभागका सूचना अधिकारी केसीका अनुसार हालसम्म ३ वटा आयातकर्ताहरुले आवदेन दिएका थिए । केसीले भने,‘निवेदन दिएकामध्ये २ जनाको आवश्यक कागजातहरु पुगेको छैन, उनीहरुलाई प्रक्रिया पुर्‍याउन भनिएको छ । हाललाई भने ‘कोभिसिल्ड’ खोप ल्याउनका लागि अनुमति दिएका छौं ।'

हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

विश्वका विभिन्न देशहरुमा तेस्रो चरणको अनुसन्धामा सफल रहेको दाबी गरिएका खोपहरुको आपत्कालिन प्रयोग सुरु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि माघको ३ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको छ ।

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully