हावाको बहावसँगै पहाड चढ्दै सलह

'नेपाल देखिनु असामान्य'
गोविन्द पोखरेल

काठमाडौँ — शनिबार बिहान तराईका जिल्लाहरुमा देखिएको सलह हावाको बहावसँगै उकालो लाग्‍न थालेको छ । शनिबार साँझसम्म यो जीव वाग्मती प्रदेश र प्रदेश ५का पहाडी जिल्लाहरुमा देखिएको हो ।

हावाको बहावसँगै पहाड चढ्दै सलह

शनिबार बुटवलमा देखिएको सलह त्यहाँबाट सर्दै पाल्पा पुगेको हो । यस्तै सिन्धुली,काभ्रेमा पनि देखिएको छ । यी जीव अहिले तराई क्षेत्रबाट उडान भर्दै पहाडी क्षेत्र पुगेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित टास्क फोर्सको शनिबार बसेको बैठकले नेपालमा देखिएको सलह मरुभूमि सलह भएको निर्क्योल गरेको छ । टास्क फोर्सले प्रदेश सरकार र स्थानीय तहहरुलाई सक्रिय भएर लाग्‍नुपर्ने निर्णय गर्दै मन्त्रालयलाई आफ्नो राय दिएको छ । प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले अहिले विज्ञ टोलीले किरा कतातिर जान्छ र यसको संख्या कति छ भन्‍ने याकिन जानकारी नभएकाले केही भन्‍न सकिने अवस्था नरहेको बताए ।

संयोजक हुमागाईंले कान्तिपुरसँग भने,' अहिले यो किरा कता जान्छ र बस्छ भन्न‍ सकिने अवस्था नै छैन । हावाको बहावअनुसार यो जाने हो । बिहान पर्सामा देखिएको किराको झुण्ड उडान भरेर सिन्धुली पुगेका छन् ।'

किट विज्ञहरुका अनुसार शनिबार सलहको उडान हेर्दा उनीहरु एक ठाउँमा नबस्‍ने भएकाले दुई घन्टाअघि देखिएका स्थानहरुमा नभेटिने गरेको पाइएको छ । विज्ञहरुले सलह बसेका स्थानहरुमा ठूलो नोक्सानी पनि नदेखिएको बताएका छन् ।

नेपालमा देखिनु असामान्य : पाकिस्तानी विज्ञ

शनिबार दिउँसो गठित टास्क फोर्सको भर्चुअल बैठकमा नेपालमा सलह देखिनुलाई पाकिस्तानी विज्ञले असामान्य अवस्था भनेको हुमागाईंले कान्तिपुरलाई बताए । कृषि विज्ञ तथा वैज्ञानिकहरुसहित सरोकारवालाहरुसँगको छलफलमा पाकिस्तानी विज्ञले नेपालमा सलह देखिनु असामान्य अवस्था भएको बताएको उनले बताए । ्

हावाले बगाएर सलह यतिकै संख्यामा छन् भन्‍ने अवस्था ठ्याक्कै भन्‍न नसकिएको उनले बताए । सलह सानोसानो झुन्डमा आएको र नेपालको वातवरण सलहका लागि उपयुक्त बासस्थान पनि नभएको विज्ञहरुले उक्त बैठकमा बताएका थिए । हावाको बहावका कारण नेपाल प्रवेश गरे पनि यी किराहरु पुनः त्यसतर्फ फर्कन नसकेको विज्ञहरुले बताएका छन् ।

कीट वैज्ञानिकहरु नेपालमा सलह प्रवेश गर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए पनि 'मौसमी परिस्थिति'ले सलहलाई नेपालतर्फ उडाएर ल्याएका बताएका छन् । उनीहरुले सलहले यति नै क्षति गर्छ भनेर भन्‍न सक्‍ने अवस्था नरहेको बताएका छन् ।

'विषादी छर्कन सक्‍ने अवस्था छैन,थाल ठटाऔं'

प्राविधिक कार्यदलका संयोजक हुमागाईंले विषादी छर्केर सलह मार्न सक्‍ने सम्भावना नरहेको र राति सलहको झुन्ड देखे थाल ठट्टाएर भगाउन सुझाव दिएका छन् । उनले भने,'यिनीहरु अहिले फैलिरहेका छन् । राति घरवर आएर बसेको देखे थाल ठटाएर भगाउन सकिने कुरा हामीलाई पाकिस्तानी विज्ञले सुझाव दिएका छन् । अहिले त्यही गर्न मात्रै हामी भन्न सक्छौं । '

घर वरिपरि सलह देखिए विज्ञहरुले स्टिलको भाँडा बजाएर भगाउन विकल्प दिएका छन् । त्यस्तै धुँवाको सहयोगमा पनि सलहलाई भगाउन सकिने विज्ञहरुको सुझाव छ ।

सलह एक ठाउँबाट अर्को ठाउँमा गइरहेकाले अहिले विषादी हालेर मार्न सम्भव नभएको पनि हुमागाईंले बताएका छन् । उनले धेरै ठूलो समूह र एकै ठाउँमा भेटिएको अवस्थामा मात्रै विषादी हालेर मार्न सकिने बताए । हाल प्राविधिक टोलीले फिल्डबाट संकलन भएका घटनाहरुको आधारमा यसको अवस्था र बसाइबारे जानकारी लिने काम गरिरहेको छ ।

दिउँसो हावाको बहावसँगै उड्ने भएकाले यसको नियन्त्रणका लागि 'कन्ट्रोल मेकानिजम फ्याक्ट सिट' बनाएर किरालाई भगाउने किट विज्ञहरुले बताएका छन् ।

अझै ३ दिनसम्म पश्चिमी तथा दक्षिण पश्चिमी वायु नेपालमा बहने

मौसम पूर्वानुमान शाखाले उत्तर प्रदेशको दक्षिणी भू-भागमा न्यून चापीय प्रणाली बनेका कारणले नेपाल पश्चिमी तथा दक्षिण पश्चिमी वायु बहिरहेको जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले कान्तिपुरसँग भनिन् ,' ३० जुनको दिउँसोसम्म अझै साउदर्ली वेस्टर्ली देखिन्छ । अबको ३ दिनसम्म नेपालमा साउदर्ली-वेस्टर्ली देखिन्छ ।' यस्तै उनले पछिल्लो दुई दिनयता हावाको बहावमा परिवर्तन भएको पनि जानकारी दिइन् ।

काभ्रेको खानी खोलामा भेटिएको सलह । तस्बिरः नगेन्द्र अधिकारी/कान्तिपुर

यस्तै, महाशाखाका मौसमविद् राजु प्राधानङ्ग नेपालमा केही दिनेदेखि पश्चिमी तथा दक्षिण पश्चिमी वायु बहिरहेको देखिए पनि पूर्वतिर पूर्वी वायुको प्रभाव देखिएको बताए । उनले भने,'अहिलेको समय अनुसार हावाको बहावलाई हेर्दा पश्चिमी तथा दक्षिण वायुको प्रभाव नेपालमा भोलिसम्म देखिन्छ । पूर्वबाट पूर्वी वायुको प्रभाव देखिन्छ । '

मनसुन सुरुवात हुनुअघि पूर्वबाट पश्चिम अवस्थामामा नेपालमा हावा बहे पनि मनसुन सरु भएपछि त्यसको स्वरुपमा भने परिवर्तन आउने मौसमविद् प्राधानाङ्गले बताए ।

महाशाखाले दक्षिणबाट आउने हावा उत्तरतिर गइरहे पनि नेपालमा भने पूर्वबाटै हावा बहिरहेको जनाएको छ ।

यस्तै, भारतको बिहार राज्यहरुमा पनि सलह देखिएको र हावाको बहाव दक्षिण पश्चिमततिर हुँदा बहावसँगै सलह नेपाल प्रवेश गर्न सक्‍ने सम्भावना अझै रहेको विज्ञहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्ः

दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहको प्रवेश

प्रकाशित : असार १३, २०७७ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?