कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहको प्रवेश

'मरुभूमिका जस्ता होइनन्, पानी परिरहेकाले धेरै असर हुँदैन'
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।

दक्षिणबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहको प्रवेश

शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा सलह देखिएका छन् । नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको थियो । त्यसपछि सर्लाही, बारामा देखिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिक सुनिल अर्यालले दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको बताए । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको सलह किराको व्यवस्थापनका लागि गठित टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले प्रदेश २का जिल्लाहरुमा सलह देखिएको बताउँदै अहिले पहिचान गर्ने काम भइरहेको बताए ।

प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ । हुमागाईंका अनुसार प्राविधिक टोलीहरुले पठाएको तस्बिरका आधारमा हेर्दा नेपालमा देखिएका सलह वयस्क होइनन् । उनले भने, 'हाम्रो प्रारम्भिक अनुसन्धानका अनुसार अहिले भेटिएका लोकस्टहरु मरुभूमिमा पाइने पहेंलो होइनन् । अहिले अपरिपक्व वयस्क गुलाबी रंगका लोकस्ट भेटिएका हुन् ।'

बारामा देखिएको सलह किरा तस्बिर : रविन्द्रराज भण्डारीको फेसबुकबाट

गुलाबी रंगका यी सलह मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा नभएको बताउँदै नआत्तिन आग्रह गरेका छन् । उनले भने, 'मरुभूमिमा पाइने पहेंलो लोकस्ट भेटियो भने पनि नेपालमा धेरै लामो समयसम्म बस्दैन । फूल पार्न नेपालमा मरुभूमिको जस्तो जमिन हुँदैन । आज बिहान पनि पानी परेको छ । त्यो भएको हुनाले ब्रिडिङ हुने सम्भावना छैन ।'

कीट विज्ञान महाशाखाका कीट वैज्ञानिक एवं प्रवक्ता सुदीप उपाध्यायले अहिले विज्ञ टोलीले अध्ययन गरिरहेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा झुन्डबाट छुट्टिएर आएका सलह भएको उनले बताए । उनले भेटिएका सलह टुक्रिएर आएको र नआत्तिन आग्रह गरे ।

नेपालमा कतिको असर गर्ला ?

सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्‍ने विषयमा पनि चर्चा हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले अहिले मनसुनको समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले अहिले नेपालमा धान रोप्‍ने समय भएको र अन्नबालीहरु कम भएको उल्लेख गर्दै धेरै क्षति हुन नसक्ने बताए । उनले भने, 'अहिले धान रोप्‍ने समय छ । धेरैजसो खेतहरु खाली छन् । पानी पनि परिरहेको अवस्था छ । '

हुमागाईंले धानको बीउहरुमा सलह बसिदियो भने सखाप पार्ने सम्भावना रहेको र तरकारी बाली नष्ट गर्ने सम्भावना भने रहेको बताए । यस्तै कीट विज्ञान महाशाखाका वैज्ञानिक सुदीप उपाध्यायले पनि कृषकहरुलाई नआत्तिन आग्रह गर्दै नजिकैको कृषि कार्यालयमा गएर जानकारी गराउन भनेका छन् । उनले प्रारम्भिक अध्ययनका क्रममा मरुभूमिमा पाइने धेरै खन्चुवा पहेंलो सलह नदेखिएको, मनसुन रहेको र प्रजनन् गर्ने उपयुक्त वातावरण नेपालमा नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

टास्क फोर्सको बैठक

नेपालमा सलह भित्रिएसँगै कृषि मन्त्रालयद्वारा गठित टास्क फोर्सको बैठक अपरान्ह १ बजेबाट सुरु भएको छ । बैठकमा सलहका प्राप्त फोटो तथा विवरणको अध्ययन र अनुसन्धान गरेर कुन प्रजातिको सलह हो भन्‍ने निष्कर्ष निकाल्ने हुमागाईंले जानकारी दिए । यस्तै बैठकले कार्ययोजना तथा रोकथामका विधिबारे छलफल तथा निर्णय गर्ने उनले बताए ।

के मनसुनले रोक्ला सलहको प्रकोप ?

नेपालमा मनसुनी प्रभाव भएको र चिसो भएकाले सलहले धेरै क्षति नगर्ने अनुमान कृषि वैज्ञानिकहरुको छ । उपाध्यायले भने, 'नेपालमा मनसुन सुरु भएकाले अहिले यसको प्रकोप बढ्न सक्‍ने सम्भावना देखिँदैन । यदि कुनै वातावरणीय प्रभावका कारण यिनीहरुले यहाँ अनुकल भए भने मात्रै फैलन सक्छन् । '

प्रकाशित : असार १३, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?