कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नार्कका वैज्ञानिक भन्छन्,‘नेपालमा सलह आउने सम्भावना अत्यन्त न्यून छ’

'नआत्तिऔं तर सेचत होऔं'
गोविन्द पोखरेल

काठमाडौँ — अफ्रिका र भारतको राजस्थानमा जसरी लाखौंको झुन्डमा नेपालमा सलह किरा आउने सम्भावना अत्यन्तै न्यून रहेका नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।

नार्कका वैज्ञानिक भन्छन्,‘नेपालमा सलह आउने सम्भावना अत्यन्त न्यून छ’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरुले सलह किरा भारतमा देखिएको जसरी नै लाखाैंको झुन्डमा आउने सम्भावना अत्यन्तै कम भएको बताएका हुन् । नार्कले सलहबारे नआत्तिन पनि आग्रह गरेको छ ।

नार्कका किट वैज्ञानिक सुदिपकुमार उपाध्यायले भने, ‘अहिले मिडिया एवं सामाजिक सञ्जालहरुमा देखाइएको जसरी नै आउने सम्भावना अत्यन्तै कम छ । आत्तिहाल्नुपर्ने अवस्था पनि छैन तर हामी सबैलाई सचेत हुन भने आग्रह गर्छौ ।’

वैज्ञानिक उपाध्यायले सलह किराका लागि राजस्थान जस्तो धेरै सुख्खा क्षेत्र नेपालमा नभएकाले पनि यसका लागि वातावरण त्यति पायक नहुने कान्तिपुरलाई बताए । उनले भने, ‘सलहलाई चाहिने वातवारण भनेको धेरै सुख्खा क्षेत्र हो । अहिले नेपालमा त्यस्तो वातावरण र हावापानी छैन ।’

नार्कका वारिष्ठ वैज्ञानिक एवं प्रवक्ता मनोज ठाकुरले यो जीव सधैं आइरहने जीव नभएकाले यसलाई नियन्त्रण गर्न पनि सकिने बताए । उनले भने, ‘यदि नेपालमा आइहाले पनि ठूलो झुन्ड हुँदैन । राजस्थानबाट हाम्रोमा आउन पनि समय लाग्छ । भारततिरका बाली सबै सखाप गरेर मात्रै हाम्रोतिर आउने हो । त्यत्रो झुन्ड हामीकहाँ आइपुग्दैन । आइहाले पनि झुन्डमा छुट्टिएका, बाटो बिराएका वा हावाले उडाएर स–सानो समूह आउलान् ।’

सलहको अनुसन्धान गर्न कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा गठित टाक्स फोर्सका सदस्य एवं नार्कका वैज्ञानिक सुनिल अर्यालले पनि भारतमा अहिले फैलिरहेको सलह नेपालमा आउने सम्भावना न्यून रहेको बताए । उनले भने, ‘ठूलो समूहबाट टुक्रा भएर आउने सम्भावना हुनसक्छ तर सम्भावना न्यून छ । आउँदैन भनेर त बस्नुभएन, हामी नियन्त्रणका लागि तयारी भएर बस्नुपर्छ ।’

नार्कले सामाजिक सञ्जालमा भाइरल बनाइएका भिडियोमा जसरी नेपालमा सहल नफैलने उल्लेख गर्दै सबै कृषकहरुलाई अलर्टमा बस्न तर नआत्तिन आग्रह गर्दै सही सूचना मात्र फैलाउन आग्रह गरेको छ ।

यसकारण नेपालमा सलह फैलन सक्ने सम्भावना न्यून :

नार्कका वैज्ञानिकहरुले भारतमा जसरी नेपालमा सलह फैलन सक्ने न्यून सम्भावनामा तथ्यसमेत दिएका छन् । उनीहरुले सर्वप्रथम सलहलाई चाहिने मरुभूमि एवं धेरै सुख्खा वातवारण नेपालमा नभएकाले पनि यो नेपालमा धेरै फैलन नसक्ने बताएका छन् ।

हावाको वेगलाई पनि नार्कका वैज्ञानिकहरुले तथ्यको रुपमा राखेका छन् । वैज्ञानिक सुदिपकुमार उपाध्यायले यो किरा फैलन हावाको बहाब पनि एउटा कारण भएको बताए । ‘नेपालमा पूर्वदेखि पश्चिम र पश्चिमदेखि पूर्वतर्फ हावा बहन्छ,’ उपाध्यायले भने, ‘राजस्थानबाट नेपालमा आउनका लागि दक्षिणदेखि उत्तरतर्फ हावाको बहाव हुनुपर्छ । यो सम्भावना कम छ ।’

वैज्ञानिक ठाकुरले भने, ‘सलह चिसो क्षेत्रमा बाँच्न सक्दैन, अब नेपालमा मनसुन सुरु हुन लागेको छ । पानी पर्नेबित्तिकै फैलावटको सम्भावना कम हुन्छ ।’ नार्कले अहिले मौसम पूर्वानुमान महाशाखासँग मौसमी गतिविधि र हावाको बहावबारे तथ्यांक पनि लिइरहेको छ ।

नार्कका वैज्ञानिकहरुले अर्को तथ्य सलहको प्रजनन्लाई दिएका छन् । मरुभूमि र सुख्खा क्षेत्र सलहले फुल पार्ने भएकाले नेपालमा त्यस्तो वातावरण कम भएको नार्कका वैज्ञानिक सुनिल अर्यालले कान्तिपुरलाई बताए ।

उनले भने, ‘फट्याङ्ग्रा वर्गमा पर्ने यो किरा व्यस्क अवस्थामा झुन्डमा बस्छ । गुलाबी रंगको सलह धेरै उड्ने र खाने गरे पनि फुल भने पार्दैन । हलुका पहेंलो सलहले मरुभूमिजस्तो वातावरणमा फुल पार्छन् । नेपालमा त्यस्तो वातावरण नै छैन ।’ नेपालका ठूला नदी किनारका सुख्खा बगरहरुमा पनि यसले फुल पार्ने सम्भावना नरहेको नार्कका वैज्ञानिकहरुको भनाइ छ । उनीहरुले नदी किनारका बगरहरु चिसो हुने भएकाले चिसोमा सलहको फुल बिग्रने पनि बताए ।

नार्कले कृषकहरुलाई बालीमा कुनै किसिमका नयाँ जीव देखिए सम्बन्धित क्षेत्रको कृषि कार्यालयलाई जानकारी गराउनसमेत आग्रह गरेको छ । कृषकहरुलाई त्रासमा नरहन तर सर्तक हुन आग्रह पनि गरेको छ ।

सलहसम्बन्धी अनुसन्धान गर्दै आएका विदेशी वैज्ञानिकहरुले पनि नेपालमा यो फैलने सम्भावना कम भएको बताएका छन् । शुक्रबार सलह सम्बन्धी नार्कका वैज्ञानिक सम्मिलत एक अन्तर्राष्ट्रिय इ–भेलामा सहभागी वैज्ञानिकहरुले नेपालमा भारतमा जसरी सलह नफैलने आफूहरुलाई आश्वस्त पारेको नार्कका किट विज्ञ सुदिपकुमार उपाध्यायले बताए ।

उक्त अनलाइन भेलामा विभिन्न वैज्ञानिकहरुले सलह सम्बन्धी तथ्य र फैलावटको ट्रेन्डबारे नेपालका वैज्ञानिक एवं प्रतिनिधिहरुलाई जानकारी गराएको उपाध्यायले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?