कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलहले कर्णालीमा ४० प्रतिशत बाली क्षति हुने अनुमान

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशका ९ जिल्लामा प्रवेश गरेको सलहले झण्डै ४० प्रतिशत मकै तथा धानबाली नोक्सान गर्ने अनुमान गरिएको छ ।

सलहले कर्णालीमा ४० प्रतिशत बाली क्षति हुने अनुमान

कृषि विकास निर्देशनालयका अनुसार भारतको राजस्थानबाट ३ वटा ठूलो झुण्डमा कर्णाली प्रवेश गरेको सलहले ४० प्रतिशत बालीमा क्षति पुर्‍याउने अनुमान गरिएको हो ।

९ जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा प्रवेश गरेको सलहले लेकवेशी नगरपालिका–४, ५ र ६ नम्बर वडाका केही भाग, भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १३ मा क्षति पुर्‍याएको निर्देशनालयका निर्देशक चित्र रोकायले बताए । ‘अहिलेसम्म सुर्खेतमा बढी क्षति पुर्‍याएको अनुमान छ,’ उनले भने, ‘तत्काल नै कति क्षति भयो भन्ने एकीन नभए पनि सबै स्थानीय तहबाट तथ्यांक संकलन सुरु गरेका छौं ।’ उनले प्रारम्भिक अवस्थाअनुसार कर्णालीमा सलहले ३० देखि ४० प्रतिशत बालीमा नोक्सान पुर्‍याउने अनुमान गरिएको बताए ।

सलह लामो समय एकै ठाउँमा नबस्ने भएकाले पनि कहाँ कति क्षति गर्‍यो भन्ने एकीन विवरण पत्ता लाग्न नसकेको निर्देशक रोकायले बताए । उनले थाल, ड्रम बजाएर र धुवाँ लगाएर सलह भगाउन कृषकहरुलाई आग्रह गरिरहेको जनाए । ‘सलह ठूलो संख्यामा कर्णाली प्रवेश गरेको छ,’ उनले भने, ‘सलहको केही झुण्ड पहिले बसेको ठाउँबाट अहिले अन्त सरिसकेको छ, किसानले विभिन्‍न उपाय लगाएर सलह धपाउन खोजे पनि नसकेपछि खाए खाओस् भनेर छोडेको अवस्था छ, त्यसैले सलह भगाउन पनि उपयुक्त समय चाहिन्छ ।’

सुर्खेतको लेकवेशी नगरपालिकाले गत आइतबार कृषकबाट सलह किन्ने निर्णय गरेको छ । सलह छोप्नै मुस्किल भएकाले अहिलेसम्म कसैले पनि संकलन नगरेको नगर प्रमुख गगनसिं सुनारले बताए । उनका अनुसार अहिले लेकवेशीबाट सलह अर्को स्थानमा गइसकेको छ । लेकवेशीको–४, ५ र ६ नम्बर वडामा सलहले केही मात्रामा मकै, धान र तरकारीमा क्षति पुर्‍याएको उनले जानकारी दिए ।

चिन्तामा किसान

जाजरकोटको शिवालय गाउँपालिका–६ का कृषक रमेश शाहीलाई यो वर्षभरि पुग्‍ने खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । लगाएको मकै र कोदो सलहले नष्ट गरिदिएपछि उनीसँगै कर्णालीका धेरै किसानलाई यही चिन्ताले सताएको हो । ‘कोरोनाका कारण अन्य आम्दानी पनि छैन,’ उनले भने, ‘भारत गएका पनि फर्किन पाएका छैनन्, एक त लगाएको अन्नले कहिल्यै पनि वर्षभरि पुग्दैन त्यसैमाथि सलहले नोक्सान पुर्‍यायो ।’

दैलेखको भगवतीमाई गाउँपालिकाकी हरिमाया परियारले घरखर्च टार्ने बाटो नै खेतको अन्नबाली भएको भन्दै सलहले नष्ट गर्न थालेको गुनासो गरिन् । ‘किनेर खाने बाटो पनि छैन,’ उनले भनिन्, ‘सबै तरकारी र मकै सलहले तितरबितर पार्‍यो, न फेरि रोप्न मिल्छ न उब्जाउन नै ।’ सामान्य अवस्थामा पनि विगतदेखि नै खाद्यान्न अभाव भइरहने कर्णालीमा यस वर्ष कोरोना, सलह, बाढी पहिरोलगायतको क्षतिले खाद्यान्न अभाव हुने सम्भावना बढेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?