बुटवलको आकाशमा सलहको हुल- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलको आकाशमा सलहको हुल

अमृता अनमोल

बुटवल — बुटवलको आकाशमा अहिले सलह किरा उडिरहेको देख्न थालिएको छ । शनिबार मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे तीन बजेपछि हुलका हुल आकाशमा उडेको देखिएको हो । 

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि भारतीय सीमा क्षेत्र हुँदै हुलका हुल सलह किराले आकाश ढाकेको बताए ।

उनका अनुसार केही सलह दक्षिण हुँदै उत्तर दिशामा गएका छन् भने केही आकाशमै मडारिएका छन् ।

खेत रोप्ने समय भएकाले तराईको धेरै खेत खाली छ । खेतबारी खाली भएकाले कीराहरू आकाशमा मडारिएको हुनसक्ने विज्ञहरूको अनुमान छ ।

भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही जिल्लामा पनि सलह कीरा पसेका थिए । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएका थिए । दिउँसो बुटवल क्षेत्रमा सलह देखिएको हो ।

'हुलका हुल सलह बुटवल र रुपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन्,’ देवकोटाले भने, ‘यी रोकिन्छन् कि बाटो लाग्छन्, हामी त्यसमा केन्द्रीत छौं ।’

प्रकाशित : असार १३, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा पनि देखियो सलह

अमृता अनमोल

बुटवल — शनिबार प्रदेश २ मा देखिएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो । 

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए । ‘अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, ‘कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।’

उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए । ‘कीरा देखिएको खबर प्राप्त हुनासाथ कीट विज्ञसहित कृषि विज्ञहरु छलफल र अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘क्षतिबाट बचाउने उपाय अपनाउने छौं ।’

दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो ।


प्रकाशित : असार १३, २०७७ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×