कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

भीड तितरबितर गर्न ८ राउन्ड हवाई फायर
दीपक परियार

पोखरा — आफ्नो वडामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् ।

कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताए । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । तीनवटा मोटरसाइकलमा क्षति भएको छ । घाइतेको अवस्था सामान्य छ ।

नेपाल प्रहरी र सशस्त्रको टोलीले अवरोध हटाएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । घाटमा पुग्ने बाटो छेक्ने स्थानीयको टोलीले नै चेकपोस्टमा आक्रमण गरेको एसपी श्रेष्ठले बताए । यसअघि पनि स्थानीयले शववाहनमा शव बोकेर गएका सेना र प्रहरीको टोलीलाई अवरोध पुर्‍याएका थिए ।

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको थियो ।

यसअघि पनि दुई साताअघि कोरोना संक्रमणबाटै निधन भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–११ फूलबारी र पोखरा-२० भलामका जनप्रतिनिधि र स्थानीयले अवरोध पुर्‍याएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार ११, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?