स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु- समाचार - कान्तिपुर समाचार

स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

प्रतीक्षा काफ्ले

पोखरा — कोरोना भाइरसको संक्रमणबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत स्याङ्जाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् । 

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती व्यक्ति असार ८ गते अस्पतालमा भर्ना भएका थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको अस्पतालले जनाएको छ । उनीसहित गण्डकी प्रदेशमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।

यसअघि पनि स्याङ्जाकै एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

प्रकाशित : असार ११, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

लाजियोको लगातार २१ खेलको अपराजित यात्रा टुंगियो

एजेन्सी

मिलान — उपाधि होडमा रहेको लाजियोले इटालीको सिरी ए मा बुधबार नौ महिनायता पहिलो हार बेहोरेको छ । उसलाई एटलान्टाले ३–२ ले हरायो । यो हारपछि लाजियो शीर्ष स्थानमा रहेको युभेन्ट्ससँग चार अंकले पछाडि रह्यो ।

फेब्रुअरी २९ पछि पहिलो खेल खेलिरहेको लाजियोले दुई गोलको अग्रता गुमाउँदा चौथो स्थानमा रहेको एटलान्टाले उत्कृष्ट पुनरागमन रच्यो । लाजियोले मार्टिन डे रनको आत्मघाती गोलले अग्रत लिएयता सर्गेज मिनिकोभिचले दोस्रो गोल थपे ।

एटलान्टाका लागि रोबिन जोसेन्स, रुस्लान मिलिनोभस्कयी र जोसे लुइसले गोल गरे । सन् २००० मा अन्तिम पटक लिग जितेको लाजियो सेप्टेम्बर २५ यता लगातार २१ खेलको अपराजित यात्रामा थियो । बुधबारकै अर्को खेलमा तेस्रो स्थानमा रहेको इन्टर मिलानले ससुलोसँग ३–३ को बराबरी खेल्यो ।

प्रकाशित : असार ११, २०७७ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×