ब्रासिलिया — कोरोना भाइरस (कोभिड–१९) का कारण ल्याटिन अमेरिकी मुलुकहरूमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।
दक्षिण अमेरिकामा भाइरसबाट सबैभन्दा बढी ब्राजिल, मेक्सिको, पेरु र चिली प्रभावित भएका छन् । यस क्षेत्रमा कुल संक्रमितको संख्या करिब २१ लाख पुगिसकेको छ ।
ब्राजिलमा हालसम्म ५३ हजार ८ सय जनाभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । ब्राजिलमा करिब १२ लाख जना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या अमेरिकापछि दोस्रो स्थानमा छ ।
त्यसैगरी, पेरुमा भाइरसबाट संक्रमितको संख्या २ लाख ६४ हजार नाघेको छ । भाइरसको संक्रमण फैलिएसँगै पेरुमा जारी गरिएको लकडाउन एक सय दिन पुगेको छ ।
पेरुको छिमेकी देश कोलम्बियामा पनि लकडाउन जुलाई १५ सम्म बढाइएको छ । कोलम्बियामा २ हजार ५ सय २४ जनाको मृत्यु भइसकेको छ । कोलम्बियामा संक्रमितको संख्या करिब ७४ हजार पुगेको छ ।
विभिन्न देशहरूले परीक्षणको दायरा बढाउनुका साथै लकडाउन खुकुलो पारेका कारण संक्रमितको संख्या ह्वात्तै बढेको जनस्वास्थ्यविद्हरूको भनाइ छ । कतिपय देशले अर्थतन्त्र र दैनिक जनजीवन निकै प्रभावित भएको भन्दै लामो समयदेखिको लकडाउन खुकुलो पारेका हुन् ।
बिहीबार बिहानसम्म विश्वभर कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ९३ लाख ९४ हजार पुगिसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ४ लाख ८१ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बिहीबार बिहानसम्म संक्रमितको संख्या २३ लाख ७८ हजार नाघिसकेको छ । अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या करिब १ लाख २२ हजार छ ।
त्यस्तै रुसमा ६ लाख ६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय नाघेको छ । संक्रमित संख्याका आधारमा भारत चौथो तथा बेलायत पाँचौं स्थानमा छन् ।
भारतमा ४ लाख ५६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने बेलायतमा ३ लाख ७ हजारभन्दा बढी संक्रमित छन् । भारतमा १४ हजार ४ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । बेलायतमा भाइरसका कारण ज्यान गुमाउने ४३ हजारभन्दा बढी छन् ।
