गएको कात्तिकमा एमबीबीएस सकेर एक महिनाअघि मात्रै सुर्खेतको चिङ्गाड आएकी डा. अस्मिता भट्टराईले आइसोलेसनमा २० जना संक्रमितलाई निगरानी गरिरहेकी छन् ।
वीरेन्द्रनगर — घरपायक भन्दै नेपालगन्ज मेडिकल कलेजको जागिर छाडेर कर्णाली प्रदेश अस्पताल सुर्खेत आएकी डा. अस्मिता भट्टराई त्यहाँ धेरै समय बस्न पाइनन् । हाजिर भएको दुई महिनामै प्रदेश सरकारले वैशाख २९ गते सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो ।
कोरोना संकटका बेला चिङ्गाड क्षेत्रको स्वास्थ्य प्रमुखको जिम्मेवारी पाउनु २४ वर्षीया अस्मिताका लागि अवसर र चुनौती दुवै बनेको छ । ‘सुरुमा त यस्तो संकटका बेला यति ठूलो जिम्मेवारी कसरी सम्हाल्ने होला भन्ने चिन्ताले सताएको थियो,’ उनी भन्छिन्, ‘तर यही संकटले मलाई थप जिम्मेवार र पेसाप्रति परिपक्व बनाउँदै लगेको महसुस गरेकी छु ।’
उनी प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर हुँदा गाउँपालिकाको क्वारेन्टाइनमा जिल्ला बाहिरबाट आएका चार जना बसिरहेका थिए । तर, एक सातामै भारतबाट फर्किनेको लर्को लाग्न थाल्यो । जेठमा मात्र करिब एक हजार जना आए । ‘भारतबाट धेरै मान्छे आउनु भनेको कोरोना संक्रमणको जोखिम पनि बढ्नु हो, त्यसैले गाउँमा आएको पहिलो सातामै मैले आफूलाई जोखिममा परेको महसुस गरेकी थिएँं,’ उनले भनिन्, ‘तैपनि चुनौती सामना गरेर अघि बढ्नुको विकल्प थिएन, अहिले त कोरोना संक्रमितको उपचारमै दिन बितिरहेका छन् ।’
जेठ २८ गते उनी आरडीटी परीक्षणका लागि रानीबास गएकी थिइन् । सुर्खेतका जनस्वास्थ्य सेवा कार्यालय प्रमुख चेतननिधि वाग्लेले फोन गरेर चिङ्गाडका १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनीहरूको उपचार र व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोच्दै थिइन्, संक्रमितमध्ये दुई जना उनीसँगै रातदिन काम गर्ने सहकर्मी रहेको थाहा पाइन् । ‘त्यसपछि त मलाई पनि कोरोना संक्रमण भएको शंका लाग्न थाल्यो,’ उनले भनिन्, ‘तैपनि पहिलो प्राथमिकता संक्रमितको उपचार र व्यवस्थापन नै रह्यो, गाउँपालिकाका जनप्रतिनिधि र सुरक्षाकर्मीसँग समन्वय गरेर त्यही साँझ आइसोलेसनमा राख्ने काम भयो ।’
आफ्नो पीसीआर परीक्षणका लागि स्वाबको नमुना वीरेन्द्रनगरस्थित प्रयोगशालामा पठाइन् । रिपोर्ट नआउँदासम्म ओपीडीमा बिरामीको जाँच गरिनन् । संक्रमित सहकर्मीसँग घुलमिल हुनुका साथै उनीहरूका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरेकाले थप शंका बढाएको थियो । त्यसैले पनि उनी ‘सेल्फ क्वारेन्टाइन’ मा बसिन् । ‘दुई दिनमा रिपोर्टि नेगेटिभ आएपछि ढुक्क भएर कोरोनाको रोकथाम र उपचारमा जुटेकी छु,’ उनले भनिन्, ‘अहिले त जीवनमा जे–जस्ता चुनौती आउँछन्, सामना गरेर अघि बढ्नुपर्छ भन्ने पाठ सिकाइ भएको छ ।’
सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रमा डा. अस्मिता भट्टराई
अहिले चिङ्गाडमा डा. अस्मिताको निगरानीमा २० जना संक्रमित आइसोलेसनमा छन् । तीमध्ये १२ जना प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन् । उनले दुई जना संक्रमित स्वास्थ्यकर्मीलाई नै उक्त आइसोलेसनभित्र उपचारको व्यवस्थापन गर्ने जिम्मेवारी दिएकी छन् । ‘उहाँहरू आफैंले भित्रको रेखदेख ‘हामी गर्छौं’ भनेपछि सहज पनि भएको छ,’ उनले भनिन्, ‘संक्रमित भएर पनि यस्तो आँट गरेपछि अरूको मनोबल पनि बढेको छ ।’
अस्मिताले नेपालगन्ज मेडिकल कलेजबाट कात्तिकमा एमबीबीएस सकेकी हुन् । कोरोनाको त्रासदीबीच एक वर्ष नपुग्दै स्वास्थ्य केन्द्र प्रमुख भएर फिल्डमा जाँदा सुरुमा त के गर्ने, कसो गर्ने भन्ने अन्योल थियो । तर, करिब डेढ महिनामै उनले चिङ्गाडको विश्वास जितेकी छन् । ‘कोरोना संकटका बेला भूमिकाको हिसाबले स्वास्थ्यकर्मीहरू केन्द्रमा रहने भएकाले अलि पाको डाक्टर आइदिए हुन्थ्यो भन्ने लागेको थियो,’ चिङ्गाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले भने, ‘तर उत्कृष्ट क्षमता देखाएर उहाँले हामीलाई ढुक्क बनाउनुभएको छ, गाउँमै कोरोना संक्रमितको उपचार पनि भइरहेको छ ।’
२४ वर्षीया अस्मिताका बुवा खगेन्द्र भट्टराई र आमा किरण वीरेन्द्रनगरमा बस्छन् । उनीहरूको मन भने छोरीसँगै अवलचिङमा हुन्छ । जागिरको सुरुवातमै छोरीले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने अवसर पाउनुलाई बुवा सुखद पक्ष ठान्छन् । तर, एउटा अभिभावकको भूमिकाले उनलाई छोरीको चिन्ता पनि उत्तिकै लाग्ने गर्छ । ‘भर्खरै पढाइ सकेर आएकी छोरीले यति ठूलो जिम्मेवारी कसरी सम्हालिरहेकी छन् भनेर आफैं चकित पर्ने गर्छु,’ उनले भने, ‘तैपनि हामीसँग आफ्नो ख्याल गरेर राम्ररी काम गर्नु भन्नुको विकल्प छैन ।’
पछिल्लो समय स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण हुन थालेपछि स्वाभाविक रूपमा अस्मिताको परिवारलाई पनि चिन्तित तुल्याएको छ । तर, अस्मिता उच्च सावधानीका साथ अग्रपंक्तिमा कोरोना प्रतिकार्यमा खटिरहेकी छन् । आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिका साथै प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामी पनि उनीप्रति आशावादी छन् । ‘यही आशा र विश्वासले मलाई कोरोनासँग जुध्न प्रेरणा दिइरहेको छ,’ उनी भन्छिन्, ‘परिवारको चिन्तालाई मेरो आत्मविश्वासले जितेको छ ।’
