वडाध्यक्ष नै शव रोक्न कस्सिएपछि...

पोखरा महानगरले संक्रमितको शव गाड्ने ठाउँ खोज्यो, पोखरा–११ को सेती नदी किनार रिठ्ठा घाटमा । एक्स्काभेटरले खाल्डो खनेर ठिक्क पार्‍यो । तर वडाध्यक्षको नेतृत्वमा स्थानीयले रोक्दा घण्टौंसम्म शवको व्यवस्थापन हुन सकेन ।

जेष्ठ २७, २०७७

दीपक परियार

पोखरा — स्याङ्जाका कोरोना संक्रमित ६० वर्षीय पुरुषको आइतबार राति ११:२५ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा निधन भयो । मृतक पुरुष गुरुङ समुदायका भएकाले परम्पराअनुसार शव गाड्नुपर्ने भयो । तर, १८ घण्टासम्म शव उठ्न सकेन । न शववाहनको चालक भेटिए, त गाड्ने घाटको व्यवस्था भयो ।

शववाहन चालक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि बोक्न कोही तयार भएनन् । मदिरा सेवन नगर्ने चालकको खोजी भयो । १४ दिनसम्म मदिरा सेवन नगरी बस्न अप्ठेरो हुने भएकैले चालक तयार भएका थिएनन् । कास्की प्रहरीले बल्लतल्ल चालक खोज्यो । होम क्वारेन्टाइनमा बस्ने सर्तमा उनी शव बोक्न तयार भए ।

उता, पोखरा महानगरले शव गाड्ने ठाउँ खोज्यो, पोखरा–११ को सेती नदी किनार रिठ्ठा घाटमा । एक्स्काभेटरले खाल्डो खनेर ठिक्क पार्‍यो । शव लैजाने जिम्मा फूलबारीमा रहेको भगवती दल गणले पाएको थियो । सेनाको टोली दुईपल्टसम्म शव राखिएको ठाउँमा पुगेर फर्कियो । महानगरले रिठ्ठाघाटमा शव गाड्ने निर्णय गरे पनि पोखरा–११ फूलबारी र पोखरा–२० भलामका स्थानीयले मानेनन् । उक्त घाटमा शव ल्याउने जानकारी पाएका स्थानीयले फूलबारीको मणिपाल अस्पताल नजिकै बाटो छेकेर बसे । उनीहरू प्रदर्शनमा उत्रिए । पोखरा–११ का वडाध्यक्ष मोहन बास्तोलाले आन्दोलनको नेतृत्व गरे ।

त्यसअघि उनी महानगर कार्यालय पुगेर शव लैजान नदिने बताएका थिए । शव कहाँ व्यवस्थापन गर्ने भन्ने महानगर कार्यपालिका बैठक बसेर टुंग्याउनुपर्नेमा महानगर प्रमुख मानबहादुर जीसी एक्लैले निर्णय लिएको उनको आरोप थियो । अस्पताल नजिकैको रामघाटमा गाड्नुपर्ने उनको अडान थियो । महानगर प्रमुखले भने रामघाटमा बालुवा चाल्ने मजदुरहरू पनि रहेको र अन्यको शव पनि जलाइरहेकाले एकान्त स्थान रोज्नुपरेको जवाफ दिए ।

वडाध्यक्षकै नेतृत्वमा स्थानीयले बाटो छेकेपछि प्रहरीले बल प्रयोग गर्‍यो । स्थानीय प्रतिकारमा उत्रिए । प्रहरीको लाठीचार्जबाट वडाध्यक्षसहित केही स्थानीय सामान्य घाइते भए । केही प्रहरी पनि घाइते भए । प्रहरीले फूलबारीका ३ र भलामका ५ जनालाई नियन्त्रणमा लियो । स्थिति नियन्त्रणमा लिन ठूलै संख्यामा प्रहरी परिचालित थिए । स्थिति सामान्य भएपछि सेनाले साँझ ६ बजे बल्ल शव रिठ्ठाघाटमा लगेर व्यवस्थापन गर्‍यो ।

मृतकका श्रीमती र छोरी अन्तिम पटक शव हेर्न अस्पताल पुगे पनि उनीहरूले ३ घण्टा एम्बुलेन्सभित्रै बिताउनुपरेको थियो । मृतक पुरुषलाई आइतबार कोराना संक्रमण पुष्टि भएपछि श्रीमती र छोरीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाटै एम्बुलेन्समा ल्याएर उनीहरूलाई शव टाढाबाटै हेर्न दिइएको थियो । शव भएको आइसोलेसन वार्डमा थप तीन संक्रमित छन् । शव समयमै व्यवस्थापन नगरिँदा उनीहरूका आफन्तसमेत त्रसित बनेका थिए । यसअघि पोखरा–१५ को हरियोखर्कमा महानगरले ठाउँ खोजे पनि सहमति जुटेको थिएन ।

स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मधुमेह र उच्च रक्तचापले समेत गाँजेको थियो । उनी ६ महिनाअघि मात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए ।

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडका अनुसार सुनौली नाकामा अलपत्र परेको सूचना थाहा पाएपछि जेठ २१ को राति नै उनलाई उद्धार गरी घर ल्याइएको थियो । तर अवस्था नाजुक भएपछि उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानको प्रिआइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गर्दा आइतबार ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा आइतबार राति उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully