कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

क्वारेन्टाइनमा कोचाकोचले संक्रमणको जोखिम

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिममा दिनहुँ हजारौंको संख्यामा भारतबाट भित्रिन थालेपछि क्वारेन्टाइन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । विद्यालय र खाली भवनमा हुलेर राख्दा क्वारेन्टाइन संक्रमणको जोखिम केन्द्र बनेका हुन् । यस्तो अवस्थामा होम क्वारेन्टाइन नै सुरक्षित हुने स्वास्थ्य अधिकारी बताउँछन् ।

क्वारेन्टाइनमा कोचाकोचले संक्रमणको जोखिम

‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यवस्थापन गर्न नसकिए होम क्वारेन्टाइन सुरक्षित हुन सक्छ,’ सुदूरपश्चिमका प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘एकै कोठामा हुलेर राख्नुपर्ने क्वारेन्टाइन कोरोना संक्रमणका स्रोत बनिरहेका छन् ।’ उनले क्वारेन्टाइनबाटै समुदायमा कोरोना संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त गरे । डा. अवस्थीले होम क्वारेन्टाइनमा राख्ने र लक्षण देखिएपछि परीक्षण गरेर संक्रमण देखिएकालाई आइसोलेसनमा राखेर उपचार गर्ने तरिका अपनाउनुपर्ने अवस्था आएको बताए । ‘पछिल्लो समय भारतबाट भित्रिएकामा ४० प्रतिशत भन्दा बढीमा कोरोना संक्रमणको आशंका गरिएको छ,’ उनले भने, ‘यस्तो व्यवस्थापनले बाँकी ६० प्रतिशतलाई सर्ने देखिएको छ ।’

उनका अनुसार भारतबाट आएका संक्रमितलाई पनि सुदूरपश्चिमको स्वास्थ्य संरचनाले धान्न सकिने अवस्था छैन । ‘समुदायमा केही गरी फैलियो भने झन भयावह अवस्था बन्छ,’ उनले भने । स्वास्थ्य निर्देशनालयका अनुसार धनगढी उपमहानगरपालिका ५ मा एक जनामा बाहेक संक्रमित देखिएकाहरु सबै बाहिरबाट आएका हुन् । एक जना यूएईबाहेक अन्य भारत र नेपालकै अन्य जिल्लाबाट आएकाहरु गरी हालसम्म सुदूरपश्चिममा ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सुदूरपश्चिममा आइतबारसम्म भारतबाट आएका ४३ हजार ६ सय ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिमका ८८ वटै पालिकाका स्कुल, खाली भवन गरी १ हजार २ सय ७४ क्वारेन्टाइनमा ५० हजार ६ सय २४ जनाका लागि बेड राखिएको छ । डा. अवस्थीले हरेक दिन क्वारेन्टाइनमा बेड थप्दै जानुपरेको बताए । अब थप्न सकिने ठाउँसमेत नभएको उनले बताए ।

सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलालाई सरकारले भारतबाट आउने नाकाका रूपमा सरकारले खुला गरेको छ । गौरीफन्टाबाट दुई सातायता ४५ हजारभन्दा बढी मानिस भित्रिएका छन् । पछिल्लो साता दैनिक ५ हजारसम्म भित्रिरहेको कैलाली जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । सोमबार मात्रै ३ हजार २ सयभन्दा बढी भित्रिएका छन् । किट अभावमा यसरी भित्रिनेहरुको परीक्षण बढाउन नसकिएको डा. अवस्थीले बताए । अहिलेसम्म प्रदेशभर ६ हजार २ सय ९६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको छ । तीमध्ये ५ हजार ६ सय ८० को मात्रै रिपोर्ट आएको छ । २२ हजार ३ सय ६ जनाको आरडीटी गरिएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?