भारतबाट सातामै भित्रिए १ लाख ३ हजार

स्वदेश भित्रिनेलाई होल्डिङ सेन्टरमा राख्ने र सम्बद्ध स्थानीय तहमा पठाउने जिम्मा सेनालाई दिने सरकारले निर्णय गरेको तीन दिनपछि पनि काम सुरु भएको छैन ।
मातृका दाहाल

काठमाडौँ — लकडाउन घोषणापछि भारतबाट हालसम्म १ लाख ४१ हजार ६ सय ३० जना नेपाली स्वदेश भित्रिएका छन् । यिनमा पछिल्लो एक सातामा मात्रै १ लाख ३ हजार ८ सय १५ जना भित्रिएका छन् । एक सातायता भारतबाट घर आउनेको अनुपात दैनिक १२ देखि १५ हजारको हाराहारीमा छ ।

भारतबाट सातामै भित्रिए १ लाख ३ हजार

लकडाउन यताको ६९ दिनमा नेपाल प्रवेश गरेकाहरुमध्ये अधिकांशको कोरोना परीक्षण नै भएको छैन । सीमा नाका सिल गरेका कारण ‘चोरबाटो’ बाट भित्रिएकाको अभिलेख सुरक्षा निकायसँग पनि छैन ।

गृह मन्त्रालयका अनुसार प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका दक्षिण नाकाबाट उनीहरु भित्रिएका हुन् । नाकाबाट भित्रिएकाको संख्याभन्दा देशभर आरडीटी परीक्षण गरिएको संख्या कम छ । जसका कारण जोखिमयुक्त क्षेत्रबाट आएका मानिस सजिलै घर गएको देखिन्छ ।

भारतबाट भित्रिनेमा सबैभन्दा बढी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा छन् । लकडाउन यताको ६९ दिनमा भारतबाट प्रदेश ५ अन्तर्गतका सीमावर्ती नाकाबाट ५६ हजार ३ सय ९४ र सुदूरपश्चिम प्रदेशका नाकाबाट ६३ हजार ९ सय ४२ जना भित्रिएका छन् । त्यस्तै प्रदेश १ अन्तर्गतका नाकाबाट ५ हजार ७ सय ९२ र प्रदेश २ मा १५ हजार ५ सय २ जना भित्रिएका छन् ।

जेठ १२ पछि भारतसहित विदेशबाट आउनेलाई स्थानीय तहमा आवश्यक क्वारेन्टाइन व्यवस्थापन गरेर सरकारी पहलमै पठाउने निर्णय भएपनि अहिलेसम्म कुन निकायले के गर्ने भन्ने कार्यक्षेत्र नतोकिदा झनै अन्योल छ । विदेशबाट आउनेलाई स्थायी ठेगाना हेरेर स्थानीय तहसम्म पुर्‍याउन सवारी व्यवस्थापन र क्वारेन्टिन सुरक्षा जिम्मा सेनालाई दिइएपनि यसको विस्तृत कार्ययोजना आइनसकेको सैनिक उच्च स्रोतले जानकारी दियो । जेठ १२ को मन्त्रिपरिषद्ले पारित गरेको ‘विदेशबाट आउनेको व्यवस्थापन गर्नेसम्बन्धी आदेश–२०७७’ मा उनीहरुलाई स्थानीय तहका क्वारेन्टाइनमा पुर्‍याउन सवारी व्यवस्थापन र क्वारेन्टाइन सुरक्षा जिम्मा सेनालाई दिने भनिएको थियो । तर न सीमा नाकामा आउनेलाई होल्डिङ सेन्टरको व्यवस्था छ, न स्थानीय तहमा क्वारेन्टाइनको क्षमता नै बढाउन द्रुत गतिमा काम ।

सरकारको यो ढिलासुस्तीले संक्रमणको जोखिम झन बढाएको छ । अझ भारतबाट आउनेको हकमा आरडीटी परीक्षणसमेत नगरी सिधै स्थानीय तहका क्वारेन्टाइनमा पठाउने तयारी छ । यसले समेत कोरोना संक्रमणको उच्च जोखिम बढाउने देखिन्छ । उच्च स्रोतका अनुसार सरकारसग अहिले ३४ हजार ४६ थान आरडीटी, २ लाख ११ हजार ४ सय ४९ पीपीई, २ लाख १० हजार ४ सय ३६ एन–९५ मास्क, २१ हजार २ सय ६७ भीटीएम स्टकमा छ । तर भारत र तेस्रो मुलुकबाट आउनेको स्वास्थ्य परीक्षण गर्ने हो भने अहिले भएका स्वास्थ्य उपकरणले धान्न सक्ने अवस्था छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ३३ हजार ७ सय ५७ जनाको आरडीटी र ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रिपरिषद् बैठकले भारतसहित विदेशबाट आउने सबैलाई सरकारी तहबाटै समन्वय गरेर सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनसम्म पुर्‍याउने व्यवस्था मिलाउने निर्णय गरेपछि दक्षिण नाका हुँदै नेपाल आउनेको चाप थप बढेको छ ।

जेठ १२ पछि भित्रिनेलाई सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गरेर प्रदेशअनुसार विभाजन गरी सम्बन्धित पालिकाका क्वारेन्टाइनमा पठाउने भनिएको थियो । यसका लागि सेनालाई स्थानीय प्रशासन, प्रदेश सरकार र पालिकासँग समन्वय गर्ने जिम्मा दिइएको छ । तर सेना परिचालन र कार्यक्षेत्र विभाजनसम्बन्धी कार्यविधि आइनसकेका कारण होल्डिङ सेन्टर निर्माणदेखि क्वारेन्टाइनसम्म पुर्‍याउनेसम्बन्धी काम सुरु नै भएको छैन । सोमबार बेलुकासम्म सेना परिचालनसम्बन्धी औपचारिक जानकारी र कार्यक्षेत्र तोकिएको पत्र जंगी अड्डामा आइनसकेको स्रोतले बतायो । कार्यविधि पारित गरेको ५ दिनपछि गत शनिबारको मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्ध जुध्न सेना परिचालन गर्ने निर्णय गरेको थियो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेना परिचालनको निर्णयबारे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले भारतबाट भित्रिएकालाई नाकामै ‘होल्डिङ जोन’ व्यवस्था गरेर राख्ने र त्यहीबाट आवश्यक व्यवस्था मिलाएर स्थायी ठेगाना भएका स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी काम भइरहेको बताए ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?