कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब लक्षण देखिएका संक्रमितलाई मात्र अस्पताल

सामान्य लक्षण भएका संक्रमितलाई अस्पतालबाहिरै आइसोलेसनमा राखेर निगरानी गर्ने सरकारको तयारी
अतुल मिश्र

काठमाडौँ — सरकारले कडा लक्षण देखिएका कोभिड–१९ संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने तयारी गरेको छ । संक्रमित भए पनि सामान्य लक्षण भएका व्यक्तिलाई भने अस्पतालबाहिरै आइसोलेसनमा राखेर निगरानी गर्न लागिएको हो । संक्रमितको संख्या तीव्र गतिमा बढेपछि अस्पतालमा आइसोलेसन शय्याको अभाव हुने भन्दै सरकारले गम्भीर बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने तयारी गरेको हो ।

अब लक्षण देखिएका संक्रमितलाई मात्र अस्पताल

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ संक्रमितलाई छुट्याएर व्यवस्थापन गर्नुपर्ने स्थिति आउन लागेको बताए । ‘कोभिड–१९ का लक्षण भएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘लक्षण नभएका संक्रमितलाई अन्तै आइसोलेसनमा राख्नेछौं ।’ हाल सरकारले संक्रमित सबैलाई कोरोना उपचारमा केन्द्रित अस्पतालमा भर्ना गर्दै आएको छ ।

लक्षण देखिएका संक्रमितको पहिचान गरेर कोरोना हब अस्पताल ल्याउन प्रदेश र स्थानीय स्तरमा टोली खटाइएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बताए । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार पीसीआर परीक्षण विस्तार, भारत र तेस्रो मुलुकबाट फर्किनेहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, लक्षण भएका संक्रमित पहिचान गरेर अस्पताल ल्याउनेलगायतका पहल सुरु भइसकेको छ ।

तीन क्षेत्रमा विभाजन गर्ने तयारी

संक्रमणको अवस्था हेरेर मुलुकका विभिन्न क्षेत्र गरेर लकडाउनको स्वरूप निर्धारण गर्ने तयारी सरकारले गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले संक्रमणको अवस्था हेरेर रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गरेर रातोमा लकडाउन अझै कडा पार्ने, पहेँलोमा अत्यावश्यक सेवा खोल्दै जाने र हरियोमा आवश्यक सेवा केही समय खोलेर निजी सवारीसाधनलाई जोरबिजोर नम्बरअनुसार चल्न दिने प्रस्ताव गरिएको जानकारी दिए । ‘यो विषयमा समेत सम्बद्घ निकायमा छलफल चलिरहेको छ,’ उनले भने ।

स्वास्थ्य सुरक्षा अपनाउँदै लकडाउन खुकुलो पार्न सरकारमाथि दबाब बढेको छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याइसकेको छ, जसले सर्वत्र असर पारेको छ । संक्रमितको संख्या चुलिँदै गएको छ । मन्त्रिपरिषद्ले पछिल्लो पटक लकडाउन लम्ब्याउने निर्णय गर्नुभन्दा एक दिनअघि स्वास्थ्य मन्त्रालयले विकल्प राखेर लकडाउन खुकुलो पार्न सुझाव दिएको थियो । एक अधिकारीका अनुसार आमनागरिकलाई लकडाउनमै रहेको महसुस हुने गरी गतिविधि सञ्चालनमा केही सहुलियत दिने नीति सरकारले अख्तियार गर्ने सोच बनाएको छ । ‘लकडाउन खुकुलो पार्दा एक्कासि बढी मृत्यु र थेग्न नसक्ने गरी संक्रमण देखिने अवस्था आउन नदिन विशेष सतर्कता अपनाउने तयारी छ,’ ती अधिकारीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले लकडाउन सधंैका लागि नभएको प्रतिक्रिया दिइन् । ‘हाल धेरै बिरामी एसिम्प्टोम्याटिक (लक्षणविहीन) हुनु राम्रो पक्ष भए पनि सधंै यस्तै रहला भन्न सकिन्न,’ उनले भनिन्, ‘संक्रमण रोक्न विदेशबाट आउनेहरूलाई निगरानी गर्नुपर्छ ।’ उनले छिमेकी मुलुक भारतबाट फर्किनेहरूको लाम कायम रहेसम्म लकडाउन लम्ब्याउने र त्यसपछि निश्चित मापदण्ड अपनाएर खोल्ने गरी छलफल हुनुपर्ने आवश्यकता औंल्याइन् ।

संक्रमितको संख्या बढ्दै र मृतक थपिँदै गएको अवस्थामा स्वास्थ्य मन्त्रालयले थप पहल नगरेको भन्दै आलोचना हुन थालेको छ । मन्त्रालयका पदाधिकारी भने रोकथाम र उपचारका लागि नयाँ रणनीति लिन थालेको दाबी गर्छन् ।

एकै दिन २३७ जना संक्रमित थपिए

मुलुकमा सोमबार कोभिड–१९ का २ सय ३७ जना संक्रमित थपिएका छन् । सोमबार बेलुकासम्म कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार नयाँ संक्रमित झापा, दैलेख, जुम्ला, मकवानपुर, अछाम, नवलपरासी, सुर्खेत, कपिलवस्तु, रौतहट, बाँके, दाङ, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, बैतडी, डोटी र कञ्चनपुरका छन् ।डोटी जिल्ला थपिएसँगै संक्रमण ५९ जिल्लामा फैलिएको छ ।

मुलुकमा सोमबार २ हजार ३ सय १० नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७१ हजार ९ सय ३ नमुनाको पीसीआर परीक्षण भइसकेको छ । सोमबार आरडीटी किटबाट २ हजार ६ सय ४८ नमुनाको परीक्षण गरिएको छ । हालसम्म १ लाख १३ हजार ७ सय ५९ नमुनाको आरडीटी परीक्षण गरिसकिएको छ ।

हाल मुलुकमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन् । प्रदेश नम्बर १ मा ३ हजार ९ सय ७७, प्रदेश २ मा २१ हजार ९ सय ३२, वाग्मती प्रदेशमा २ हजार ६ सय ५४, गण्डकीमा ३ हजार ९ सय ३७, प्रदेश ५ मा ३८ हजार २ सय ३०, कर्णालीमा २२ हजार ४ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ४० हजार ७ सय ७१ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?