आइसोलेसन र क्वारेन्टाइन भद्रगोल

प्रदेश सरकारले कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा करिब २ अर्ब खर्चिसकेको दाबी गरे पनि यहाँका आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएको छैन ।

जेष्ठ २०, २०७७

प्रदेश ब्युरो

जनकपुर — खाजामा भुजा–च्युरा र पातलो झोलसहित चाना दिएपछि एक कोरोना संक्रमितले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनबाट भिडियो खिचेर सार्वजनिक गरिदिए । लगत्तै प्रदेश सरकारका एक मन्त्रीले संक्रमितलाई फोन गरेर खाना र खाजामा सुधार ल्याउने आश्वासन दिए । भोलिपल्ट पनि आइसोलेसनका बिरामीलाई दिइएको चाउमिन बासी थियो ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवागुठीको श्रीरामस्वरूप रामप्रित चौरसिया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा एक महिलासहित ३१ जनालाई राखिएको छ । क्वारेन्टाइनको शौचालय दुर्गन्धले बसिनसक्नु छ । विद्यालयसँगै टाँसिएको खेत क्वारेन्टाइनमा बस्नेका लागि खुला शौचालय बनेको छ । सप्तरीको कोसी ब्यारेजस्थित क्वारेन्टाइनबाट वैशाख २५ गते राति १९ जना भारतीय फरार भए । प्रहरीको सुरक्षा घेरामा रहेका १९ जना कहाँ भागे ? अझै पत्तो लागेका छैन । जनकपुर र वीरगन्जको आइसोलेसनबाटै संक्रमित फरार भए । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनको तेस्रो तल्लाको कोठा फोडेर भागेका संक्रमितलाई दुई दिनपछि फेरि नियन्त्रणमा लिइयो । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनबाट फरार भएका तीन संक्रमित फेरि आफैं आइपुगे ।

यी घटनाक्रमले कोरोना भाइरस नियन्त्रण र उपचारका लागि प्रदेश २ मा बनाइएका आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको स्पष्ट पारेको छ । प्रदेश सरकारले कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा करिब २ अर्ब खर्चिसकेको दाबी गरे पनि यहाँका आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएको छैन । ढिलासुस्ती यतिबिघ्न छ कि वैशाखमै बनिसक्नुपर्ने बाराको कलैयास्थित कोभिड अस्पतालको अझै सुरसार छैन ।

सर्लाहीमा त्रिपाल भुँइमा ओछ्याएर खुला चौरमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता छ । यहाँ धेरैजसो क्वारेन्टाइन विद्यालयमा बनाइएको छ । भित्र गर्मी भएपछि उनीहरू बाहिर चौरमा बस्ने र सुत्ने गर्छन् । सर्लाहीको दक्षिणी क्षेत्रका स्थानीय तहमा क्षमताभन्दा बढी मानिस भारतबाट फर्किन थालेपछि एउटै कोठामा कोचाकोच गरेर राखिएको छ । ‘स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा खाना र खाजाको कुरै छाडौं । बस्ने र सुत्न पनि समस्या छ,’ जमुनिया विद्यालयको क्वारेन्टाइनमा रहेका रामचन्द्र पण्डितले कान्तिपुरसँग भने, ‘गर्मी मौसममा सर्प, किराको त डर छँदै छ, शौचालय जाँदा पनि दुर्गन्धले बसिसाध्य हुँदैन ।’

पर्साका १४ पालिकामा ३५ क्वारेन्टाइनस्थलमा एक हजार ४ सय ८९ बेड क्षमता छ । ती क्वारेन्टाइनमा ७ सय ९२ पुरुष र ८३ महिला गरी ८ सय ७५ जनालाई राखिएको छ । ‘बिहानको नास्तामा कालो चिया दिन्छन्,’ क्वारेन्टाइनमा रहेका एक युवकले भने, ‘११ बजे खाना दिएपछि दिउँसो प्लास्टिकमा झोल चाना र भुजा दिन्छन् ।’ रातिको खाना बिहानजस्तै हुन्छ । सरसफाइमा पनि ध्यान नदिएको उनले गुनासो गरे ।

पर्साका स्वास्थ्य निरीक्षक जयमुद ठाकुरका अनुसार केही क्वारेन्टाइनमा स्वास्थ्यकर्मीका लागि सेनिटाइजरको समेत व्यवस्था छैन । ‘पर्साका २/४ वटा क्वारेन्टाइन मात्र व्यवस्थित छन्,’ उनले भने, ‘एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा त्यस क्वारेन्टाइनको सबैलाई होल्ड गर्ने अवस्था छ । तीन मिटरको दूरीमा बेड राख्नुपर्ने मापदण्डसमेत पालना गरिएको छैन ।’

भारतबाट पर्साको क्वारेन्टाइनमा आएको एक सातापछि मात्र परीक्षणका लागि स्वाब संकलन गर्ने गरिएको छ । क्वारेन्टाइनमा सम्बन्धित पालिकाका स्वास्थ्यकर्मी खटिएका छन् । पर्सामा कुल ५८ बेड क्षमताको आइसोलेसन छ । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ५० र पोखरिया अस्प्तालमा ८ बेडको आइसोलेसन निर्माण गरिएको छ । पोखरियाको आइसोलेसन वार्डमा कोरोना संक्रमित भने भर्ना गरिएको छैन । पोखरिया नगरपालिका प्रमुख दीपनारायण रौनियारले पोखरियाको आइसोलेसनमा ज्वरो आएका बिरामीको उपचार गर्ने बताएका छन् ।

क्वारेन्टाइनमै संक्रमित

संक्रमणका दृष्टिले हटस्पट बनेको रौतहटमा आइसोलेसनको अभावमा ८८ संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ । चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा गढीमाई नगरपालिकाका ७ जनामा कोरोना संक्रमण देखियो । संक्रमितलाई ५ दिनदेखि आइसोलेसन वार्डमा नसारेर क्वारेन्टाइनमै राखिएको चन्द्रपुर सरकारी अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले बताए । उक्त क्वारेन्टाइनमा भारतबाट फर्केका ४० भन्दा बढी छन् ।

जिल्ला प्रशासन कार्यालय गौरका अनुसार दुर्गाभगवती क्वारेन्टाइनमा ८ जना सक्रमितलाई राखिएको छ । त्यस्तै ईशनाथ नगरपालिकाको घिउरा क्वारेन्टाइनमा ११ जना र जोकाहा मदरसा क्वारेन्टाइनमा १० जना, माधवनारायण नगरपालिकास्थित मधोपुर क्वारेन्टाइनमा १ जना, राजपुर नगरपालिकास्थित बैरिया मदरसा क्वारेन्टाइनमा ५१ जना संक्रमितलाई राखिएको छ ।

क्वारेन्टाइनमा भारतबाट फर्किएकालाई राखिएको र संक्रमितलाई छुट्टै व्यवस्थित तरिकाले राखेर उपचार गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । संक्रमितलाई राखिएको आइसोलेसन वार्डमा एक जना चिकित्सक र दुई जना नर्स तथा दुई जना अहेबसहित ५ जना स्वास्थ्यकर्मीलाई खटाइएको गौर अस्पताल प्रमुख डा.कृष्ण साहले जानकारी दिए ।

आइसोलोसन र क्वारेन्टाइन खचाखच

सर्लाहीका २० पालिकामा स्थापना गरिएका क्वारेन्टाइनमा भारतबाट फर्केकाको संख्या थामिनसक्नु छ । बेड क्षमताभन्दा बढी मानिस आउन थालेपछि एउटै क्वारेन्टाइनमा कोचिएको छ । व्यवस्थापनमा चुनौती भएपछि कतिपय पालिकाले क्वरेन्टाइनमा बसेकालाई एउटा त्रिपालको मात्र व्यवस्था गरेको छ । कतिपय पालिकाले सूचना नै जारी गरेर थप व्यक्तिलाई राख्न नसक्ने जानकारी गराएका छन् ।

सर्लाहीमा संक्रमितको उपचारका लागि दुई ठाउँमा आइसोलेसन स्थापना गरिएको छ । एक साताअघि मलंगवामा स्थापना भएको ५० शय्याको आइसोलेसन कक्ष भरिभराउ छ । आइतबार हरिपुरको फरहदवा स्वास्थ्य चौकीमा पनि १५ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । फरहदवमा आइतबार मात्र हरिपुरमा फेला परेका ७ जना कोरोना संक्रमितलाई राखेर उपचार सुरु गरिएको हो । आइसोलेसन तथा क्वारेन्टाइनमा पालिकाका स्वास्थ्य संयोजक लगायतको टोली उपचारमा संलग्न छन् । दिन प्रतिदिन कोरोनाको बिरामी बढ्दै गएकाले सम्भव भए जिल्लाको प्रत्येक पालिकामा आइसोलेसन कक्ष निर्माण भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

क्वारेन्टाइनमै कुटपिट

गत साता सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामाकटी उच्च माविस्थित क्वारेन्टाइनमा प्रहरीले बिनाकारण कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा रहेका सबै ७३ जनाले भोक हडताल गरे । कुटपिटमा संलग्न असई सञ्जय सिंह जिल्लामा तानिएपछि स्थिति साम्य भयो । राजविराजस्थित क्वारेन्टाइनमा साबुन नभएको, शौचालय सफा नभएको, खानेपानी नभएको भन्दै केही व्यक्तिले खाना बहिष्कार गरे । नयाँ स्थानमा क्वारेन्टाइन सारिएपछि अहिले स्थिति सुधारिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सप्तरी जिल्लाका १८ वटै पालिकामा गरी कुल ६७ वटा क्वारेन्टाइनस्थल छ । जसमा सोमबार दिउँसोसम्म १८ सय ४१ जना छन् । ३ हजार १५ जनालाई राख्न सकिने उनले बताए । क्वारेन्टाइनहरूमा बस्ने पर्याप्त स्थान रहे पनि भारतबाट आउनेहरू क्वारेन्टाइनस्थलसम्म पुग्नै समस्या हुने गरेको छ । भारतबाट आउनेहरू सीमामा आएपछि आफ्नो पालिकालाई पटकपटक फोन गर्दासमेत समयमा एम्बुलेन्सलगायत साधन नआउँदा उनीहरू घण्टौं बोर्डरमै कुर्न बाध्य छन् ।

जिल्लामा संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि आइसोलेसन कक्षको अभाव हुँदा केही संक्रमितहरू तीन दिनसम्म क्वारेन्टाइनमै बसेका थिए । प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले राजविराजस्थित साई कृष्णा मेडिकल कलेजको पुरानो भवनमा आइसोलेसन कक्ष बनाएको छ । तीन सय बेडको निर्माण गर्ने लक्ष्य रहेको सो आइसोलेसन कक्षमा १ सय बेड तयार भइसकेको र त्यसमा संक्रमित राख्न आइबतार साँझबाट सुरु गरिएको छ ।

अझै बनेन कोभिड अस्पताल

बारामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनको व्यवस्था छैन । अस्पताल बनाउन महिनाअघि प्रदेश सरकार र केन्द्र सरकारबाट उपलब्ध साढे पाँच करोड रकम त्यत्तिकै थन्केको छ । यहाँका राजनीतिक दल, अस्पतालका अधिकारी र स्थानीय प्रशासनले ठोस निर्णयमा पुग्न नसक्दा अस्पताल बन्न नसकेको हो । यिनीहरूमा कोहीले कलैया अस्पताललाई कोभिड अस्पताल नबनाई कलैयाको अर्कै स्थानमा बनाउने अडान राख्दै आएका छन् ।

वीरगन्जको नारायणी अस्पतालले बाराका कोरोना संक्रमित बिरामीलाई उपचार नगर्ने स्पस्ट जवाफ दिइसकेको अवस्थामा कलैयामा अस्पताल नबन्नु जिल्लावासीका लागि दुर्भाग्य भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । जिल्लामा जनरल स्वास्थ्य सेवा दिने एक मात्र कलैया अस्पताल सहरको बीचमा भएकाले त्यहाँबाहेक अन्य ठाउँमा बनाउन अरू दलका नेताले सुझाएका छन् ।

-भूषण यादव (वीरगन्ज), लक्ष्मी साह (बारा), शिव पुरी (रौतहट), ओमप्रकाश ठाकुर (सर्लाही) र अवधेशकुमार झा (सप्तरी)

कोरोना भाइरसलकडाउन

प्रदेश

Link copied successfully