आइसोलेसन र क्वारेन्टाइन भद्रगोल- समाचार - कान्तिपुर समाचार

आइसोलेसन र क्वारेन्टाइन भद्रगोल

प्रदेश सरकारले कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा करिब २ अर्ब खर्चिसकेको दाबी गरे पनि यहाँका आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएको छैन ।
प्रदेश ब्युरो

जनकपुर — खाजामा भुजा–च्युरा र पातलो झोलसहित चाना दिएपछि एक कोरोना संक्रमितले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनबाट भिडियो खिचेर सार्वजनिक गरिदिए । लगत्तै प्रदेश सरकारका एक मन्त्रीले संक्रमितलाई फोन गरेर खाना र खाजामा सुधार ल्याउने आश्वासन दिए । भोलिपल्ट पनि आइसोलेसनका बिरामीलाई दिइएको चाउमिन बासी थियो ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवागुठीको श्रीरामस्वरूप रामप्रित चौरसिया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा एक महिलासहित ३१ जनालाई राखिएको छ । क्वारेन्टाइनको शौचालय दुर्गन्धले बसिनसक्नु छ । विद्यालयसँगै टाँसिएको खेत क्वारेन्टाइनमा बस्नेका लागि खुला शौचालय बनेको छ । सप्तरीको कोसी ब्यारेजस्थित क्वारेन्टाइनबाट वैशाख २५ गते राति १९ जना भारतीय फरार भए । प्रहरीको सुरक्षा घेरामा रहेका १९ जना कहाँ भागे ? अझै पत्तो लागेका छैन । जनकपुर र वीरगन्जको आइसोलेसनबाटै संक्रमित फरार भए । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनको तेस्रो तल्लाको कोठा फोडेर भागेका संक्रमितलाई दुई दिनपछि फेरि नियन्त्रणमा लिइयो । नारायणी अस्पताल वीरगन्जको आइसोलेसनबाट फरार भएका तीन संक्रमित फेरि आफैं आइपुगे ।

यी घटनाक्रमले कोरोना भाइरस नियन्त्रण र उपचारका लागि प्रदेश २ मा बनाइएका आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको स्पष्ट पारेको छ । प्रदेश सरकारले कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा करिब २ अर्ब खर्चिसकेको दाबी गरे पनि यहाँका आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सकिएको छैन । ढिलासुस्ती यतिबिघ्न छ कि वैशाखमै बनिसक्नुपर्ने बाराको कलैयास्थित कोभिड अस्पतालको अझै सुरसार छैन ।

सर्लाहीमा त्रिपाल भुँइमा ओछ्याएर खुला चौरमा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता छ । यहाँ धेरैजसो क्वारेन्टाइन विद्यालयमा बनाइएको छ । भित्र गर्मी भएपछि उनीहरू बाहिर चौरमा बस्ने र सुत्ने गर्छन् । सर्लाहीको दक्षिणी क्षेत्रका स्थानीय तहमा क्षमताभन्दा बढी मानिस भारतबाट फर्किन थालेपछि एउटै कोठामा कोचाकोच गरेर राखिएको छ । ‘स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा खाना र खाजाको कुरै छाडौं । बस्ने र सुत्न पनि समस्या छ,’ जमुनिया विद्यालयको क्वारेन्टाइनमा रहेका रामचन्द्र पण्डितले कान्तिपुरसँग भने, ‘गर्मी मौसममा सर्प, किराको त डर छँदै छ, शौचालय जाँदा पनि दुर्गन्धले बसिसाध्य हुँदैन ।’

पर्साका १४ पालिकामा ३५ क्वारेन्टाइनस्थलमा एक हजार ४ सय ८९ बेड क्षमता छ । ती क्वारेन्टाइनमा ७ सय ९२ पुरुष र ८३ महिला गरी ८ सय ७५ जनालाई राखिएको छ । ‘बिहानको नास्तामा कालो चिया दिन्छन्,’ क्वारेन्टाइनमा रहेका एक युवकले भने, ‘११ बजे खाना दिएपछि दिउँसो प्लास्टिकमा झोल चाना र भुजा दिन्छन् ।’ रातिको खाना बिहानजस्तै हुन्छ । सरसफाइमा पनि ध्यान नदिएको उनले गुनासो गरे ।

पर्साका स्वास्थ्य निरीक्षक जयमुद ठाकुरका अनुसार केही क्वारेन्टाइनमा स्वास्थ्यकर्मीका लागि सेनिटाइजरको समेत व्यवस्था छैन । ‘पर्साका २/४ वटा क्वारेन्टाइन मात्र व्यवस्थित छन्,’ उनले भने, ‘एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा त्यस क्वारेन्टाइनको सबैलाई होल्ड गर्ने अवस्था छ । तीन मिटरको दूरीमा बेड राख्नुपर्ने मापदण्डसमेत पालना गरिएको छैन ।’

भारतबाट पर्साको क्वारेन्टाइनमा आएको एक सातापछि मात्र परीक्षणका लागि स्वाब संकलन गर्ने गरिएको छ । क्वारेन्टाइनमा सम्बन्धित पालिकाका स्वास्थ्यकर्मी खटिएका छन् । पर्सामा कुल ५८ बेड क्षमताको आइसोलेसन छ । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ५० र पोखरिया अस्प्तालमा ८ बेडको आइसोलेसन निर्माण गरिएको छ । पोखरियाको आइसोलेसन वार्डमा कोरोना संक्रमित भने भर्ना गरिएको छैन । पोखरिया नगरपालिका प्रमुख दीपनारायण रौनियारले पोखरियाको आइसोलेसनमा ज्वरो आएका बिरामीको उपचार गर्ने बताएका छन् ।

क्वारेन्टाइनमै संक्रमित

संक्रमणका दृष्टिले हटस्पट बनेको रौतहटमा आइसोलेसनको अभावमा ८८ संक्रमितलाई क्वारेन्टाइनमै राखिएको छ । चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा गढीमाई नगरपालिकाका ७ जनामा कोरोना संक्रमण देखियो । संक्रमितलाई ५ दिनदेखि आइसोलेसन वार्डमा नसारेर क्वारेन्टाइनमै राखिएको चन्द्रपुर सरकारी अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले बताए । उक्त क्वारेन्टाइनमा भारतबाट फर्केका ४० भन्दा बढी छन् ।

जिल्ला प्रशासन कार्यालय गौरका अनुसार दुर्गाभगवती क्वारेन्टाइनमा ८ जना सक्रमितलाई राखिएको छ । त्यस्तै ईशनाथ नगरपालिकाको घिउरा क्वारेन्टाइनमा ११ जना र जोकाहा मदरसा क्वारेन्टाइनमा १० जना, माधवनारायण नगरपालिकास्थित मधोपुर क्वारेन्टाइनमा १ जना, राजपुर नगरपालिकास्थित बैरिया मदरसा क्वारेन्टाइनमा ५१ जना संक्रमितलाई राखिएको छ ।

क्वारेन्टाइनमा भारतबाट फर्किएकालाई राखिएको र संक्रमितलाई छुट्टै व्यवस्थित तरिकाले राखेर उपचार गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । संक्रमितलाई राखिएको आइसोलेसन वार्डमा एक जना चिकित्सक र दुई जना नर्स तथा दुई जना अहेबसहित ५ जना स्वास्थ्यकर्मीलाई खटाइएको गौर अस्पताल प्रमुख डा.कृष्ण साहले जानकारी दिए ।

आइसोलोसन र क्वारेन्टाइन खचाखच

सर्लाहीका २० पालिकामा स्थापना गरिएका क्वारेन्टाइनमा भारतबाट फर्केकाको संख्या थामिनसक्नु छ । बेड क्षमताभन्दा बढी मानिस आउन थालेपछि एउटै क्वारेन्टाइनमा कोचिएको छ । व्यवस्थापनमा चुनौती भएपछि कतिपय पालिकाले क्वरेन्टाइनमा बसेकालाई एउटा त्रिपालको मात्र व्यवस्था गरेको छ । कतिपय पालिकाले सूचना नै जारी गरेर थप व्यक्तिलाई राख्न नसक्ने जानकारी गराएका छन् ।

सर्लाहीमा संक्रमितको उपचारका लागि दुई ठाउँमा आइसोलेसन स्थापना गरिएको छ । एक साताअघि मलंगवामा स्थापना भएको ५० शय्याको आइसोलेसन कक्ष भरिभराउ छ । आइतबार हरिपुरको फरहदवा स्वास्थ्य चौकीमा पनि १५ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । फरहदवमा आइतबार मात्र हरिपुरमा फेला परेका ७ जना कोरोना संक्रमितलाई राखेर उपचार सुरु गरिएको हो । आइसोलेसन तथा क्वारेन्टाइनमा पालिकाका स्वास्थ्य संयोजक लगायतको टोली उपचारमा संलग्न छन् । दिन प्रतिदिन कोरोनाको बिरामी बढ्दै गएकाले सम्भव भए जिल्लाको प्रत्येक पालिकामा आइसोलेसन कक्ष निर्माण भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

क्वारेन्टाइनमै कुटपिट

गत साता सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामाकटी उच्च माविस्थित क्वारेन्टाइनमा प्रहरीले बिनाकारण कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा रहेका सबै ७३ जनाले भोक हडताल गरे । कुटपिटमा संलग्न असई सञ्जय सिंह जिल्लामा तानिएपछि स्थिति साम्य भयो । राजविराजस्थित क्वारेन्टाइनमा साबुन नभएको, शौचालय सफा नभएको, खानेपानी नभएको भन्दै केही व्यक्तिले खाना बहिष्कार गरे । नयाँ स्थानमा क्वारेन्टाइन सारिएपछि अहिले स्थिति सुधारिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सप्तरी जिल्लाका १८ वटै पालिकामा गरी कुल ६७ वटा क्वारेन्टाइनस्थल छ । जसमा सोमबार दिउँसोसम्म १८ सय ४१ जना छन् । ३ हजार १५ जनालाई राख्न सकिने उनले बताए । क्वारेन्टाइनहरूमा बस्ने पर्याप्त स्थान रहे पनि भारतबाट आउनेहरू क्वारेन्टाइनस्थलसम्म पुग्नै समस्या हुने गरेको छ । भारतबाट आउनेहरू सीमामा आएपछि आफ्नो पालिकालाई पटकपटक फोन गर्दासमेत समयमा एम्बुलेन्सलगायत साधन नआउँदा उनीहरू घण्टौं बोर्डरमै कुर्न बाध्य छन् ।

जिल्लामा संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि आइसोलेसन कक्षको अभाव हुँदा केही संक्रमितहरू तीन दिनसम्म क्वारेन्टाइनमै बसेका थिए । प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले राजविराजस्थित साई कृष्णा मेडिकल कलेजको पुरानो भवनमा आइसोलेसन कक्ष बनाएको छ । तीन सय बेडको निर्माण गर्ने लक्ष्य रहेको सो आइसोलेसन कक्षमा १ सय बेड तयार भइसकेको र त्यसमा संक्रमित राख्न आइबतार साँझबाट सुरु गरिएको छ ।

अझै बनेन कोभिड अस्पताल

बारामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनको व्यवस्था छैन । अस्पताल बनाउन महिनाअघि प्रदेश सरकार र केन्द्र सरकारबाट उपलब्ध साढे पाँच करोड रकम त्यत्तिकै थन्केको छ । यहाँका राजनीतिक दल, अस्पतालका अधिकारी र स्थानीय प्रशासनले ठोस निर्णयमा पुग्न नसक्दा अस्पताल बन्न नसकेको हो । यिनीहरूमा कोहीले कलैया अस्पताललाई कोभिड अस्पताल नबनाई कलैयाको अर्कै स्थानमा बनाउने अडान राख्दै आएका छन् ।

वीरगन्जको नारायणी अस्पतालले बाराका कोरोना संक्रमित बिरामीलाई उपचार नगर्ने स्पस्ट जवाफ दिइसकेको अवस्थामा कलैयामा अस्पताल नबन्नु जिल्लावासीका लागि दुर्भाग्य भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । जिल्लामा जनरल स्वास्थ्य सेवा दिने एक मात्र कलैया अस्पताल सहरको बीचमा भएकाले त्यहाँबाहेक अन्य ठाउँमा बनाउन अरू दलका नेताले सुझाएका छन् ।

-भूषण यादव (वीरगन्ज), लक्ष्मी साह (बारा), शिव पुरी (रौतहट), ओमप्रकाश ठाकुर (सर्लाही) र अवधेशकुमार झा (सप्तरी)

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

कसरी जन्मियो प्रेमविरोधी भीड ?

जयस्थिति मल्ल हुँदै जंगबहादुर राणा र नयाँ राजाहरूले संविधान नै बनाएर जब्बर र व्यापक बनाएको नियन्त्रण शूद्र वा अछुत वा तल्लो जातविरुद्ध मात्रै केन्द्रित छैन, आफूलाई माथिल्लो, छुत, शुद्ध–श्रेष्ठ ठान्ने वर्ण–जातका स्त्री–पुरुषविरुद्ध पनि लक्षित छ ।
राजेन्द्र महर्जन

हाम्रा सत्तासीनहरू सीमारक्षाका लागि संविधान संशोधनमा तल्लीन छन् भने विपक्षीहरू त्यसप्रति राष्ट्रिय सहमति जुटाउन संकल्पबद्ध छन् । आमजनताचाहिँ लकडाउनको सीमाबन्दी हुन विवश छन् ।

देशीय सीमाभित्र–बाहिर रहेका जनतामध्ये कोही सत्तासीनहरूबाट प्रेम नपाएर मरिरहेका छन्, कोहीचाहिँ छिमेकी र अन्य समुदायबाट माया नपाएर मारिएका छन् । खाना, हेरचाह र उपचार नपाएर भैंसीगोठजस्ता ‘आइसोलेसन’ मा अकालमा मर्नेहरूको संख्याभन्दा कम छैन अन्य वर्णको मायाप्राप्तिका लागि गरिएको प्रयासमा चौरजहारीका सामाजिक गोठमा ज्यान गुमाउनेहरूको संख्या । कोरोना–कहर र लकडाउनको सकसबीच उनीहरूको ज्यान बचाउन र न्याय दिलाउन सत्तासीन र सत्ताकांक्षी दलहरूबीच ‘राष्ट्रिय सहमति’ भएको थाहा छैन ।

सत्तासीन र सत्ताकांक्षीहरूको ‘राष्ट्र’ मा नवराज विकहरूको युवा ज्यान प्रेम र विवाहका लागि खर्च भएको छ, वर्णको पर्खाल र जातको सीमाबन्दीका कारण । अरू वर्ण र जातको प्रेम पाउने आशमा सदिऔंदेखि थोपरिएको वर्णव्यवस्थाको ‘आइसोलेसन’ र जातभातको ‘क्वारेन्टिन’ बाट मुक्त हुन खोज्नु उनीहरूको अपराध भइदियो । उनीहरूको कच्चा प्रयास स्थानीय र केन्द्रीय जातीय सत्ताधीशहरूका लागि कोरोनाकालमा लकडाउन तोड्न खोजेको र किशोरीलाई अपहरण गर्न खोजेको निहुँ बनिहाल्यो । यसरी भेरी नदीमा धेरैजसो ‘तल्लो जात’ का, केही उनीहरूका साथी रहेका ‘माथिल्लो जात’ का युवाको बलि दिएर वर्णव्यवस्थाको ‘आइसोलेसन’ र जातभातको ‘क्वारेन्टिन’ लाई सुरक्षा र संरक्षण प्रदान गरियो ।

यसको अर्थ हो— वर्णव्यवस्था र जातभातबाट शासित ‘राष्ट्र’ मा जातीय श्रेष्ठतावादीहरूले रक्तशुद्धता र पवित्रताका लागि अन्तरजातीय प्रेम र विवाहको प्रयास गर्ने ‘तल्लो जात’ विरुद्ध हिंसा गर्नु अनौठो होइन । ‘वैदिकी हिंसा हिंसा न भवति’ भन्ठान्नेहरूका नजरमा रक्तशुद्धता र पवित्रताका लागि गरिने हिंसा अशुद्ध र अपवित्र हुँदैन । हिन्दु धर्मशास्त्रले भन्छ, ‘कुनै शूद्र पुरुषले ब्राह्मण नारीसित विवाह गर्‍यो भने उसको शरीरलाई कुकुर लगाएर क्षत–विक्षत पारियोस् ! ’

जात बचाउने विवाह प्रणाली

समाजमा आठ थरी विवाह पद्धति सिर्जना गर्दै, वैश्यलाई गान्धर्व विवाह र शूद्रलाई राक्षस र पैशाच विवाह ठेक्दै, ‘उच्च वर्ण’ की महिलासँग ‘तल्लो वर्ण’ को पुरुषको विवाह (प्रतिलोम विवाह) लाई निषेध गर्दै वर्णव्यवस्था र जातभातको प्रणालीसँगै रक्तशुद्धि र पवित्रताको रक्षाका नाममा हिंसाचार र स्वीकारोक्तिको अभियान चलाइएको इतिहास पनि दुई–तीन हजार वर्ष पुरानो भइसक्यो । मानवशास्त्री एसजे ताम्बियाका अनुसार, हिन्दु समाजको मुटु हो— विवाह प्रथा, जुन हिन्दु चेतनाको सबैभन्दा अगाडि रहेको छ भने, सामाजिक व्यवस्थाको केन्द्रविन्दुका रूपमा रहेको छ । हिन्दु समाजमा विवाह जातसँग प्रत्यक्ष रूपमा एकीकृत छ अनि जातले चाहिँ उसको प्राथमिक हैसियत र अवस्था निर्धारण गर्छ । कुनै पनि व्यक्तिको जातलाई सर्वप्रथमतः उसको अभिभावकको जात र हैसियतले निर्धारण गर्छ, त्यसपछि उसको विवाह र यौन सम्बन्धले यथावत् कायम राख्ने र संशोधन–सुधार गर्ने काम गर्छ ।

यसरी मूल रूपमा परिवार र कुल–वंशको निरन्तरता, सम्पत्ति हस्तान्तरणको पद्धतिसँगै वर्ण–जातको ब्राह्मणवादी सामाजिक स्तर र हैसियतको व्यवस्थालाई उत्पादन–पुनरुत्पादन गर्ने चालकशक्तिका रूपमा विवाह प्रणालीलाई चलाइएको पाइन्छ । यो विवाह प्रणालीको निरन्तरताका लागि महिलाको मात्रै होइन, पुरुषको पनि यौनिकता (सेक्सुयालिटी) माथि प्रभुत्व, प्रभुत्वका लागि हिंसाचार, हिंसाचारका लागि सामाजिक मान्यता र अभ्यासका साथै राज्यको दण्ड र डन्डा प्रयोग हुँदै आएको छ । यस्तो विवाहमा आपसी प्रेमभन्दा स्वामित्व प्रभावशाली हुनु अनौठो होइन, जसमा हिंसा शक्तिशाली हुन्छ नै ।

सामाजिक संरचनाले बनाउने दिल

मूल रूपमा हिन्दु समाजमा व्यक्तिमाथि, व्यक्तिमा पनि महिला र अछुतमाथि सामाजिक संरचनाको नियन्त्रण र शासन प्रबल छ, उनीहरूको अवस्था र हैसियत अधीनस्थ रैतीको भन्दा पनि नियन्त्रित छ । त्यसैले सामान्यतः उनीहरूसँगै रैती–प्रजा–जनता–नागरिकको निजी मामिला पनि व्यक्तिगत निर्णयबाट कमै चल्छ । समाजशास्त्री चैतन्य मिश्र भन्छन्— उनीहरूले प्रेम गर्ने कि नगर्ने, प्रेमलाई विवाहमा फेर्ने कि नफेर्ने भन्ने प्रश्नमा निर्णायक तत्त्व हुँदै आएको छ सामाजिक संरचना । परिवार र समाजजस्ता सामाजिक संरचनाले मुख्य रूपमा प्रेमी–प्रेमिका वा सम्भावित वर–वधूको वर्ण र जात हेर्छ, उनीहरूको कुल, सम्पत्ति, हैसियत हेर्छ । ‘मानिस ठूलो जातले होइन, दिलले हुन्छ’ भन्ने अधिकांश आधुनिकतावादीहरू पनि यस मामिलामा अछुतो छैनन् । अपवादबाहेक धेरैजसोको दिल–दिमागले प्रेम र विवाहका क्रममा वर्ण र जात हेरेन भन्न सकिँदैन । सत्य के हो भने, उनीहरूका दिल–दिमाग पनि वर्ण र जातजस्ता सामाजिक संरचनाको निर्मिति न हुन् !

यस अर्थमा हाम्रा घर, परिवार, समाज र राज्य संरचनागत हिंसाबाट मुक्त छैनन्, किनभने ती आफैंमा पनि संरचनागत हिंसाका उत्पादक, सञ्चालक र उपभोक्ता एकसाथ हुन् । तिनै सामाजिक संरचनाबाट उत्पादित–पुनरुत्पादित मानिसका दिल–दिमाग मात्रै हिंसाबाट कसरी स्वतन्त्र होलान् ? तिनै दिल–दिमागले अभिव्यक्त गर्ने भावना, व्यवहार र विचार पटक–पटक हिंसात्मक रूपमा पोखिने गरेका छन् । यसरी पोखिने प्रेम होस् या घृणा, धेरैजसो स्वप्रेमका रूपमा र स्वजातीय मायाका रूपमा त अरूप्रति घृणा र दमनका रूपमा अनुवाद भएको पाइन्छ । छ–छ जना नवराज विकहरूको बीभत्स हत्या हुँदा पनि हिंसाको पक्षमा अनेक तर्क र तथ्य गढ्ने जातवादी मनमस्तिष्क कसरी अहिंस्रक हुन सक्छ ? अन्तरजातीय प्रेम र विवाहको प्रयासमा भएको सामूहिक संहारलाई पनि जायज ठहर्‍याउन सक्ने विचार र व्यवहार कसरी मानवीय र अहिंसावादी हुन सक्छन् ?

खासमा वर्णव्यवस्था र जातभातको प्रणाली आफैंमा हिंसात्मक संरचना भएकाले यसको चरित्र प्रेमविरोधी छ । भारत र नेपालमा प्रचलित धर्मशास्त्रले आफ्नो वर्ण र जातलाई सर्वोच्च स्थानमा राख्छन् र अरूलाई नीच दर्जा दिन्छन् । आफ्ना सबै श्रेष्ठ, शुद्ध, पवित्र मान्छन् र अरूका सबै हीन, अशुद्ध र अपवित्र ठान्छन् अनि एउटै ‘अपराध’ वा ‘पाप’ मा आफ्नालाई छुट दिन्छन्, अरूलाई कठोर दण्डसजाय दिन्छन् । अहिले हिन्दु धर्मशास्त्र भनिने यस्तो ‘ब्राह्मण धर्मशास्त्र’ र त्यसैलाई कानुन बनाएर लागू गर्ने राज्यले लादेका वर्णव्यवस्था र जातभातको प्रणाली कसरी मानवीय र मायालु हुन सक्छन् र ? यस्तो अमानवीय वर्णव्यवस्था र प्रेमविरोधी जातभात प्रणालीले कसरी राज्यले बनाएको कानुनको हैसियत र परिवार–समाजबाट स्वीकारोक्ति, मान्यता र अभ्यासको अवस्था हासिल गरे, आफूलाई आधुनिकतावादी ठान्ने जोकोहीले पनि इतिहासदेखि वर्तमानसम्म खोतल्दै यसको जवाफ खोज्नु आवश्यक छ ।

हिंसाचारको धार्मिक जग

इतिहासकार रामशरण शर्माका अनुसार, परस्त्रीगमनसम्बन्धी विधिमा शूद्रहरूका लागि कठोर दण्ड र गैरशूद्रहरूका निम्ति नरम सजायको व्यवस्था गरिएको छ । ‘आपस्तम्ब धर्मसूत्र’ मा भनिएको छ— कुनै शूद्रले आर्य वा तीन वर्णकी महिलासँग व्यभिचार गरेमा उसको हत्या गरिनुपर्छ, कुनै आर्यले शूद्र स्त्रीसँग त्यस्तै अपराध गरेमा उसलाई निर्वासित मात्रै गरिनुपर्छ । आपस्तम्ब र बौधायन सूत्रमा कतिसम्म भनिएको छ भने, शूद्रको हत्यामा कौवा, भ्यागुता, छुचुन्द्रो र कुकुरको हत्या हुँदा गरिने प्रायश्चित्त मात्रै गरे पुग्छ ।

नेपालमा १८५ वर्षअघि मात्रै आफूलाई भण्डारी ब्राह्मण भनेर धेरैलाई भातपानी चलाएको आरोपमा एक जना कामीलाई सर्वस्वहरणसहित सार्वजनिक स्थलमा दिइएको फाँसीले त्यस्तै सूत्रको व्यावहारिक अनुवाद कसरी हुन्छ भन्ने देखाएको छ । एक थापामगरलाई सर्किनीसँग यौनसम्पर्क कायम गर्दै अरूलाई भातपानीमा छुवाछुत गरेबापत फाँसी दिइएको घटनाले राज्य र कानुनको जातभाते चरित्रलाई उजागर गरेको छ । तिनै विधिका आधारमा एक सार्कीसँग यौनसम्पर्क कायम गरेको तथ्य लुकाई अरूलाई भातपानी चलाएको ‘अपराध’ मा एक खसिनीलाई जातच्युत गर्दै गाउँनिकाला गरिएको थियो । त्यस्तै, कमिनीसँगको यौनसम्पर्कलाई लुकाएर अरूलाई भातपानी चलाइरहेको कसुरमा एक घर्तीमगरको लिंग छेदन गरेर सर्वस्वहरण गरिएको थियो ।

यसरी शूद्रहरूको ज्यानलाई जनावर र पशुपक्षीको ज्यान बराबर मात्रै महत्त्व दिने धर्मशास्त्र, संहिता र सूत्रका आधारमा शासन गर्दै आएको नेपाली राज्यका विचार र व्यवहार ‘तल्लो जात’ का मानिसको हकमा कति अमानवीय र अत्याचारी छन्, कल्पना गर्न कठिन छैन । विधिकर्ताहरूले सृष्टिकर्ताका खुट्टाबाट शूद्रहरू उत्पत्ति भएको कथा हाल्दै उनीहरूमाथि संगति, खानपान, विवाह र शिक्षा क्षेत्रमा अनेक सामाजिक अशक्तता वा अक्षमता आरोपित गरेपछि राज्यले कानुन बनाएर प्रजामाथि लादेको इतिहास छ । जातअनुसार तोकिएका पेसा र विवाह पद्धति उल्लंघनबाट वर्णसंकर (बिटुला) जात उत्पन्न होला भनेर भट्टाधिकरणदेखि धर्माधिकारको अंग बनाएर राज्यले संविधान नै लेखेर सयौं वर्षदेखि प्रजाको यौनिकतामाथि कडा नियन्त्रण जमाएको विगत छ ।

हिंसाचारी भीड

जयस्थिति मल्ल हुँदै जंगबहादुर राणा र नयाँ राजाहरूले संविधान नै बनाएर जब्बर र व्यापक बनाएको नियन्त्रण शूद्र वा अछुत वा तल्लो जातविरुद्ध मात्रै केन्द्रित छैन, आफूलाई माथिल्लो, छुत, शुद्ध–श्रेष्ठ ठान्ने वर्ण–जातका स्त्री–पुरुषविरुद्ध पनि लक्षित छ । लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि मात्रै, जातभातका नाममा हुने भेदभावलाई दण्डित गर्ने कानुन बनेयता मात्रै पनि नौ वर्षमा ज्यान गुमाउने दलितहरूको लामो सूची छ । यस्तो सूचीले हत्यामा संलग्न गैरदलितको नृशंसतालाई मात्रै पोखेको छैन, त्यस्ता हत्याकाण्ड हुँदा मौन र तटस्थ बस्ने वा झारा टार्ने खालको विरोध गर्ने उपल्लो जातका स्त्री–पुरुषको (अ)विवेकलाई पनि नराम्ररी उजागर गरेको छ । यसबीच हामीले देखाएका हत्या–हिंसा, नृशंसता र अविवेक सनातन धर्म–संस्कृतिको रक्षार्थ स्थापित राज्यबाट मात्रै नियन्त्रित वा निर्देशित छैनन्, परिवार र समाजबाट पनि अनुमोदित, स्वीकृत र व्यावहारिक रूपमा अनूदित दुष्कर्म पनि हुन् ।

कुनै बेला छुवाछुत, हेलाहोलो, गरिबीबाट मुक्तिका लागि, राजीखुसीले रोजेर जुनसुकै जातकासँग प्रेम र विवाह गर्ने हकका लागि दलितलाई बलिदान दिने रुकुम कसरी प्रेमविरोधी भयो ? चौरजहारीका जनता प्रेमको विरोधमा हिंसाचार गर्ने भीडमा कसरी फेरिए ? अन्तरजातीय प्रेम र प्रेमविवाहविरुद्ध घर, परिवार, समाज, राज्यले गरिरहेको संरचनागत हिंसालाई फेर्नुको साटो त्यसैलाई बलियो र व्यापक बनाउने हिंसाचारी भीड आकाशबाट झरेको होइन । अन्तरजातीय प्रेमका खातिर आएका किशोरहरूलाई कुटीकुटी मार्ने हदसम्मको शारीरिक हिंसाचार गर्दै संरचनागत हिंसालाई नै झाँगिने गरी मलजल गर्ने भीड खतरनाक देखिएको छ । यस्तै भीडबाट राष्ट्र, देश, धर्म, समुदाय, क्षेत्र वा कुनै पनि नाम र निहुँमा हिंसाचारी जमात जन्मिने हो । फासीवादी जमातले ढोका ढकढक्याइरहेको छ । यसलाई बेवास्ता गर्ने कि तटस्थ बस्ने कि प्रतिरोध गर्ने ?

ट्वीटर : @rmaharjan72

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×