काठमाडौँ — कोरोना भाइरसविरुद्ध आरडीटी परीक्षण प्रभावकारी नभएको भन्दै संसदीय समितिले पीसीआर विधिबाट गरिने परीक्षणमा वृद्धि गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शनिबार बसेको बैठकले आरडीटी विधिबाट हुने परीक्षणलाई न्यूनिकरण गर्दै पीसीआर विधिबाट गरिने परीक्षणमा वृद्धि गर्न निर्देशन दिएको हो । संसदीय समितिको निर्देशनमा भनिएको छ, 'कोभिड-१९ को परीक्षणका लागि आरडीटी विधि प्रभावकारी नदेखिएकाले गर्दा तत्काल सो विधिलाई न्यूनिकरण गर्दै पीसीआर विधिलाई व्यापक बनाउने ।'
आरडीटी परीक्षणबारे सांसदहरूले प्रश्न उठाएका थिए । यसअघि स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि आरडीटी विधिबाट हुने परीक्षणमा प्रश्न उठाउँदै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १ लाख ७ हजार ५५ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ भने ६६ हजार ७ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा एक हजार ४ सय १ जनामा कोरोना संक्रमण भेटिएको छ ।
आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरूमा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ भेटिएका उदाहरण प्रस्तुत गर्दै सांसदहरूले उक्त विधिबाट हुने परीक्षण रोक्नुपर्ने धारणा राखेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आरडीटी परीक्षण न्यून गरेर पीसीर परीक्षणलाई व्यापक बनाउन भनेको हो ।
त्यस्तै, भारतसँग सीमा जोडिएका जिल्ला सदरमुकाम र स्थानीय तहका क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पनि समितिले निर्देशन दिएको छ । 'नेपाल-भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टाइनहरूलाई अझै व्यवस्थित गर्न र पीसीआर परीक्षणको संख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्नू,' समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ ।
पछिल्लो समय भारतबाट स्वदेश आएका व्यक्तिहरूमा कोरोनाको संक्रमण व्यापक रूपमा देखिएको भन्दै सांसदहरूले समयमै सतर्कता अपनाउनुपर्ने बताएका थिए । कोरोनाका कारण स्थिति भयावह हुनु पहिला नै सरकारले त्यसविरुद्ध कदम चाल्नुपर्ने उनीहरूको भनाइ थियो ।
