कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुल्लु क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजिटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो 

ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

दुल्लु क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजिटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो 

‘रिपोर्ट पोजिटिभ आउनेबित्तिकै हामीले शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका छौं,’ उनले भने, ‘यसको लागि दैलेख जिल्ला प्रशासन कार्यालय र नगरपालिकासँग नियमित सम्पर्क भइरहेको छ ।’ ती व्यक्तिमा कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।


कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । दैलेख सदरमुकामबाट नेपाली सेनाको टोली शब व्यवस्थापनको लागि दुल्लुतर्फ हिँडिसकेको जानकारी आफूले पाएको मन्त्री रावलले बताए । ‘सरकार शव व्यवस्थापनको लागि निश्चित विधि र मापदण्ड बनाएको छ,’ उनले भने, ‘सोहीअनुसार भोलि (आइतबार) व्यवस्थापनको काम हुन्छ ।’

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

रिपोर्ट पोजिटिभ आएसँगै उक्त क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरु भने त्रसित भएका छन् । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा अहिले ७९ जना बसिरहेका छन् । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार मृतक व्यक्तिसँग अन्य तीनजना व्यक्ति एउटै ओछ्यानमा सुत्ने गर्थे । ‘रिपोर्ट पोजिटिभ देखिएपछि ती व्यक्तिको कारण पनि त्रास छाएको छ,’ उनले भने, ‘तैपनि हामीले भित्रको माहोल सामान्य बनाउने प्रयास गरिरहेका छौं ।’

दुल्लु अस्पतालकी डा. पूजा बिसीले कोरोना संक्रमण देखिए पनि तत्कालीक अवस्थामा उनमा हृदयघातको लक्षण देखिएको बताइन् । आइसोलेसनमा लगेर उपचार गर्ने तयारी गर्दागर्दै उनको मृत्यु भएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?