कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘आरडीटी किटले संक्रमण विस्तारमा झन् सघाउँछ’

आरडीटी किटबाट ‘फल्स पोजिटिभ’ र ‘नेगेटिभ’ नतिजा बढी आउने र हाल कोरोना संक्रमण समुदायमा व्यापक फैलिएकाले पीसीआर परीक्षणको दायरा बढाउन विज्ञहरूले जोड दिएका छन् ।
अतुल मिश्र

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) निदानका लागि द्रुत परीक्षण किट (आरडीटी) को सट्टा विज्ञहरूले पीसीआर परीक्षणलाई नै व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् । आरडीटी किट प्रयोग गर्दा ‘फल्स पोजिटिभ’ र ‘नेगेटिभ’ नतिजा बढी आउने बताउँदै उनीहरूले कोरोना संक्रमण समुदायमा व्यापक फैलिएकाले पीसीआर परीक्षणको दायरा बढाउन भनेका हुन् ।

‘आरडीटी किटले संक्रमण विस्तारमा झन् सघाउँछ’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत कोभिड–१९ परीक्षणमा आरडीटीको सट्टा पीसीआर परीक्षण नै उपयुक्त रहेको जनाउँदै आएको छ । सरकारले आइतबार निजी तथा सामुदायिक अस्पताललाई आरडीटी किटबाट परीक्षण गर्न निर्देशिका जारी गरेपछि विज्ञहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडीटी परीक्षण गर्ने अनुमति लिन दर्ता भएका अस्पतालले स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने बताए । उनका अनुसार निजी स्वास्थ्य संस्थाले सरकारबाट सूचीकृत आरडीटी मात्र प्रयोग गर्नुपर्ने र परीक्षणका लागि खरिद मूल्यको २० प्रतिशतभन्दा बढी शुल्क लिन नमिल्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले हाल ७ वटा चीनमा बनेका र एक/एकवटा अमेरिका र क्यानडामा बनेका आरडीटी किटलाई प्रयोगमा ल्याउन भ्यालिडेट (प्रमाणित) गरेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्र बताउँछन् । ती सबै किट ‘आईजीजी’ र‘आईजीएम’ मा आधारित हुन् । यी किटको प्रमाणित गर्दा नेपालका कोभिड–१९ संक्रमितको रगतको नमुना परीक्षण गरेर गरिएको भने होइन । किट उत्पादक कम्पनीको दाबीका आधारमा यसको सेन्सिटिभिटी (संवेदनशीलता) र स्पेसिफिसिटी (विशिष्टता) कागजमा हेरेर मान्यता दिइएको उनको भनाइ छ ।

‘आरडीटीबाट फल्स पोजिटिभ र नेगेटिभ नतिजा बढी आउने भएकाले नेपालको परिवेशमा निजी, सामुदायिक अस्पतालले निदान प्रयोजनका लागि द्रुत किट प्रयोग गरे यसले संक्रमण विस्तारमा झन् सघाउँछ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको अन्तरिम निर्देशिकामा र्‍यापिड एन्टिबडी परीक्षण पोजिटिभ देखिएमा मात्र पीसीआर परीक्षणका लागि रेफर गर्ने भनिएको छ तर नेगेटिभ देखिए के गर्ने भन्नेबारे केही उल्लेख छैन ।’ आरडीटीबाट नेगेटिभ देखिएकाहरूमा यदि फल्स नेगेटिभ भएमा ती व्यक्तिले अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायत आफ्नो निकट सम्पर्कमा रहेकाहरूलाई सजिलै कोरोना सार्न सक्छन् । यसले कोभिड महामारीको व्यवस्थापन झन् जटिल हुने उनको भनाइ छ । डा. बीसी भन्छन्, ‘आरडीटीभन्दा पनि पीसीआर परीक्षण गर्न सक्ने निजी, सामुदायिक स्वास्थ्य संस्थालाई मात्रै परीक्षणको अनुमति दिनु उचित हुन्छ ।’

डब्लूएचओले आरडीटी परीक्षण सामान्यतया रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) पत्ता लगाउने परीक्षण मात्र भएको बताएको छ । यसले कोभिड–१९ भाइरस रहे–नरहेको यकिन गर्न सक्दैन । ‘कोभिड–१९ संक्रमण र रोग प्रतिरोधक क्षमताबारे हामीले अहिलेसम्म पूर्णरूपमा बुझ्न सकेका छैनौं,’ डा. बीसी भन्छन्, ‘एन्टिबडी विकास गरेको हुनाले कोही व्यक्ति पूर्णरूपमा कोभिड–१९ बाट सुरक्षित छन् वा कहिलेसम्म त्यो प्रतिरोधक क्षमता रहन्छ, यसका लागि विश्वभर व्यापक सेरोलजिकल अनुसन्धान भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले सोमबारसम्म आरडीटीका माध्यमले परीक्षण गरिएको ६९ हजार ५ सय ६० नमुनाको कति नतिजा पोजिटिभ र नेगेटिभ रहेकोबारे स्पष्ट आँकडा दिन नसक्नुले पनि उक्त परीक्षण विधि उपयुक्त नहुने प्रमाणित भएको उनी औंल्याउँछन् । ‘नेपाल र चिनियाँ विशेषज्ञबीच हालै भएको उपचार अनुभव साझा गर्ने भर्चुअल कार्यक्रममा नेपाली विज्ञले आरडीटीको उपयोगबारे सोध्दा चिनियाँ विज्ञले स्पष्ट शब्दमा समुदायमा रोग पहिचान गर्न आफूहरूले आरडीटी किटको उपयोग नगरेको बताएका थिए,’ डा. बीसीले भने ।

सामान्यतया पीसीआर परीक्षणबाट रिपोर्ट पोजिटिभ देखिएका बिरामीहरूलाई अस्पताल भर्ना भएपछि रोग प्रतिरोधक क्षमता विकास भए–नभएको हेर्नका लागि तथा धेरै बिरामी भएको समुदायमा कोभिड–१९ को असरको मात्रा जाँच्नका लागि आरडीटी किट प्रयोग गरिएको पाइन्छ । बाँकेमा सोमबार एकैसाथ ४७ जना नयाँ संक्रमितको पहिचान भएको विषयलाई चिकित्सकहरूले आरडीटीको प्रयोगले उत्पन्न समस्या र संकटको संज्ञा दिएका छन् ।

‘नेपालगन्जमा भारतबाट आउने नेपाली मजदुरलाई आरडीटी परीक्षण नेगेटिभ आउँदा घर पठाइयो, अनि एक/दुई दिनपछि पीसीआर गर्दा उनमा कोरोना पोजिटिभ देखियो । यसले थप समस्या र संकट उत्पन्न गर्छ,’ वीरगन्जस्थित नारायणी अस्पतालका डा. नीरज सिंहले कान्तिपुरसँग भने ।

उनले पश्चिम नेपालका चिकित्सकहरूले आरडीटीका कारण रिपोर्ट फल्स नेगेटिभ आएर फसिरहेकाले यस समस्याबारे बोलिदिन आग्रह गरेको सुनाए । ‘आरडीटी उपयोगहीन छ, यसले भ्रम उत्पन्न गर्छ । विश्वका विभिन्न मुलुकले यसलाई हटाइरहेका छन् । हामीकहाँ व्यापारीको दबाबमा यो झन् विस्तार गर्न थालिएको छ,’ उनले भने ।

आरडीटी किटको उपयोग सर्भिलेन्स (निगरानी) र अनुसन्धानमा मात्रै गर्न सकिने जनाउँछन् सूक्ष्म जीव विज्ञानका प्रा.डा. प्रकाश घिमिरे । भन्छन्, ‘डाग्नोस्टिक (रोग परीक्षण) उद्देश्यका लागि पीसीआर नै गर्नुपर्छ, हालसम्म डब्लूएचओले समेत यही गर्न भनेको छ ।’ कोभिडका बिरामी बढी संक्रामक हुने समय अर्थात् पहिलो दिनदेखि एक सातासम्म आरडीटीले रोग पहिचान गर्न नसक्ने जनाउँदै उनले हालसम्म आरडीटीको संवेदनशीलता (संक्रमण पहिचान गर्ने क्षमता) धेरै कम रहेको दाबी गरे । ‘आरडीटीबाट रिपोर्ट पोजिटिभ आउँदैमा डराउनुपर्ने केही पनि छैन, नेगेटिभ आएर पनि उत्सव मनाउनुपर्ने केही देखिँदैन,’ डा. घिमिरेले भने ।

त्रिवि शिक्षण अस्पतालको बायोकेमिस्ट्री विभागका डा. विनोदकुमार यादवसमेत आरडीटी परीक्षण रोग पहिचान गर्नका लागि नरहेको बताउँछन् । ‘उपभोक्ताले निजी क्षेत्रबाट आफूलाई कोरोना संक्रमण रहे वा नरहेको शतप्रतिशत जान्न पैसा तिरेर आरडीटी परीक्षण गर्नेछन्,’ डा. यादव भन्छन्, ‘तर यसले रोग पहिचान नै नगर्ने हुँदा निजी क्षेत्रलाई परीक्षण गर्न दिनु विवादास्पद निर्णय भयो ।’

प्रकाशित : जेष्ठ ६, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?