थपिए ८० संक्रमित : एउटै गाउँपालिकाको क्वारेन्टाइनका ५९

नरैनापुरमा मात्रै संक्रमित ६८, बाँकेमा संक्रमित संख्या ९३

नेपालगन्ज — कोभिड–१९ का संक्रमित सोमबार ८० जना थपिएका छन् । तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्रै ५९ जना छन् । मुलुकभरमा अहिलेसम्म संक्रमण पुष्टि भएका ३ सय ७५ जनामध्ये २ जनाको मृत्यु भइसकेको छ । नरैनापुरमा सोमबार संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरू हुन् । यसअघि यो गाउँपालिकामा क्वारेन्टाइनमै बसेका ९ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १ जनाको आइतबार बिहान मृत्यु भएको थियो ।

थपिए ८० संक्रमित : एउटै गाउँपालिकाको क्वारेन्टाइनका ५९

संक्रमित धेरै देखिन थालेपछि नरैनापुर गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दै सोमबारदेखि सिल गरिएको छ । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनबाट शनिबार संकलित १ सय ९२ जनाको थ्रोट स्वाब भेरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा सोमबार ५९ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रमितको संख्या ९३ पुगेको छ ।

गाउँपालिकाका संक्रमित र मृत्यु भएका युवक कोभिड–१९ महामारीपछि भारतका विभिन्न सहरबाट फर्किएकाहरू हुन् । उनीहरूलाई गत वैशाख ३० मा सीमाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो । धेरै जना सीमामा अलपत्र परेपछि स्थानीय विद्यालयलाई क्वारेन्टाइन बनाइएको थियो ।

चिकित्सकले एउटै स्थानीय तहमा धेरै जनामा संक्रमण देखिएपछि अवस्था भयावह बन्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यहाँ समुदायमा संक्रमण फैलिएको घोषणा गरेको छैन । तर बाँकेमा कोभिड–१९ संंक्रमण समुदायमा फैलिएको छ । ‘कम्युनिटी ट्रान्समिसनको घोषणा डब्लूएचओले गर्ने हो,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे भने, ‘तर यहाँ समुदायमा संक्रमण भइसकेको देखिन्छ । अझै भयावह अवस्था आउन बाँकी छ ।’

डा. पाण्डेले क्वारेन्टाइन व्यवस्थित नभएकाले संक्रमण व्यापक भएको बताए । भारतबाट घर फर्किनेहरूको संख्या थपिँदै गएपछि गाउँपालिकालाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । अहिले नरैनापुरमा १३ वटा क्वारेन्टाइन स्थल छन् । तिनमा भारतबाट फर्किएका ७ सय १८ जना छन् । ‘क्वारेन्टाइन व्यवस्थित गरिएको भए यस्तो भयावह अवस्था आउने थिएन । हामीसँग व्यवस्थित क्वारेन्टाइन बनाउन प्रशस्त समय थियो । तर त्यसो हुन सकेन,’ डा. पाण्डेले भने, ‘क्वारेन्टाइन व्यवस्थित गर्न सक्ने हो भने कोरोनासँग अझै पनि लड्न सहज हुन्छ ।’

क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्ड ०७६ अनुसार १ सय जना राखिएको क्वारेन्टाइनका लागि एमडी/एमपीएच कम्युनिटी मेडिसियन, मेडिकल अधिकृत, स्टाफ नर्स, स्वास्थ्य परिचारिका, प्यारामेडिक्स, ल्याब, फार्मसिस्ट, चौबिसै घण्टा एम्बुलेन्स र त्यसका लागि तालिमप्राप्त प्यारामेडिक्स, चालक, सफाइ सुपरीवेक्षक र ५ जना सफाइ कर्मचारी चाहिन्छ । तर जिल्लाका क्वारेन्टाइन मापदण्डअनुसारका छैनन् ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले उनीहरूलाई आइसोलेसनमा राखेर उपचार गर्ने ठाउँकै अभाव देखिएको बताए । ‘स्वास्थ्यकर्मीको चुस्त व्यवस्था गाउँपालिकाको स्वास्थ्य शाखाले गर्नुपर्ने हो,’ उनले भने, ‘नरैनापुरको हकमा त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसनका रूपमा प्रयोग गर्न सकिक्छ ।’

डा. थापाले संख्या बढ्दै गएकाले उचित सुरक्षा दिन सक्ने कि नसक्ने भन्ने विषय चुनौतीपूर्ण भएको बताए । ‘तत्काल परीक्षण बढाएर संक्रमित र अन्यलाई छुट्याएर राख्नुपर्छ,’ उनले भने, ‘बिरामी भए तुरुन्तै अस्पतालसम्म ल्याउने पूर्वाधार तयार पार्नुपर्छ ।’ नरैनापुर नेपालगन्जबाट ३५ किलोमिटर टाढा रहेको छ ।

स्थानीयका अनुसार भारतबाट आएका व्यक्ति क्वारेन्टाइनमा बसे पनि समुदायको सम्पर्कमा रहेकाले चिन्ता बढेको छ । भारतबाट आएकाको झोलालगायतका सामग्री परिवारले घर लगिसकेका छन् । त्यसरी ल्याएका सामान सेनिटाइजिङ गरिएको छैन । परिवारका सदस्य खाना र खाजा लिएर दिनहुँ क्वारेन्टाइन पुग्छन् । जसले गर्दा समुदायमा संक्रमण पुग्ने चिन्ता बढेको छ । नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भने, ‘यहाँको अवस्था भयावह छ । महामारीको काम गरेको अनुभव छैन । सबै चिन्तामा छन् ।’

सीमाबाट मान्छे आउने क्रम अझै नरोकिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘नरैनापुर कोरोना संक्रमणको रेड जोन भएकाले त्यहाँको व्यवस्थापनबारे छलफल गरिरहेका छौं,’ उनले भने, ‘सीमामा आएकालाई अहिले उद्धार गर्ने अवस्था छैन ।’

परिवार शोकमा

मृत्यु भएपछि दु:ख परेको घरमा आफन्त र छिमेकी पुग्छन् । तर कोभिड–१९ बाट मृत्यु भएका यहाँका २५ वर्षीय युवकको घरमा कोही पुगेका छैनन् । जनप्रतिनिधि र प्रशासनिक व्यक्ति परिवारका सदस्यसित टाढाबाटै कुराकानी गरेर फर्किएका छन् । गाउँका सर्वसाधारण घरबाट निस्किएका छैनन् ।

नरैनापुर–५ स्थित घरमा युवकका बुबा–आमा, पत्नी र छोराछोरी उनलाई सम्झिँदै रोइरहेका छन् । घरको आर्थिक अवस्था कमजोर रहेकाले ती युवक मजदुरी गर्न भारत गएका थिए । ६ महिना मुम्बई बसेर उनी वैशाख ३० गते सीमामा आएका थिए । ३१ वैशाखबाट क्वारेन्टाइमा बस्न थाले । छोरो आएको थाहा पाएर बुबाआमा भेट्न पुगेका थिए । १४ दिन बस्नुपर्ने भएकाले परिवारले पनि अनुरोध गरे । ती युवकले शनिबार खाना खाएर सुत्ने बेला राति १० बजे पत्नीलाई फोन गरेका थिए । उनले ‘खाना खाएर सुत्न लागेको छु’ भनेका थिए । आइतबार ४ बजे क्वारेन्टाइनबाट कसैले घरमा ‘उनको अवस्था ठीक छैन, झाडाबान्ता भइरहेको छ’ भनेर फोन गरेका थिए । ‘४ बजे बिमारी भएको मान्छेलाई ६ बजेसम्म उपचार गरिएन,’ युवककी श्रीमतीले भनिन् । स्थानीयले २५ वर्षीय ती युवकको मृत्यु उपचार नपाएर भएको आरोप लगाउँदै आएका छन् ।

युवकको मृत्यु भएपछि नरैनापुरको भोज भगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका ३८ जनालाई जय किसान माविको क्वारेन्टाइनमा सारिएको छ । ‘जय किसान माविमा यसअघि नै ६० जना थिए । दीपेन्द्र प्राविबाट आएकालाई टेन्टमा राखिएको छ,’ नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइद खानले भने ।

कपिलवस्तु १५ दिन सिल

कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासनले आगामी जेठ २० गतेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो । यसअघि संक्रमित बढेसँगै गत वैशाख २९ गतेदेखि सोमबारसम्म जिल्ला सिल गरिएको थियो । तरकारी, खाद्यान्न र अति आवश्यक सामान खरिद गर्ने समय पनि छोट्याइएको छ । अब सोमबार, बुधबार र शनिबार बिहान ७ देखि ९ बजेमात्र किनमेलको समय तोकिएको छ । यसअघि प्रत्येक दिन बिहान दुई घण्टाको समय तोकिएको थियो । जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन र मानिसको आवतजावतमा रोक लगाइएको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र निर्माणसँग सम्बन्धित सबै काम जेठ ५ गते राति १२ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मलाई रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) क र संक्रामक रोग ऐन, २०२० दफा २ (१) बमोजिम जिल्लामा यस्ता कामकाजमा पूर्ण रूपमा रोक लगाइएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई पनि जिल्लाभित्र मान्छे ओराल्न र चढाउन बन्देज लगाइएको उनले बताए । जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा सोमबारसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?