कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको दौडमा को-को छन् ?
काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप र औषधि निर्माणमा विश्वका विभिन्न देशका वैज्ञानिकहरु रातदिन खटिरहेका छन् । आधा करोडभन्दा बढी संक्रमित र ३ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको अवस्थामा हालसम्म एक सयभन्दा बढी कोरोना भाइरसविरुद्धका खोपहरु पाइपलाइनमा रहेका छन्
त्यसमध्ये एक दर्जनजति खोपहरु मानिसमा परीक्षण गरिएका छन् तर कुन खोपले कोभिडलाई निर्मूल पार्न सकिन्छ त्यो यकिन भइसकेको छैन ।
बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् भने अरु औषधि कम्पनीले पनि ट्रायल गरिरहेका छन् ।
गाभी भ्याक्सिन अलायन्सले यही शरद ऋतुसम्म कोरोना भाइरसविरुद्धको खोपहरु उपलब्ध हुने बताएको छ । गाभीका प्रमुख सेथ बर्कलले कुन भ्याक्सिनले काम गर्छ भन्ने थाहा नभइसके पनि प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनी भन्छन्, ‘खोपको विकासका लागि हरेक देशले आफूले गरेको उपलब्धिका बारेमा एक अर्कालाई जानकारी गराउनुपर्छ ।’ उनले विश्व स्वास्थ्य संगठनलाई खोपको प्रयोग र वितरणसम्बन्धी स्पष्ट गाइलाडन बनाउन आग्रह गरेका छन् ताकि आवश्यकता भएका व्यक्तिलाई छिटो पुगोस् ।
विश्व स्वास्थ्य संगठनले सूचीमा राखेको मानवमा परीक्षण गरिएका केही कोरोनाविरुद्धका खोपहरु
- नन रेप्लिकेटिङ भाइरल भेक्टर भ्याक्सिन –क्यान्सिनो, (चीन)
- आरएनए भ्याक्सिन – मोर्डना, अमेरिका)
- इनएक्टिभेटेड भ्याक्सिन –वुहान इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टस्(चीन)
- इनएक्टिभेटेड भ्याक्सिन – बेइजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्ट्स (चीन)
- इनएक्टिभेटेड भ्याक्सिन –सिनोभ्याक(चीन)
- नन रेप्लिकेटिङ भाइरल भेक्टर भ्याक्सिन – अक्सफोर्ड युनिभर्सिटी र आस्टराजेनेका –बेलायत)
- प्रोटिन सबयुनिट भ्याक्सिन – नोभाभ्याक्स( अमेरिका)
- आरएनए भ्याक्सिन –बायो एन टेक र पिफिजर(जर्मनी र अमेरिका)
- डीएनए भ्याक्सिन –इनभियो अमेरिका)
अमेरिकन बायोटेक कम्पनी मोर्डनाको खोप कोरोनाविरुद्ध मानवमा परीक्षण हुने पहिलो खोप हो । दुई महिनाअघि पहिलो ट्रायलमा ४५ जना स्वास्थ व्यक्तिमा परीक्षण गरिएको थियो । उक्त खोप सुरक्षित रुपमा कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको कम्पनीले दाबी गरेका छन् ।
उक्त खोपमा वास्तविक कोरोना भाइरसको कुनै मात्रा नरहेको तर भाइरसबाटै लिइएका हानी नहुने खालका जेनेटिक कोड भने हुने बताइएको छ ।
पहिलो चरणमा बिरामीको कोषलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक पर्ने प्रोटिन उत्पादनका लागि सक्रिय बनाउने वैज्ञानिकको योजना छ । खोपले काम गरेको छ कि छैन भन्नको लागि अरु खोपका दाबेदार जस्तै मोर्डनाको खोपले पनि फेज २ का साथै फेज ३ को क्लिनिकल ट्रायल पनि गर्नुपर्ने हुन्छ ।
त्यसैगरी अरु दुई वटा जेनेटिक खोपहरु मानवमा परीक्षण भएका छन् । एक अमेरिकन बायोटेक कम्पनी इनभायोले आविष्कार गरेको हो भने अर्को फर्मास्युटिकल जायन्ट फाइजर र जर्मन कम्पनी बायोएन टेकले संयुक्त रुपमा निर्माण गरेका हुन् । इनभायोले पहिलो फेजकोे ट्रायलमा ४० जनामा परीक्षण गरेको छ जसको परिणाम जुनमा आउने बताइएको छ ।
कोरोनाविरुद्धको खोप सफल भएको दाबी
त्यसैगरी फाइजरले भने आफूले निर्माण गरेको आरएनए खोप अमेरिकामा पहिलो र दोस्रो फेजको ट्रायलका लागि ३६० स्वयंसेवकहरुका लागि पठाएको बताएको छ । यदि यो खोप सुरक्षित र लाभदायक रह्यो भने यो वर्षको अन्तिमसम्म अमेरिकामा खोप वितरण गर्ने कम्पनीले जनाएको छ ।
आरएमआइर्टी युनिभर्सिर्टीका भाइस चान्सलरका रिसर्च फेलोको रुपमा रहेका काइली क्वीनका अनुसार जनेटिक भ्याक्सिनहरु सामान्यतया सजिलो र उत्पादनका लागि कम खर्चिलो हुने गर्छन् ।
अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण अप्रिल २३ मा करिब एक हजार जनामा पहिलो चरणको परीक्षण गरेको थियो । त्यसका साथै विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।
अध्ययनकर्ताका अनुसार मे महिनाको अन्तिमसम्म यो खोप ६ हजारभन्दा बढी मानिसमा परीक्षण गरिनेछ । यदि यी परीक्षण सफल भए भने सेप्टेम्बरसम्म लाखौँ डोज उत्पादन गर्न सकिनेछ । विज्ञहरुले यो खोपको परीक्षणले राम्रो संकेत दिएको बताएका छन् ।
त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो । यी दुवै भाइरल भेक्टर भ्याक्सिनहरु हुन् ।
त्यसैगरी इनएक्टिभेटेड भ्याक्सिनहरु पनि निर्माण भएका छन् । यो खोप पुरानो प्रविधिको भ्याक्सिन हो यसमा भाइरस हुन्छ जसलाई अल्ट्राभ्वाइलेट लाइट र केमिकलले मार्छ ।
त्यसैगरी प्रोटिन भ्याक्सिनरु पनि उत्पादन भएका छन् र सबै खोपका आफ्ना आफ्ना विशेषता तथा बेफाइदा रहेका छन् । कुनै पनि भ्याक्सिन शतप्रतिशत लाभदायक हुन नसक्ने वैज्ञानिक हरु बताउँछन् ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहेका बेला यसविरुद्धको खोप निर्माणको दौडमा रहेका देशहरु सहकार्य गरेर अघि बढेमा छिटो सफलता हात पर्ने सम्भावना रहेको छ ।
-एजेन्सीहरुको सहयोगमा
प्रकाशित : जेष्ठ १३, २०७७ १२:२३