२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एक महिनामा झन्डै ५० हजार भित्रिए

सीमाका विभिन्न नाकाबाट शनिबार मात्रै १३ हजार ३ सय जना स्वदेश आएका छन् ।

काठमाडौँ, कञ्‍चनपुर, कैलाली — सीमावर्ती भारतीय नाकाहरूबाट स्वदेश छिर्ने नेपालीको संख्यामा उल्लेख वृद्धि भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार गत ५ देखि १० गतेसम्म सरकारी समन्वयमा मात्रै ३४ हजार ९ सय ३९ नेपाली स्वदेश भित्रिएका छन् । वैशाख १२ देखि जेठ १० गतेसम्म सरकारी समन्वयमा ४८ हजार ३ सय ९८ जना स्वदेश छिरेका छन् ।

एक महिनामा झन्डै ५० हजार भित्रिए

अवैध रूपमा लुकीछिपी छिर्नेलाई पनि जोड्दा यो संख्या ५० हजार हाराहारी पुग्ने देखिन्छ । लकडाउनको अवधि लम्बिँदै गर्दा र पछिल्ला दिन सरकारले नै समन्वय गरेर स्वदेश छिराउने काम सुरु भएपछि सीमावारि आउनेको संख्या बढ्दै गएको हो । गत बिहीबार ६ हजार ८२ जना, शुक्रबार ४ हजार ३ सय ४५ जना स्वदेश भित्रिएकामा शनिबार यो संख्या बढेर १३ हजार ३ सय ५ पुगेको छ । आइतबार र सोमबार कति नेपाली छिरे भन्ने तथ्यांक अद्यावधिक भइसकेको छैन ।

गत ५ गतेबाट विभिन्न सीमा नाकाबाट सरकारी समन्वयमा नेपालीहरू भित्रिन थालेपछि यस्तो क्रमले ७ गते अर्थात् बिहीबारयता तीव्रता पाएको छ । ५ देखि १० गतेसम्म विभिन्न नाका भएर स्वदेश छिरेकाको तथ्यांक केलाउँदा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका नाकाबाट छिर्नेको संख्या सबैभन्दा धेरै छ । यो अवधिमा बाँकेका नाका हुँदै १० हजार ७ सय ४० नेपाली स्वदेश आएका छन् । यही अवधिमा ८ हजार २ सय ३३ जना कैलाली, ३ हजार ९ सय ५३ जना कपिलवस्तु, १ हजार ९ सय ३२ जना कञ्चनपुर र १ हजार ९ सय ५२ झापाका विभिन्न नाका भएर स्वदेश छिरेका छन् ।

बिहीबार, शुक्रबार र शनिबारका तीन दिनमा बाँकेका नाकाबाट ७ हजार ५ सय ६३, कैलालीका नाकाबाट ७ हजार ३ सय ५७ र कपिलवस्तुका नाकाबाट ३ हजार १ सय ३६ नेपाल प्रवेश गरेका छन् । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका नाकाहरूमा स्वदेश भित्रिनेको चाप बढ्दा क्वारेन्टाइनमा राख्न र स्वास्थ्य परीक्षण गर्न कठिनाइ भइरहेको छ ।

५ देखि १० गतेसम्म ६ दिनको तथ्यांक केलाउँदा सबैभन्दा धेरै नेपाली प्रदेश ५ का विभिन्न नाका हुँदै स्वदेश छिरेको देखिन्छ । प्रदेश ५ का बाँके, बर्दिया, कपिलवस्तु, दाङ, रूपन्देही र पश्चिम नवलपरासी हँुदै १६ हजार ८ सय २३ जना स्वदेश छिरेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुलाका नाका हुँदै १० हजार ४ सय ८४ जना भित्रिएका छन् । प्रदेश २ का आठै जिल्लाका विभिन्न नाका भएर ५ हजार ५ सय २७ जना स्वदेश छिरेका छन् भने प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका नाका भएर २ हजार १ सय ५ जना आएका छन् ।

गृह स्रोतका अनुसार सोमबार मात्रै रूपन्देही र कपिलवस्तुपारि करिब एक हजारको हाराहारीमा नेपाली स्वदेश छिर्न भनेर बसेका छन् । त्यस्तै अन्य ८ सय ४५ विभिन्न जिल्लाको सीमावर्ती नाकामा जम्मा भइसकेका छन् । सुरक्षा स्रोतले यस्तो संख्या प्रत्येक दिन केही हजारको दरले बढ्न सक्ने र आगामी केही दिन दसौं हजार नेपाली स्वदेश छिर्ने आकलन गरेको छ ।

गड्डाचौकी र गौरीफन्टाबाट ३ हजार

लुकीछिपी भित्रिएकाहरूबाट जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकाबाट प्रवेश सहज बनाएको छ । सीमावर्ती भारतीय क्षेत्रमा पुगेका र लामो समयदेखि क्वारेन्टाइनमा बसेकाहरूलाई प्रशासनकै पहलमा भित्र्याउन थालिएको छ ।

सोमबार मात्रै दशगजामा आइपुगेका तीन हजार जनाभन्दा बढी भित्रिएका छन् । सोमबार १२ देखि ६ बजेसम्म नाका खुला गरेर नेपालीलाई भित्र्याइएको हो । उनीहरूलाई नाकामै स्वास्थ्य जाँच गरेर सम्बन्धित जिल्लातर्फ पठाइएको छ । भारतीय सवारी साधनबाट दशगजासम्म पुर्‍याइएका उनीहरूलाई पालैपालो नेपाल भित्र्याएर सामान्य स्वास्थ्य परीक्षणपछि गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयको प्रांगणमा जम्मा पारेर सम्बन्धित स्थानीय तहतर्फ पठाइएको हो ।

कैलालीको गौरीफन्टा नाकाबाट सोमबार भित्रिएका नेपाली । तस्बिर : मोहन बुढाऐर

दोधारा–चाँदनी र ब्रह्मदेव नाकाबाट लुकीछिपी आएकामध्ये केहीलाई आरडीटी र केहीलाई पीसीआर परीक्षण गरेर छाडिए पनि यहाँबाट भने सबैजसोलाई ज्वरो नापेकै भरमा भित्र्याइएको छ । भारतको नैनीताल, अल्मोडा, ऋषिकेश, बद्रीकेदार, दिल्ली र हरियाणालगायतका क्षेत्रबाट कैयौं दिन पैदल हिँडेर आएकाहरू स्वदेशको भूमि टेक्दा निकै थकित मुद्रामा देखिन्थे । पिठ्युँमा कपडा र अन्य सामानका भारी बोकेका उनीहरू जेठको प्रचण्ड गर्मीमा पसिना चुहाउँदै हिँडिरहेका थिए । लामो यात्राको थकान, भोक र भारतीय सुरक्षाकर्मीको दुव्र्यवहारका कारण कतिपय आफ्नो देशमा फर्किन पाउँदा निकै खुसी देखिन्थे ।

‘दुई महिनादेखि लकडाउन छ, बाहिर पुलिसले डन्डा बर्साउँछ, भित्र खानाका लागि केही थिएन । जे परे पर्ला भनेर घर आएँ,’ सोमबार गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका कालीकोटका ५५ वर्षीय नन्दराम जैसीले भने । नैनीतालबाट ६ दिन हिँडेर वनबासा आइपुगेको उनले बताए ।

दशगजामा करिब १५ सय नेपाली पुगेका छन् । आउने क्रम जारी छ । लकडाउनसँगै नाका बन्द भएपछि महाकाली तरेर र अवैध नाकाबाट लुकीछिपी आउने क्रम बढेका कारण वैध नाकाबाटै भित्र्याउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । ‘नाकाबाट व्यवस्थित रूपमा भित्र्याउँदा जोखिम कम हुन्छ,’ उनले भने । गृह मन्त्रालयले अनुमति दिएपछि यो नाका केही दिनका लागि खुला गरिएको उनले बताए । उनका अनुसार मंगलबारदेखि बिहान ८ देखि १० तथा साँझ ५ देखि ७ बजेसम्म दुईपटक नाका खुला गरिनेछ ।

दशगजामा पुगेका नेपालीहरूलाई व्यवस्थापनका लागि तीन समूहमा बाँडिएको छ । सुदूरपश्चिम प्रदेश बाहिरकालाई सुरुमा भित्र्याएर खाना खुवाएर सिधै सम्बन्धित जिल्लातर्फ पठाइँदै छ । त्यसपछि सुदूरपश्चिम प्रदेशका पनि कैलाली र कञ्चनपुरबाहेकका जिल्लाका बासिन्दालाई पनि सम्बन्धित जिल्लातर्फ पठाइएको छ । अन्तिममा कैलाली र कञ्चनपुरका बासिन्दालाई भित्र्याएर सम्बन्धित स्थानीय तहमा पठाइने प्रजिअ खतिवडाले बताए ।

त्यसैगरी कैलालीको गौरीफन्टा नाका भएर भित्रिनेको ओइरो सोमबार पनि रोकिएको छैन । कैलाली जिल्ला प्रशासनले सोमबार २ हजार २२७ जना गौरीफन्टा नाकाबाट भित्रिएको जनाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘भारतका विभिन्न सहरबाट बस बुकिङ गरेर गौरीफन्टा नाकासम्म प्रत्येक दिन दुई/अढाई हजारको संख्यामा नेपाली आइरहेका छन् ।’ उनका अनुसार बुधबारयता दुई हजारदेखि तीन हजारसम्म नेपाली नाकामा आइरहेका छन् । जेठ २ गतेदेखि हालसम्म साढे १२ हजारभन्दा बढी नेपाली यो नाकाबाट भित्रिएका छन् ।

उनले सीमा नाकामा आइपुगेका नेपालीलाई प्रदेश र स्थानीय तहको समन्वयमा सम्बन्धित जिल्लामा पठाउने गरेको बताए । नाकामा थोरैको मात्रै आरडीटी परीक्षण गरिएको छ । बुधबार र बिहीबार ७ सय ७५ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पाँचै जनाको सेती अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित पाँचै जनालाई गौरीफन्टा नाकामा आइपुगेको अढाई हजारको भीडबाट उद्धार गरिएको थियो । बैतडीका चार जनाको शनिबार र अछाम मेल्लेखका ३२ वर्षीय युवकको रिपोर्ट आइतबार आएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?