१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सीमाका क्वारेन्टाइन ‘भद्रगोल’

घरबाट खाना पुर्‍याउँदा परिवारै जोखिममा

कपिलवस्तु, रुपन्देही — चार दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिकाअन्तर्गत कृषि शाखाका नायब सुब्बा कोभिड–१९ संक्रमित भएको पुष्टि भयो । उनीसँगै नगरपालिकाका सफाइ कर्मचारी र चार सुरक्षाकर्मीमा पनि संक्रमण देखियो । त्यसपछि स्वास्थ्यकर्मीले संक्रमणको कारण खोज्न थाले ।

सीमाका क्वारेन्टाइन ‘भद्रगोल’

त्यसक्रममा नगरपालिकाका नायब सुब्बा स्थानीय महेन्द्र मावि क्वारेन्टाइनमा बसिरहेका भाइलाई खाना पुर्‍याउन जाने गरेको खुल्यो । उनका भाइ भारतबाट आएका थिए । भाइसँगै मुम्बईबाट आएका साथी पनि संक्रमित पाइए ।

यशोधरा गाउँपालिका–४, पकरभिटवाका सकुल मुसलमान अहिले तनावमा छन् । उनका छिमेकी १९ वर्षीय युवामा कोरोना संक्रमण देखियो । त्यसपछि परिवारलाई कसरी संक्रमणबाट जोगाउने भन्ने चिन्तामा छन् । ‘गरिब छौं, साबुन किन्न गाह्रो छ,’ उनले भने, ‘अनि पटकपटक हात कसरी धुने ?’ संक्रमित युवाका बाबुछोरा मुम्बईबाट आएर क्वारेन्टाइनमा गएको उनले बताए । तर, उनीहरूले सरसामान, कोसेली र लत्ताकपडा घर पठाएका थिए । संक्रमितका सामान घरमा ल्याएपछि आफ्ना बच्चाहरू पनि उक्त घरमा गएकाले सकुल चिन्तित बनेका हुन् । उनीजस्तै पकरभिटवामा हनुमान पाण्डे पनि चिन्तामा छन् । ‘क्वारेन्टाइनमा बसेकालाई खाना पुर्‍याउन परिवारका सदस्य जान्छन्,’ उनले भने, ‘खाना खाएपछि भाँडाकुँडा घरै ल्याउँछन् ।’ खाना पुर्‍याएर फर्केपछि गाउँघरमा घुलमिल हुन्छन् । त्यसले संक्रमणको त्रास बढेको उनले बताए । पकरभिटवास्थित क्वारेन्टाइनमा बसेका आठ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भारतबाट आउनेको चाप बढेपछि यशोधरा गाउँपालिकामा मात्रै २५ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १ हजार १ सय ३९ जना छन् । गाउँपालिकाले आधालाई मात्र खाना खुवाइरहेको छ । ‘थेग्नै नसक्ने चाप छ,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुवेले भने, ‘नजिककालाई घरबाट ल्याएर खान भनेका छौं ।’ मायादेवी गाउँपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाना उपलब्ध गराउन छाडेको छ । ‘गत बिहीबारसम्म खाना दियौं,’ मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले भने, ‘अब थेग्न सक्दैनौं ।’ सय जनासम्म हुँदा खाना खुवाएको उनले बताए । अहिले गाउँपालिकाका ३० क्वारेन्टाइनमा ८ सय ५६ जना पुगेका छन् । बजेट अभावमा खाना खुवाउने अवस्था नरहेको उनले बताए । क्वारेन्टाइन स्थलमा खाना पुर्‍याउने अभिभावकको भीड लाग्ने गर्छ । खाना खाएपछि भाँडा घरै लैजाने गरेका छन् । त्यसले जोखिम बढाएको छ ।

महाराजगन्ज र कृष्णनगर नगरपालिकाले केहीलाई मात्र खाना दिएका छन् । महाराजगन्ज नगरपालिकामा १ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा छन् । कृष्णनगरमा ९ सय ३९ जना छन् । सबैलाई खाना व्यवस्थापन गर्न गाह्रो भइरहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । सदरमुकाम कपिलवस्तु नगरपालिकामा पनि उस्तै समस्या छ । जिल्लाका सीमावर्ती क्षेत्रका स्थानीय तहमा धेरै भद्रगोल अवस्था रहेको छ । यस्ता क्वारेन्टाइन आइसोलेसन अस्पतालसरह हुनुपर्ने बुटवलस्थित कोरोना विशेष अस्पतालका चिकित्सक सुदर्शन थापाले बताए । ‘सामाजिक दूरी कोरोना नियन्त्रणको मुख्य उपाय हो,’ उनले भने, ‘त्यसरी व्यवस्थापन गर्न नसक्दा संक्रमण फैलिने डर छ ।’

धेरै जनाबीच घुलमिल हुँदा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले बताए । ‘धेरै संक्रमित नाकाबाट आएर क्वारेन्टाइनमा पुगेको देखिन्छ,’ उनले भने, ‘त्यहाँ सतर्कता नअपनाउँदा अन्य व्यक्ति पनि संक्रमणको सिकार भइरहेका छन् ।’ भारतबाट दशगजासम्म आएकालाई व्यवस्थित रूपमा मुलुक प्रवेश नगराउँदा जिल्लामा कोभिड–१९ संक्रमण भित्रिएको हो । जनस्वास्थ्य अधिकृत नेपालीका अनुसार यहाँका क्वारेन्टाइन व्यवस्थित नहुँदा पनि संक्रमण बढिरहेको छ । ‘क्वारेन्टाइनमा बसेकालाई किन राखिएको हो भन्नेबारेमा थाहै छैन,’ उनले भने, ‘क्वारेन्टाइनमा पनि घरमा बसेजस्तै व्यवहार गरिरहेका छन् ।’

खाटबीच दूरी छ । तर, व्यक्तिले सामाजिक दूरी पालना गरेका छैनन् । ‘सँगै बस्ने, गफ गर्ने, एक जनाले बनाएको सुर्ती धेरै जनाले सेवन गर्छन्,’ उनले भने, ‘यो गर्नै नहुने काम हो ।’ उनका अनुसार जिल्लाका क्वारेन्टाइनमा भीडभाड छ । ७० देखि २ सय व्यक्ति एउटै क्वारेन्टाइनमा बसिरहेका छन् । ‘तिनैमा बसेका व्यक्तिमा संक्रमण भेटिएको छ,’ उनले भने, ‘त्यसले पनि जोखिम उच्च छ ।’ क्वारेन्टाइनको अवस्था तत्काल सुधार गर्न जनप्रतिनिधिलाई आग्रह गरेको उनले बताए । क्वारेन्टाइनको संख्या बढाएपछि मात्र व्यवस्थित हुने उनले बताए ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डेले अव्यवस्थित क्वारेन्टाइनले गर्दा जोखिम बढेको बताए । ‘संक्रमित व्यक्ति त्यहीं छन्,’ उनले भने, ‘उनीहरूसँगै अरू घुलमिल भएकाले चिन्ता थपिएको हो ।’ जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ६ हजार ७ सय ८७ पुगेका छन् । आइतबार अपराह्नसम्म कपिलवस्तुमा ४३ संक्रमित पुगेका छन् ।

तथ्यांक नहुँदा समस्या

एक सातामा रूपन्देहीको भैरहवा–सुनौली नाका हुँदै भारतबाट एक हजार जना भित्रिएका छन् । जिल्ला प्रशासनका अनुसार आइतबारसम्म नौ सय हाराहारीमा नाकामै छन् । भारतका विभिन्न सहरबाट आएर दशगजामा थपिने बढिरहेका छन् । तर, प्रशासनमा भारत र अन्य मुलुकमा रहेका जिल्लाका बासिन्दाको यकिन तथ्यांक नहुँदा व्यवस्थापनमा समस्या भइरहेको छ । कोभिड–१९ संक्रमणका कारण विदेशबाट कति जना फर्किने हुन्, यकिन हुन सकेको छैन । त्यसैले नाकामा आएर भारतीय क्वारेन्टाइनमा दुई साताभन्दा बढी बिताएका नागरिकलाई यहाँ ल्याएर कोरोना परीक्षण गर्ने काम भइरहेको छ ।

प्रशासनले शनिबार १ सय ६५ जनालाई सीमापारिबाट ल्याएको छ । त्यसअघि साढे ८ सयलाई ल्याइएको थियो । यहाँका स्थानीय तहले मुलुकबाहिर रहेका नागरिकको अभिलेख राखेका छैनन् । ‘महामारीका बेला जिल्लामा कति नागरिक भित्रिने हुन् भनेर सबै पालिकालाई आफ्ना कति नागरिक मुलुकबाहिर रोजगारीमा छन् भनेर तथ्यांक निकाल्न भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘अझै पनि नाकामा झन्डै ९ सयको हाराहारीमा नागरिक छन्, उनीहरूलाई पनि प्रक्रिया पूरा गरेर ल्याइनेछ ।’ यसरी ल्याएर क्वारेन्टाइनमा राखिएका मध्ये तिलोत्तमा–१५, मधवलिया माविका १ सय ९८ मध्ये १ सय ६६ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि उनीहरूलाई सम्बन्धित पालिकाले लैजाने क्रम चलिरहेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । ‘अन्यलाई पनि रिपोर्टका आधारमा पठाउने छौं,’ उनले भने । महामारी बढ्ने र भारतबाट नेपाली आउने क्रम बढ्ने देखिएकाले नगरका सबै वडामा क्वारेन्टाइन निर्माण गरिने उनले बताए ।

सिद्धार्थनगर नगरपालिकाका चार विद्यालयमा तीन सयभन्दा बढी बसिरहेका छन् । उनीहरूलाई सम्बन्धित पालिकाले लगिरहेको सिद्धार्थनगरकी उपप्रमुख उमा काफ्लेले बताइन् । भारतबाट ल्याइएका मध्ये १ सय ५ जनालाई कञ्चन–४ स्थित क्वारेन्टाइनमा राखिएको गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगरले बताइन् । सम्बन्धित स्थानीय तहमा पठाउन थालेपछि क्वारेन्टाइनमा भीडभाड कम भएको छ तर भारतबाट ओइरो लाग्ने देखिएको उनले बताइन् । प्रशासनले बुटवल उपमहानगर, कञ्चन, देवदह, सैनामैना र रोहिणीलाई थप क्वारेन्टाइनको व्यवस्था गर्न भनेको छ । भारतबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि कम्तीमा २ हजार ५ सय थान पीसीआर किट आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पन्थले बताए । बिहीबार तीन सय थानमात्रै उपलब्ध भएको छ ।

रूपन्देहीका विभिन्न क्वारेन्टाइनमा २ हजार ४ सय ९२ जना छन् । भैरहवामा प्रदेश प्रयोगशाला सुरु भएदेखि आइतबार दिउँसो १ बजेसम्म १ हजार ३ सय स्वाबका नमुना प्राप्त भएको प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । परीक्षण गरिएका मध्ये २३ जनामा संक्रमण पुष्टि भयो । ९ सय ४६ को नेगेटिभ रिपोर्ट आयो । बाँकी परीक्षण प्रक्रियामा रहेको गिरीले बताए । रूपन्देहीमा आइतबारसम्म कोभिड–१८ संक्रमित २८ पुगेका छन् ।

संक्रमितको उपचारलाई डेढ सय शय्या थपिँदै

प्रदेश ५ का भारतसँग सीमा जोडिएका जिल्लामा लुकेर आउनेबाटै कोभिड–१९ संक्रमण बढेपछि प्रदेश सरकारले सबै स्थानीय तहलाई भारतबाट आउनेको तथ्यांक पहिचान गर्न निर्देशन दिएको छ । प्रदेश ५ मा १ सय ५० शय्या थप गर्ने र नेपाली सेनाको अस्पताल पनि संक्रमितको उपचारका लागि प्रयोग गर्ने सरकारको तयारी छ । प्रदेश ५ मा संक्रमितको संख्या बढ्दै गएपछि उनीहरूको उपचारका लागि शय्याको अभाव सुरु भएको छ । यस प्रदेशमा आइतबारसम्ममा संक्रमितको संख्या १ सय ९ पुगेको छ तर प्रदेश ५ का विभिन्न अस्पतालमा उपचार गराउनेको संख्या १ सय ६ छ । तीन जनाको काठमाडौंमै उपचार भइरहेको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले उपचार प्रभावित हुन सक्ने भएकाले सरकारले तत्काल दुई अस्पतालमा शय्या थप गर्ने निर्णय गरेको बताए । सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक सय र भीम अस्पताल भैरहवामा थप ५० आइसोलेसन बेड तयार गरी तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । त्यस्तै नेपालगन्जको नेपाली सेनाको अस्पताललाई पनि कोभिड–१९ विशेष उपचार अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

अहिले बुटवल कोरोना अस्थायी अस्पतालमा ३६, भीम अस्पताल भैरहवामा २१, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा २६, कोरोना विशेष अस्पताल बेलझुन्डी दाङमा १६ जनाको उपचार भइरहेको छ । अन्यको परासी, पाल्पा, रूपन्देहीका अस्पताल र भेरी अस्पतालमा उपचार भइरहेको छ । ‘कोभिड–१९ पोजिटिभ देखिएका तर रोगको गम्भीर लक्षण नदेखिएकालाई जिल्लाका अस्पतालमा छुट्याइएका आइसोलेसन बेडमा व्यवस्थित रूपमा राखेर उपचार गर्न पनि बैठकले निर्देशन गरेको छ,’ उनले भने, ‘तराईका जिल्लामा कम्तीमा दुई सय र पहाडी जिल्लामा कम्तीमा ५० बेडको आइसोलेसन सेन्टर बनाउन पनि निर्देशन गरेको छ ।’ त्यसका लागि जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसरी निर्माण हुने सेन्टरमा बस्ने व्यक्तिको खाना खर्च सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।

आइतबार प्रदेश ५ का मुख्यमन्त्री एवं संकट व्यवस्थापन केन्द्रका संयोजक शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लागत संकलन गरी आएका सबै व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो । यसअघि पनि तथ्यांक संकलनका लागि गरिएको निर्देशन स्थानीय तहले पालना गरेका छैनन् । अहिलेसम्म कुनै पनि पालिकाले भारतमा रोजगारीमा गएका र लकडाउनले फर्केर आउन सक्नेको विवरण संकलनमा चासो देखाएका छैनन् । प्रदेशका संक्रमितमध्ये ९० प्रतिशत भारतबाटै लुकीछिपी नेपाल प्रवेश गरेकाहरू छन् । प्रदेश सरकारले त्यसलाई थप व्यवस्थित गर्न सीमा क्षेत्रका पालिकालाई एक हजार क्षमताका क्वारेन्टाइन तयार गर्न निर्देशन दिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?