द्रुत परीक्षण नै सुस्त

दुई लाखभन्दा बढीको परीक्षण गर्नुपर्नेमा अहिलेसम्म ३ हजार ८ सयको मात्र जाँच

वैशाख १६, २०७७

घनश्याम गौतम, ठाकुरसिंह थारु

रुपन्देही, बर्दिया — भारत र तेस्रो मुलुकबाट फर्कनेको ठूलो संख्या रहेको प्रदेश ५ मा कोरोना परीक्षण भने सुस्त देखिएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको तथ्यांकमा प्रदेशका विभिन्न ३५ नाका हुँदै भारतबाट मात्र प्रवेश गर्नेको संख्या २ लाख ४ सय ४२ जना छ । यो संख्या चैत १७ सम्मको हो । त्यसपछि पनि लुकिछिपी प्रवेश गर्नेको संख्या १५ हजारभन्दा बढी छ ।

प्रदेश ५ मा अहिलेसम्म संक्रमित फेला नपरे पनि ठूलो संख्यामा परीक्षण नै बाँकी रहेकाले जोखिम उस्तै छ । प्रदेश सरकारले आइतबारसम्म प्रदेशमा ३ हजार ७ सय ९७ जनाको मात्र परीक्षण गरेको छ । सरकारले प्रदेशका १२ वटै जिल्लाको परीक्षण सहज गराउने उद्देश्यले चैत पहिलो साता प्रदेशका तीन स्थानमा छुट्टै प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार रूपन्देहीको भैरहवामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेर चैत २३ गतेदेखि परीक्षण सुरु गरेको छ । त्यहाँ दैनिक १२ जनाको परीक्षण हुन्छ । नेपालगन्जको खजुरामा पनि प्रयोगशाला स्थापना गरेर एक सातादेखि परीक्षण सुरु भएको छ । त्यहाँ दैनिक तीनदेखि पाँच र दाङको राप्ती विज्ञान प्रतिष्ठानमा दैनिक तीन जनाको परीक्षण भइरहेको छ ।

तीनवटै प्रयोगशालमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण हुन्छ । तर, भैरहवाको तुलनामा अन्य दुई प्रयोगशालाको परीक्षण गति झन् सुस्त छ । संघीय सरकारको सहयोगमा प्रदेशका सबै जिल्लामा चैत २७ देखि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) भइरहेको छ । १२ वटै जिल्लाको क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्न थालिए पनि त्यसको गति सुस्त भएको जनप्रतिनिधिको गुनासो छ ।

आइतबारसम्म प्रदेशमा ३ सय २६ जनाको पीसीआर र ३ हजार ४ सय ७१ जनाको आरडीटीबाट परीक्षण भएको छ । जुन दैनिक औसतमा २ सय ४ जनामात्र हो । दु्रत गतिको परीक्षण नै सुस्त भएकाले कोरोना संक्रमणको जोखिम बढिरहेको रूपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । ‘हामी बोर्डरको नजिक पनि छौं,’ उनले भने, ‘लुकेर आउने पनि छन् तर परीक्षण हुन सकेको छैन ।’ गाउँपालिकाका सबै वडामा पुगेर परीक्षण गर्नु जरुरी रहेको भए पनि अहिलेसम्मको अवस्थामा त्यो सम्भव नदेखिएकाले सबैजना कोरोनाको डर र त्रासमा रहेको उनले बताए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले तीनवटै प्रयोगशालामा गरेर सरदर २० जनासम्मको दैनिक परीक्षण भइरहेको बताए । ‘परीक्षण गर्नुपर्नेको संख्या ठूलो छ,’ उनले भने, ‘तर, सामग्री र जनशक्तिको अभावमा परीक्षणको गति बढाउन सकिएको छैन ।’ पैदल हिंड्दै आएका र पछिल्लो समय सवारी साधनबाटै जिल्ला भित्रिनेको संख्या ठूलो छ ।

क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेर दुई दिनभित्र घर जानेको संख्या मात्र १ हजार ६ सय ४६ छ । उनीहरूको पनि आरडीटी परीक्षण हुन नसकेको उनले बताए । आइतबारसम्म रोल्पाको क्वारेन्टाइनमा सबैभन्दा बढी ६ हजार ३ सय ८८ जना रहेका छन् । निर्देशनालयका अनुसार १३ दिनअघि रोल्पाका क्वारेन्टाइनमा २ सय ५६ मात्र थिए । प्रदेशभरका ५ सय ४७ क्वारेन्टाइनमा बस्नेको संख्या आइतबारसम्म ११ हजार २ सय ४ पुगेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै परीक्षणको चुनौती थपिएको बताए । ‘हामीले १३ दिनअघिको संख्या आकलन गरेर ५० देखि ६५ हजार जनाको परीक्षण गर्नुपर्ने तयारी गरेका थियौं,’ उनले भने, ‘तर, त्यो संख्या एकाएक बढेर दुई लाख हाराहारीमा पुगिसक्यो ।’ सरकारको तयारीमा उपचारमा खटिने स्वास्थ्यकर्मी, लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मी, क्वारेन्टाइनमा सहयोग गर्ने स्वयंसेवकसहितको संख्या गणना गरेर ६५ हजार आरडीटी किट माग गरिएको थियो । अहिले त्यसले पुग्ने अवस्था नरहेको उनले बताए । थप सामग्री मगाएर परीक्षणलाई पनि तीव्र पार्ने तयारीमा सरकार लागेको उनको दाबी छ ।

प्रदेश ५ मा परीक्षण सुस्त भएको निष्कर्ष निकाल्दै अब यसको जिम्मा सेनालाई दिने संघीय मन्त्रिपरिषद्को आइतबारको बैठकले निर्णय गरेको छ । संघीय सरकारको टोलीले विदेशबाट आएका र ट्रेसिङमा परेकालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । त्यसपछि सीमा क्षेत्रका क्वारेन्टाइनमा बसेका सर्वसाधारणको स्वास्थ्य परीक्षणका लागि परिचालन हुनेछ । संघीय सरकारले आवश्यक जनशक्तिसहित सेनालाई खटाउने निर्णय गरेकाले त्यसले अबको परीक्षण तीव्र हुने निर्देशक डा. गिरीले बताए ।

लकडाउनपछि आएका १० हजार गाउँमा घुलमिल

बर्दियामा पूर्व–पश्चिम राजमार्गको बाँसगढी नगरपालिका र हुलाकी राजमार्गअन्तर्गतको बढैयाताल गाउँपालिकाको मानखोला जिल्ला प्रवेश गर्ने मुख्य पूर्वी नाका हुन् ।

लकडाउनका समयमा यी दुई नाका भएर बर्दिया र सुदूरपश्चिम प्रदेशका करिब चार/पाँच सय सर्वसाधारण पैदल र गाडी चढेर घर फर्किएका छन् । नाकाका यी पालिकामा भने बाहिरबाट फर्किएर आएका निकै कम व्यक्ति क्वारेन्टाइनमा राखिएका छन् । सीमामा राखिएको हेल्थ डेस्कमा सामान्य ज्वरो जाँच गरेर घर पठाउने गरिएको छ । उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न भनिए पनि निगरानी नहुँदा जोखिम बढ्दो छ ।

बर्दियाको बाँसगढी नगरपालिका भएर घर फर्किरहेका सर्वसाधारण । तस्बिर : ठाकुरसिंह थारु/कान्तिपुर

लकडाउनको अवधिमा दुई नाका भएर नेपालका विभिन्न सहरबाट बर्दियाका करिब १३ हजार भन्दा बढी सर्वसाधारण घर आएका छन् । भारतबाट करिब दुई हजारभन्दा बढी स्वदेश फर्किए । नेपालबाटै फर्किएका साढे १० हजार सर्वसाधारण क्वारेन्टाइनमा नबसी घर फिर्ता भएका छन् । क्वारेन्टाइनमा करिब २ हजार ५ सय बसेका छन् । क्वारेन्टाइनमा बस्नेहरू अधिकांश भारतबाट आएका थिए । नेपालका विभिन्न सहरबाट आएका सर्वसाधारणलाई निर्बाध रूपमा घर पठाउँदा निकै जोखिम छ ।

‘बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सक्ने हो भने जोखिम कम हुन्थ्यो । तर, दैनिक जिल्ला आउने क्रमले हामी जोखिममा छौं,’ जिल्ला अस्पताल बर्दियाका प्रमुख डा. सुवास पाण्डेले भने, ‘बाहिरबाट जति धेरै आउजाउ हुन्छ, त्यति धेरै जोखिम बढ्छ । त्यसैले बाहिरबाट आएकालाई क्वारेन्टाइनमा अनिवार्य राख्ने व्यवस्था मिलाउनुपर्छ ।’ क्वारेन्टाइनमा राख्दा खान र बस्नमा खर्च हुन सक्ने भन्दै पालिकाहरूले आफ्नो क्षेत्रबाट अर्को पालिका क्षेत्रमा पुर्‍याउने गरेका छन् । आइतबारमात्रै पनि बाँसगढी नाकाबाट चार सय बढी सर्वसाधारण बर्दिया छिरे । तीमध्ये डेढ सय जना सुदूरपश्चिमका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्न सक्ने हो भने जोखिम नहुने बताए । ‘केही पालिकाले एक/दुई सय जनालाई क्वारेन्टाइनमा राखेका छन् । केहीले निकै कम,’ उनले भने, ‘सामान्य जाँचले कोरोनाको पुष्टि हुँदैन । त्यसैले भरपर्दो उपाय भनेको क्वारेन्टाइनमै राख्नु हो ।’

उनका अनुसार बर्दियामा ३ सय ९१ जनाको आरडीटी र ३१ जनाको पीसीआर जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मुलुकका विभिन्न स्थानबाट घर फर्किएका सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेको बताए । प्रजिअ लामिछानेले जनप्रतिनिधिहरूमार्फत उनीहरूको निगरानी गर्न आग्रह गरिएको जनाए । तर, घर फर्किनेहरूले भने प्रशासनको निर्देशनलाई अटेर गर्दै आएका छन् ।

लकडाउनकोरोना भाइरस

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

ठाकुरसिंह

Link copied successfully