उपलब्ध स्रोतसाधनबाट निर्माणको काम

सबै आयोजनामा एकैपटक काम गर्न सम्भव छैन । निर्माणस्थलमै भएका सामग्रीका आधारमा पूर्वाधारका केही काम भइरहेका छन्

वैशाख १६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — लकडाउनका कारण प्रदेश ५ मा रोकिएका धेरै सडक र पुल निर्माणको काम सुरु भएको छ । निर्माण सामग्रीको अभावमा सबै आयोजना एकैपटक सञ्चालन गर्न सम्भव छैन । अहिले उपलब्ध सामग्रीका आधारमा केही पूर्वाधारका काम थालिएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । प्रदेशका ६ जिल्लामा सडक पूर्वाधार विकास कार्यालयमार्फत काम भइरहेका छन्।

रूपन्देहीको कञ्चन गाउँपालिकास्थित कञ्चन खोलामा १० करोड रुपैयाँ लगानीमा पुल निर्माण भइरहेको छ । जिल्लाकै खहरेखोला र मिलनपार्कमा पुल निर्माणको काम जारी रहेको सडक पूर्वाधार विकास कार्यालय प्रमुख ललितबहादुर न्यौपानेले बताए । उनका अनुसार नवलपरासीको बेलारी खोलामा तीन करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम भइरहेको छ ।

‘त्यसका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन भएको छ,’ उनले भने, ‘यही वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित काम भइरहेको छ ।’ यीबाहेक कपिलवस्तुमा दुईवटा पुल निर्माण सुरु हुँदै छ । सडकतर्फ बुटवलको धागो कारखाना–चरंगे–झुम्सा–पाल्पा सडक खण्डको आधा भाग रूपन्देहीले निर्माण हेर्ने भएकाले एक/दुई दिनमै काम सुरु गर्ने तयारी भएको न्यौपानेले बताए । उक्त सडकका लागि ६ करोड रुपैयाँ विनियोजन भएको छ । उद्योगबाट आवश्यक निर्माण सामग्री उपलब्ध भएकाले छिटो काम गर्न सकिने खालका आयोजनालाई अघि बढाइएको न्यौपानेको भनाइ छ ।

पाल्पाको चर्चरे खोलामा पुल निर्माणको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख प्रेमनारायण बस्यालले बताए । त्यसका लागि करिब ९ करोड रुपैयाँ विनियोजन भएको छ । पाल्पाकै रम्भा गाउँपालिकाको पहुँचमार्ग (लसुने–खोकखोला) को निर्माण जारी छ । ‘त्यसका लागि सवा दुई लाख रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भने, ‘सराई–हर्नेटार सडक पनि निर्माण भइरहेको छ ।’ उक्त सडकका लागि ५० लाख बजेट विनियोजित भएको बस्यालले बताए । पाल्पा–झुम्सा–चरंगे–धागो काराखाना सडकको काम चलिरहेको छ । यसका लागि पाल्पातर्फ चार करोड रुपैयाँ बजेट छुट्याइएको छ । निर्माणाधीन आयोजनाको पहिलो अनुगमन सकिएको उनले जानकारी दिए । अन्य आयोजनाको काम एक सातापछि सुरु गरिने उनले जनाए ।

रुकुम पूर्वको धाउन्नेमा सानीभेरी पुल, पुथा उत्तरगंगा गाउँपालिका पहुँचमार्ग, छिनमाथि गाउँ–भुनिया सडक, पिपल प्वाङ–सिस्ने–डोल्पा, पुरानो ढाका–काँडा–दादिङ सडकको निर्माण जारी रहेको त्यहाँस्थित सडक पूर्वाधार कार्यालय प्रमुख वीरेन्द्र कँडेलले बताए । ‘यीबाहेकका आयोजना सुरु गर्न यातायातबाट पास लिइसकेको र केही दिनमै सामान ढुवानी गरी काम सुरु गर्नेछौं,’ उनले भने, ‘कार्यालयअन्तर्गत एउटा जिल्लामा १९ सडक, तीन झोलुंगे पुल र एउटा पुल निर्माणको कार्य पर्छ ।’ यी आयोजना निर्माण गर्न चालु आवमा करिब १८ करोड बजेट विनियोजन भएको कँडेलको भनाइ छ । पूर्ण बजेटमा सडकका लागि मात्र १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । जिल्लाका सम्पूर्ण सडक यस वर्ष नै निर्माण सम्पन्न गर्नुपर्ने र सोहीअनुसार निर्माण जारी रहेकाले समयमै सकिने उनले जनाए । पुल र झोलुंगे पुल बहुवर्षीय आयोजना भएको उनले बताए ।

रोल्पा जिल्लास्थित कार्यालयले रोल्पा र प्यूठान हेर्ने जिम्मा पाएको छ । अहिले रोल्पा र प्यूठानमा गरी १३ आयोजनाको निर्माणको काम चलिरहेको कार्यालय प्रमुख नवीन श्रेष्ठले जानकारी दिए । ‘दुई जिल्लाका आयोजनामा ५०/५० लाख रुपैयाँका दरले बजेट छुट्टिएको छ,’ श्रेष्ठले भने, ‘प्यूठानका १० र रोल्पामा तीन आयोजना बनाउँदै छौं ।’ तीमध्ये रोल्पामा सहिद मार्ग तार्केवाङ–तालावाङ–गुराँसे–पाथावाङ–रुगा–रुकुम सडक, छेर्लुवाङ–निरुल–डाइप–कुरेली हुँदै चुनुबाङ सडक निर्माण भइरहेको छ ।

प्यूठानमा भीमगिठे, केर्नेटा बिजुली, चेनेटा–पुरनठाँटी–जोगीधारी सडक आदिमा काम भइरहेको श्रेष्ठले बताए । दुवै जिल्लाका सडक आयोजना यही वर्ष सम्पन्न गर्नुपर्नेछ भने पुल बहुवर्षीय हुन् । रोल्पा र प्यूठानमा लकडाउनअघि काम भइरहेका पुलका लागि आवश्यक सामग्री नपाइँदा काम रोकिएको उनले जानकारी दिए । ‘लकडाउनले मेसिन भएका ठाउँमा अपरेटर नहुने, ठेक्का लिएका कन्ट्रयाक्टर जिल्लाबाहिरका हुँदा आउन नपाउने, भएका मेसिन बिग्रिएको र मर्मत नभएको, तराईका मजदुरले काम गरेकाले उनीहरूलाई ल्याउन नमिल्दा पुल र अन्य सडक निर्माण रोकिएको हो,’ उनले भने, ‘अहिले बनिरहेका सडकमा एक अपरेटर र हेल्परले एक्स्काभेटरले सडक चौडा गर्ने, कटिङ गर्ने काम गरिरहेका छन् ।’

अर्घाखाँचीमा ३९ सडक र ९२ खानेपानी आयोजनाका लागि बजेट विनियोजन भएको छ । यही वर्ष सम्पन्न गर्ने गरी बजेट विनियोजन भएका केही आयोजना जारी छन् । गच्छे–भालुवाङ सडक, घुम्ती–पाल्पा सडक, सन्धिखर्क–गोरुसिंगे सडक यही वर्ष सक्नुपर्ने आयोजना हुन् भने २२ करोड रुपैयाँ विनियोजित बहुवर्षीय अर्घाखाँची र प्यूठान जोड्ने चुत्रावेसी–किमडाँडा–ढाकावाङ–प्यूठान सडकको काम भइरहेको अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य चेतनारायण आचार्यले बताए ।

निर्माणाधीन १३ खानेपानी योजनामध्ये अर्घातोष खानेपानी, केरुंगा खानेपानी, सीतापुर खानेपानी आयोजना जारी रहेको उनको भनाइ छ । जिल्लाभित्रकै मजदुरले निर्माणको काम गरिरहेकाले तीन पुलको निर्माण कार्य जारी छ । काम चलेका पुलमध्ये बिहार–कविरा पुल, दुर्गाफाँट पुल हुन् । त्यस्तै जिल्लामा छुट्याइएका चार पहुँचमार्गको काम पनि भइरहेको उनले बताए ।

दाङमा लकडाउन अवधिमा कुनै पनि निर्माण कार्य चालु अवस्थामा नरहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख वासुदेव भण्डारीले बताए । उनका अनुसार जिल्लामा ७० आयोजना निर्माण गर्नुपर्ने अवस्था छ । ‘निर्माण पुन: सुरु गर्न प्रशासनमा पत्राचार गरिएको छ,’ उनले भने, ‘यस वर्ष ४५ आयोजना सक्ने योजना हो । तर लकडाउन लम्बिए त्यो सम्भव नहुने देखियो ।’

लकडाउन

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully