दुर्लभ पन्छी खेतमा देखिँदै

गरुडको दुर्लभ प्रजातिमा पर्ने बर्सेनि निकै कम संख्यामा देखिएका चरा यतिबेला मान्छे र गाडीको चहलपहल ठप्प हुँदा खेतबारीमा देखिँदै

वैशाख १६, २०७७

रमेशकुमार पौडेल

चितवन — लकडाउनले मानिस घरभित्रै बस्दा खेतबारीमा चराचुरुंगीको चहलपहल बाक्लिएको छ । लामो समयदेखि नदेखिएका र सितिमिति नदेखिने दुर्लभको सूचीमा परेका चरा अहिले खेतबारीमा हूलका हूल आउन थालेका छन् । मानवीय कारणले बाधा नहुँदा यसरी चरा देखिएको हुनुपर्ने पन्छीविद्को भनाइ छ ।

दुखन चौधरीको घर पूर्वी चितवन बछौलीमा हो । खेतमा अहिले चैते धान हरियो भएको छ । लकडाउनका कारण गाउँ सुनसान छ । आडैमा रहेको पर्यटकीय क्षेत्र सौराहामा पनि चहलपहल छैन । खेतमा भने धान गोड्ने खेताला भेटिन्छन् । दुखन पनि बिहान दिउँसो खेतमै हुन्छन् । यो पटक उनले नौलो चरा देखे । छिमेकमा चराविद् वासु बिडारीलाई फोन गरेर बोलाए । ती चरा देखेर बिडारी पनि दंग परे । ‘त्यहाँ एसियन उल्ली नेक्ड स्ट्रोक (लोभीपापी गरुड) थियो । यो संकटापन्न अवस्थामा पुगेको दुर्लभ चरा हो,’ बर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्षसमेत रहेका बिडारीले भने ।

यो चरा चितवनमा फाट्टफुट्ट मात्रै देखिने गथ्र्याे । चौधरीले बोलाएर धान खेतमा जाँदा उनले सुरुको दिन एकै ठाउँ १४ वटा लोभीपापी गरुड देखियो । गरुडको बथान सुरुमा वैशाख ७ मा देखिएका थिए । त्यसयता लगातार देखिएका छन् । दुई दिनमा मात्रै २८ वटासम्म लोभीपापी गरुड एकै ठाउँ देखापरेका छन् । चराविद् हेमसागर बराल भन्छन्, ‘यो त गज्जबको कुरा भयो । यसरी एकै ठाउँ यति धेरै यो चरा यसअघि सायदै देखिएको थियो ।’

चराविद् बिडारीका अनुसार चितवनभर यसअघि यो चराका दुईवटा मात्रै गुँड फेला परेका थिए । यो चरा मुख्य गरेर तराई क्षेत्रमा पाइन्छ । नदी, खोला र सिमसार तथा धानखेत आसपास बस्छ । ‘बीसहजारी तालनजिक रुखमा १५/१६ वर्षअघि यो चराको गुँड थियो । त्यसपछि त्यहाँ पुन: देखिएको छैन,’ उनले भने, ‘अहिले चितवन निकुञ्ज क्षेत्रमा यसको दुईवटा मात्रै गुँड फेलापरेको छ । एउटा गुँड कसरा नजिक र एउटा नवलपुर क्षेत्रमा छ । तर यो पटक यति धेरै चरा देखिनु अनौठै भयो ।’

चराविद् बरालका अनुसार विभिन्न एसियाली देशमा गरुणको यो प्रजाति पाइने गरेको छ । नेपालमा तराईका साथै नुवाकोट र काठमाडौंजस्ता मध्य पहाडी क्षेत्रमा पनि भेटिएको छ । विश्वमा यो चराको संख्या ३५ हजारको हाराहारीमा रहेको अनुमान छ ।

सन् २०११ को हिउँदे पानीचरा अनुमगनमा नेपालभर जम्मा ८६ वटा यो लोभीपापी गरुड भेटिएको रेकर्ड थियो । सन् २०१४ मा चितवनको राप्ती आसपास ठाउँठाउँमा गन्दा ३१ वटा भेटिएका थिए । ‘यो पटक एकै ठाउँ २८ वटा देखियो भन्ने कुरा आयो । यो अत्यधिक हो,’ बरालले भने ।

भ्यागुता, गड्यौला, गँगटा र पुतली लगायतका किराहरूलाई आहारा बनाउने गरुडको यो प्रजाति पछिल्ला वर्ष चितवनमा देखा पर्ने क्रम घट्दो थियो । चौधरीले आफूहरूले केही वर्षयता खेतमा रासायनिक विषादि राख्न कम गर्दै गएको बताएका छन् । विषादी कम राखेपछि भ्यागुता र गड्यौला बढेर नौला चराहरूले खान आएकी भन्ने उनको मनमा लागेको छ । ‘एक त आहारामा पनि भेटियो अर्को कुरा अहिले मान्छेको भीडभाड छैन । गाडीको आवतजावत छैन । होहल्ला नभएपछि शान्त वातावरणमा उड्दैउड्दै चराहरू खेतसम्म आएका हुन्’ बिडारीले भने ।

चराविद् बराल पनि लकडाउनले मान्छेको चहलपहल र गाडी गुड्न कम भएपछि चराहरू वनभन्दा बाहिर निस्केर मान्छेको बस्ती नजिक खेतसम्म आएको बताउँछन् । बछौली दोरङ्गे आसपासमा यी चराहरू छपक्कै छन् । आहारा खाएपछि आडैको जनकौली मध्यवर्ती सामुदायिक वनमा उडेर जाने गर्छन् । यी चराले रुखमा नै गुँड लगाएर बच्चा हुर्काउँछन् । अण्डा कोरलेको ४५ दिनपछि बच्चा उड्न सक्ने हुन्छ । ‘यो समय चराहरूको प्रजनन हुने बेला पनि हो । प्रजननअघि ठूलोठूलो समूह भेट हुने गर्दछ । यो पटक जंगलकै जस्तो शान्त वातावरण बाहिर पनि भएको हुँदा आहारा पाइने ठाउँसम्म चराहरू आएका होलान्,’ चराविद् बरालले भने ।

लकडाउनकोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully