‘असुरक्षाले’ अर्थ समितिको ‘भर्चुअल’ बैठक स्थगित

यो वर्षको खर्चको पुन: प्राथमिकीकरण र आगामी वर्षको बजेटबारे छलफल गर्ने तयारी थियो

वैशाख ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — यो आर्थिक वर्षका बाँकी तीन महिनामा गर्नुपर्ने खर्चको पुन: प्राथमिकीकरण र आगामी वर्षको बजेटबारे छलफल गर्न बस्ने भनिएको संसद्को अर्थ समितिको अनलाइन बैठक (भर्चुअल मिटिङ) स्थगित भएको छ ।

संसद्सम्बन्धी विद्यमान कानुन तथा नियमावलीमा भर्चुअल बैठक बस्न सक्ने प्रावधान नहुनाले र अनलाइन बैठकमा हुने छलफलको सुरक्षाबारे प्रश्न उठेकाले बैठक स्थगित भएको हो ।

‘अनलाइन बैठकको वैधानिकताको कुरा उठ्यो । अर्को प्रविधिको प्रयोगबाट हुने छलफलमा सुरक्षाको प्रत्याभूतिको प्रश्न आयो,’ समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘यी विषय सम्बोधन गरेर व्यवस्थित तरिकाले बैठक राख्ने गरी आइतबारलाई तोकिएको बैठक स्थगित भएको हो ।’संसद् नियमावलीमा भर्चुअल बैठक गर्न सक्ने व्यवस्था छैन । ‘बैठक बस्न हामीले दुईपटक प्रयास गर्‍यौं,’ अर्यालले भने, ‘सभामुखज्यूले केही समय हेरौं भन्नुभएकाले गत बुधबारको बैठक स्थगित गरियो । उहाँ र हाम्रो समितिका सभापतिज्यूको समन्वयअनुसार तोकिएको अर्को बैठकमा फेरि केही प्रश्न उठे ।’

प्रश्न कसले उठायो भन्नेबारे सचिव अर्यालले खुलाएनन् । ‘अरू समितिभन्दा अर्थ समिति तत्काल सक्रिय हुनुपर्ने अवस्था छ । अहिले अर्थतन्त्रमा परेको प्रभाव, राहत र आर्थिक प्याकेजको विषयमा अर्थ समितिले एउटा छलफल गर्न खोजेको हो,’ उनले भने, ‘अर्को, यसै वर्षको र आगामी वर्षको बजेटका प्राथमिकताका विषयहरू हेर्नुपर्ने भएको छ ।’समितिका सभापति कृष्णप्रसाद दाहालका अनुसार गत बिहीबार अनौपचारिक रूपमा एउटा अनलाइन बैठक गरी आइतबारका लागि औपचारिक बैठकको मिति तय भएको थियो । उनका अनुसार कोभिड–१९ ले आर्थिक क्षेत्रमा पारेको प्रभाव मूल्यांकन र आगामी बजेटको दिशाबारे छलफल गर्ने भनेर सदस्यहरूलाई एजेन्डा बाँडी सकिएको थियो ।

बैठक ११ बजेदेखि २ बजेसम्म चलाउने तय भएको बैठकमा अर्थ सचिव शिशिर ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीलाई पनि बोलाएको समितिले जनाएको थियो । अर्को बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई बोलाउने तयारी रहेको दाहालले बताएका थिए ।पहिलो अनलाइन बैठकमा छलफल गर्नका लागि अर्थ मन्त्रालयसँग आधा दर्जन विषयमा विवरण माग गरिएको समितिले जनाएको थियो । समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारको बैठक सारिनुलाई शंकाको दृष्टिकोणले हेरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘कसको भिटो लागेको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

‘अर्थ समितिको आज बस्ने तय भएको भर्चुअल बैठक फेरि स्थगित गरिएछ । सभामुख, सभापति, सचिव सबै जना सकारात्मक हुँदाहुँदै कसको भिटो लागेको हो ?’ उनले भनेका छन्, ‘संकटका बेला पूरै संसद्को बैठक बस्न नसके पनि स्थायी संसद् भनिने समितिहरूको बैठक बस्दा सरकारलाई लाभै हुन्थ्यो होला । केही वैधानिक समस्या भए फुकाउन केले छेक्छ ?’

लकडाउनसीमानाकाकोरोना भाइरस

कान्तिपुर

Link copied successfully