लकडाउनमा परेका एक जोडी मजदुरको अन्तर्वार्ता
काठमाडौँ — अहिलेसम्म देशभर ठ्याक्कै कति मजदुर छन् भन्ने औपचारिक तथ्यांक सरकारसँग छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मजदुरका क्षेत्रमा काम गर्ने विभिन्न संगठनहरुको अनुमानमा देशभर २० लाखभन्दा धेरै मजदुर छन् भने काठमाडौं र आसपासका जिल्लामा मात्रै करिब १२ लाख । मजदुरको यकिन तथ्यांक नभएकै कारण राहत वितरणमा समेत अप्ठ्यारो परेको भन्दै तथ्यांक संकलनको काम थालेको सरकारले अहिलेसम्म यकिन संख्या कति हो, निर्क्यौल गर्न सकेको छैन ।
यही कारण पनि लकडाउनपछि कामविहीन भएर घर फर्किने मजदुरहरुको व्यवस्थापन गर्न सरकारलाई कठिन भइरहेको छ । तर मान्छे यत्तिकै यति कठिन ज्याला मजदुरी गर्ने काममा लागेको भने हुँदैन । त्यसका पछाडि मजदुरका आफ्नै पृष्ठभूमि र बाध्यता जोडिएका हुन्छन्, अन्त कतै केही उपाय नचलेपछि मजदुरी गरेर गुजारा चलाउनेको संख्या नेपालमा धेरै छ । कोही किन मजदुर बन्न बाध्य हुन्छ ? एक जोडी मजदुरसँग बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश ः
तपाईंहरुको नाम के हो ? कति वर्ष हुनुभयो ?
हामी लालबहादुर बस्नेत (३३) र शारदा बस्नेत (३५) हौं । हाम्रो घर भेरी नगरपालिका–९, जाजरकोट हो ।
कति वर्ष भयो नि बिहे भएको ?
त्यस्तै १८ वर्षजति भयो होला ।
कति वर्षमा बिहे गर्नुभयो ?
१६/१७ वर्षमा ।
कतिसम्म पढ्नुभएको छ ?
लालबहादुर : १२ सम्म पढें ।
शारदा : ५ कक्षा पढेर छोडेको ।
घरमा को–को हुनुहुन्छ ?
घरमा छोराछोरी छन् । आमा–बुबा छुट्टै बस्नुहुन्छ ।
के गर्छन् छोराछोरी ?
गाउँमा पढ्दै छन् । परीक्षा दिएर बसेका छन् । ग्वाला जान्छन्, घाँस काट्छन् ।
उनीहरू गाउँमा एक्लै छन् ?
शारदा : माइतीबाट आमालाई बोलाएकी छु, बाध्यताले गर्दा ।
यसअघि पहिले पनि काममा गाउँ छोडेर निस्किनुहुन्थ्यो ?
लालबहादुर : गाउँ कहिल्यै छोडेका थिएनौं ।
शारदा : मैले खेतीपाती गरें, उहाँले पढ्नुभयो । मैले जिमीदारी गरें, घर धानें, उहाँलाई पढाएँ ।
श्रीमानले चाहिँ के गर्नुहुन्थ्यो ?
लालबहादुर : १२ पढेपछि मैले गाउँकै नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा काम गरें ।
के काम गर्नुहुन्थ्यो ?
पढाउँथें ।
कुन–कुन विषय पढाउनुभयो ?
सबै नै पढाउनुपर्थ्यो तर धेरै अंग्रेजी र गणित पढाउँथें ।
कति वर्ष पढाउनुभयो ?
६ वर्ष ।
स्कुल पढाइरहेको मान्छे यहाँ मजदुरी गर्न कसरी आइपुग्नुभयो त ?
निजी स्रोतबाट काम गरेको थिएँ । महिनाको चार हजार तलब दिन्छौं भनेका थिए तर थियो त्यो पनि दिएनन् । पछि राहत दरबन्दी आयो । त्यसमा अर्को मान्छेलाई ल्याएर राखे । मलाई निर्धो देखेर पहिले काम गरेको पैसा पनि दिएनन्, राहत कोटामा काम पनि दिएनन् ।
तलब कत्ति पनि दिएनन् ?
चार महिनामा हजार १५ सय मात्रै दिन्थे । अरू पैसा दिएनन् ।
त्यतिन्जेलसम्म तपाईंहरुको परिवार कसरी चल्यो ?
ऋण काढेर चलाइयो ।
ऋण दिन्थे गाउँलेले ?
दिन्थे, मेरो जागिर चलुन्जेल दिए ।
तपाईंले तलब माग्नुभएन ?
मागें नि तर दिँदै दिएनन् । जहिले माग्न गए पनि ख्यालठट्टाजस्तो गर्थे ।
किन त्यस्तो गरेका होलान् ?
लालबहादुर : हाम्रो बोलिदिने कोही थिएन ।
शारदा : हामीले बैठक बसाल्यौं, छलफल गर्यौं । माग्न गयौं । पहिले दिन्नौं भने । पछि करारमा राखेरै छोड्छौं भने । पछाडि अरूले पैसा र बलको धाक देखाए । हामी त्यस्तो नाइँ ।
पैसा पनि मागे ?
मागे । हामीसित थिएन, करारमा नियुक्त हुनेले खुवाएछन् । पैसा पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, हेडमास्टर सबैलाई बाँडे ।
त्यसपछि तपाईंलाई निकाले ?
(लालबादुर चुपचाप बसे, शारदा बोलिन्) त्यही त भयो दुःख । त्यो सम्झियो भने त अझै आँसु झर्छ मेरो ।
अन्याय भयो भनेर वरिपरि भन्नुभएन ? वडामा, नगरपालिकामा जानुभएन ?
भनेको हो । सबैलाई थाहा पनि थियो । वडामा पनि कुराकानी राख्यौं । गरिबको दिन नफर्कने रैछ । वडाध्यक्षलाई हामीले भोट हालेर जिताएका हौं तर हामीलाई नै हेरेनन् ।
अब काम गर्न बाहिर जानुपर्छ, गाउँ छोड्नुपर्छ भन्ने सोच कसरी आयो ?
त्यहाँबाट कुनै न कुनै दिन पैसा आउँछ, तिरौंला नि भनेर ऋण काढियो । जागिर छउन्जेल त छिमेकीले ऋण पनि दिए । जागिर पनि गयो, तलब पनि आएन । छोराछोरीलाई लुगाफाटो फेर्न मुस्किल भयो । स्कुलबाट पैसा नआउने भएपछि साहुले पनि अत्याउन थाले । गाउँमा खुट्टा टेक्ने ठाउँ पनि भएन । खुट्टाका चप्पल पनि फेर्न नसक्ने भयौं । अनि मिलेर काम गरे छिटो ऋण तिर्न सकिएला भनेर आएको हो तर यहाँ आएर पनि त्यस्तै भयो ।
यहाँ कहिले आउनुभएको हो ? काम कसरी पाउनुभयो ? के काम गर्नुहुन्छ ?
हामी माघ १६ गते जाजरकोटबाट हिँड्यौं । २० गते यहाँ आइपुग्यौं । हामीले मनोहरा बालकुमारी करिडोरमा ढल सफा गर्ने काम गर्छौं । जेठानी दिदी पहिला पनि काम गर्न आउनुभएको थियो । उहाँले ठेकेदारलाई फोन गर्नुभयो । ठेकेदारले यहाँ काम छ भनेपछि आएका हौं ।
कति कमाइ हुन्छ ?
दुई जनाले ६/६ सय कमाउँथ्यौं ।
कति बच्थ्यो ?
के बच्नु र ? नुनतेल, साबुन किन्नै पर्यो । नास्ता खानै पर्यो । एक जनाको खाने एक जनाको राख्ने गरियो । कहिले त डबल पनि खाइन्थ्यो । अलेली जोगायौं । अलिकति पठाएर साहुलाई ऋण तिर्यौं । साहुले पनि ब्याज बढाउन थालेपछि जेठाजु र जेठानीसँग सहयोग मागेर पठायौं । फेरि काम गरेर अलि अलि बचाएका थियौं । यस्तो भयो, पैसा नि सकियो काम पनि छैन ।
यहाँ खान पुगेको छ ?
अलिअलि राहत आयो, खाइरहेका छम् ।
अब भएकोले कति पुग्छ ?
पुग्ला, अब तीन–चार दिन ।
ठेकेदारले के–के दिएका छन् ?
पानी, चामल, दाल छोडेका थिए । लकडाउन भयो । आउनै पाएनन् । नत्र त दिन्थे ।
अहिले त काम पनि छैन । कसरी दिन काट्नुहुन्छ ?
काम छैन । घर जान पनि पाइएको छैन । घर जान पाए आफ्ना बच्चाबच्चीसँग बस्थ्यौं । मरिने हो कि बाँचिने हो भन्ने लाग्छ । कहिलेकाहीं त राति पनि निद लाग्दैन । दिनमा के लाग्नु ? यो पूरै लकडाउन हुने भएपछि त हामीलाई जसरी भए पनि मिलाएर घर पठाइदिए हुन्थ्यो भन्ने लाग्छ । के गर्नु समस्यामा परियो ।
छोराछोरीसँग कुरा हुन्छ ?
हुन्छ नि ।
के भन्छन् छोराछोरीले ?
आऊ भन्छन् । हामीले खुलेपछि आउँछौं भनेका छौं । पहिलोपटक यसरी छोराछोरी छोडेर हिँडियो । पहिला कहिल्यै छोडिएको थिएन । कहिले आउने हो भनेर हैरान पार्छन् । रेडियोले ३ गते खुल्छ भनेपछि आउँछौं भन्यौं फेरि सर्यो । अब १५ गते खुल्छ भनेका छन् । खुले पनि नखुले पनि आउँछम् भनेका छौं ।
आत्तिन्छन् छोराछोरी ?
आत्तिन्छन् । छोराले भलिबल, जिन्स जुत्ता, सर्ट ल्याइदिनु भनेको छ । छोरीले एक दर्जन कापी र राम्रा कुर्ता सुरुवाल ल्याइदिनु भनेकी छ । के ले लगिदिनु ? अहिले जाऊँ भने त पैसा पनि छैन । आफैं त के गरी बाँचिजाऊँ भनेका छौं । उनीहरु आस मान्छन्, हामी भेटे त सम्झाइहालौंला भन्छौं । के गर्नु भाग्य यस्तै रहेछ ।
अब फेरि स्कुल पढाउँछु जागिर खान्छु भनेर सोच्नुभएको छैन ?
निमाविको लाइसेन्स पनि छ । यो कमाएर ऋण तिर्ने । अनि जसरी भए पनि जइ ठाउँ भए पनि पढ्न कस्सिने र जागिर नखाई छोड्दिन भन्ने धारणा छ । अब भाग्यमा के लेखेको छ तर पढ्न मन भएर मात्रै हुन्न । पैसा पनि हुन्न छोराछोरी पठाउनुपर्यो । यत्रो वर्ष दुःख गर्दा पनि हेडमास्टरले बुझिदिएन । अहिले त त्यो स्कुलमा लडौंला फेरि जाउँला भन्ने छैन । बाँच्न त जसरी भए पनि बाँचौंला नि ।
कति छ ऋण ?
चार/पाँच लाख छ । आएको तलब पनि पछि दिउँला भनेर हेडमास्टर जुवा खेले । पछि ब्याजसहित दिउँला भन्थे, दिएनन् । त्यो त्यस्तै रह्यो । त्यो पैसा लिएर के गर्नु ? राहत कोटामा मिलाउँछन् कि भनेर त्यो पैसा पनि मागेनौं । हाम्रो छुट्टै पैसा पनि ७०/८० हजार हेडमास्टरले लिए । त्यही पैसाले मिलाउँला किन खर्च गर्ने भनेर हामीले मागेनौं । लथालिंग भएको स्कुललाई सुधारेर राम्रो बनायौं । उनीहरुले कता–कता मिलाए, हामी गाउँ बस्न सकेनौं । ऋण तिर्न पाए जसरी भए पनि छोराछोरी र श्रीमान्लाई पठाउने रहर थियो । अहिले यस्तो भयो । मान्छे बाँच्नै गाह्रो होलाजस्तो छ ।
अब के गर्ने ?
घर पठाए हुन्थ्यो भन्नी त छ नि । गहुँ पाकेको छ, काट्ने मान्छे छैनन् । बा बिरामी हुनुहुन्छ रे, सासूआमा पनि बिरामी हुनुहुन्छ । खोई के गर्ने होला ? बर्बाद पार्यो । लकडाउन खुले गैजाउँला ।
