४ महिनामा ४ जिल्ला ११ मस्जिद

मातृका दाहाल

काठमाडौं — कोरोना भाइरसको संक्रमण देखिएपछि कोसी अस्पताल विराटनगरमा उपचाररत ११ भारतीय नागरिक नेपाल प्रवेशपछि चार जिल्लाका ११ मस्जिदमा बसेको खुलेको छ ।

४ महिनामा ४ जिल्ला ११ मस्जिद

मंसिर २५ गते बुधबार (११ डिसेम्बर २०१९) मा भारतबाट जोगबनी हुँदै नेपाल पसेका उनीहरू साढे चार महिनाको अवधिमा मोरङ, सुनसरी, सप्तरी र उदयपुरका ११ वटा मस्जिद डुलेको प्रहरीले तयार पारेको उनीहरूको यात्रा विवरणमा छ ।

उनीहरूलाई मस्जिदमा पुर्‍याउन नेपालीले सघाएका थिए । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जोगबनीबाट विराटनगर प्रवेश गरेका भारतीयहरू सीमानाको रानीस्थित मस्जिदमा चार दिन बसेपछि मंसिर २९ मा मोरङकै सिंघिया खोला भलुवाइ मस्जिद पुगेका थिए ।

भलुवाइमा एक साता बसेर सुनसरीको दुहबीस्थित मस्जिदतर्फ लागे । त्यहाँ तीन दिन बसेपछि छिटाहा मस्जिदतर्फ गए । त्यहाँ २० दिन बसेर उनीहरू सुनसरीकै भोक्राहा मस्जिदतर्फ लागे । त्यहाँ एक साता बसेर कोसीब्यारेजनजिक भन्टाबारीस्थित मस्जिद पुगे । आठ दिन बसे । त्यहाँबाट सप्तरीको बरमझियास्थित मस्जिद पुगेका उनीहरू एक साता बसेर सप्तरीकै बसन्तपुरस्थित चारखिया मस्जिदमा पुगे । त्यहाँ १० दिन बिताए । त्यहाँबाट सप्तरीकै फत्तेपुरस्थित मस्जिद पुगे । तीन दिन बसेर उदयपुरतर्फ लागे । सप्तरीका तीनवटा मस्जिद डुल्ने क्रममै त्यही जिल्लाको वोदेबरसाइन नगरपालिका–५, जाजरमा फागुन ३ मा अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन उद्घाटन हुँदै थियो । तर सप्तरीकै मस्जिदमा हुँदा पनि आफूहरू सम्मेलनमा नगएको दाबी संक्रमित भारतीयले गरेका छन् । यसलाई सुरक्षाकर्मीहरूले पत्याएका छैनन् ।

सप्तरीका तीन मस्जिदमा करिब तीन साता बसेका उनीहरू फागुन २५ गते उदयपुरतर्फ लागेका थिए । उदयपुरको सिवाइस्थित मस्जिदमा एक साता र भुल्केमा ३५ दिन बसेको देखिन्छ । तर सप्तरीमै हुँदा भएको मुस्लिम सम्मेलनमा आफू नगएको दाबी गरे पनि सुरक्षाकर्मीले यसको खोजी भइरहेको बताएका छन् । मुस्लिम सम्मेलन हुँदा उनीहरू फत्तेपुरको मस्जिदमा थिए । उनीहरू सप्तरीको मुस्लिम सम्मेलन र पुन: भारत गएर नेपाल फर्किएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपालमा हालसम्म विदेशबाट आएका नेपाली र उनीहरूसँग घुलमिल गरेकामा मात्रै संक्रमण देखिएका कारण भारतीयले को–कोसँग संगत गरे भन्ने विवरण प्रहरीले खोजिरहेको छ । ११ वटा मस्जिदमा सयौं जनासँग घुलमिल गरेका उनीहरूले त्यस क्रममा सार्वजनिक सेवाका सवारी प्रयोग गरेका थिए । त्यस क्रममा उनीहरूसँग उठबस गर्नेहरूमा पनि संक्रमण हुन सक्ने भन्दै त्यसको खोजी भइरहेको छ ।

यसका लागि चार जिल्लाका प्रहरीले समन्वय साथ अनुसन्धान गरिरहेको उदयपुर एसपी वीरबहादुर बुढाले बताएका छन् । मोरङका एसपी विश्व अधिकारीले ट्राभल हिस्ट्रीलगायत प्राविधिक अनुसन्धानमा केन्द्रित भएर प्रमाण जुटाउने क्रममा रहेको बताए ।

प्रकाशित : वैशाख ८, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?