'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै प्रधानमन्त्री कड्किएपछि…

मातृका दाहाल

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले रक्षामन्त्री ईश्वर पोखरेलसँग समन्वय गरेर तेस्रोपटक लकडाउनको म्याद थप भएसँगै राजधानी छोडेर आफ्नो थाँतथलो फर्कन खोज्नेहरुको स‌ंख्या बढेकोले एकपटकका लागि घर फिर्ने व्यवस्था गर्ने वा जो–जहाँ छन्, त्यही आसपास प्रभावकारी गाँसबासको प्रबन्ध मिलाउने विकल्प अघि सारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रोकिदिएको खुलासा भएको छ ।

'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै प्रधानमन्त्री कड्किएपछि…

सुरक्षाकर्मीलाई छल्दै सुत्केरीदेखि गर्भवतीसम्म, बालकदेखि वृद्धसम्मको घर जाने लस्कर बढिरहेको दिनहुँ समाचारमा फोटो र कथा आउन थालेपछि सरकारलाई दबाब पर्न थालेसँगै गृह र रक्षामन्त्री दुईमध्ये एक विकल्पमा गइहाल्नु पर्नेमा सहमत भएका थिए । त्यसपछि पोखरेलले आफ्नो नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक डाकेका थिए । उता गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखहरुलाई समेत डाकेर बैठकमा पेश गर्ने एजेण्डा तय गरिसकेका थिए ।

शुक्रबार मध्यान्ह बसेको सुरक्षा बैठकमा गृहमन्त्री थापाले अलपत्र परेकालाई एकपटकका लागि घरसम्म पुर्‍याउने व्यवस्था गर्ने वा प्रभावकारी रुपमा गासबासको व्यवस्था मिलाउने मध्ये दुईमा एक निर्णय गराउने विषय पेश गरे । गृहबाट एजेण्डा स्वीकृत गराएर थापा उच्चस्तरीय समिति बैठकमा पुगे । समिति बैठकमा जानुअघि थापाले अलपत्र परेकालाई कसरी घर पठाउन सकिन्छ भन्ने खाका बनाइराख्न पनि गृहका अधिकरी र सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए । उनले सबै एजेण्डा उपप्रधानमन्त्री पोखरेलसँग समन्वय गरेरै बनाएका थिए ।

समितिका अधिकांश सदस्यले दुवै विकल्प सही र उचित भन्दै त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि राय लिएर निर्णय गर्नुपर्ने बताएपछि सिंहदरबारबाट पोखरेलसहित उच्चस्तरीय समितिका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ हानिए । तर, प्रधानमन्त्री ओली गृह मन्त्रालय र उच्चस्तरीय समितिबाट आएका प्रस्तावको विरुद्धमा उभिए ।

'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै उल्टै जंगिएका प्रधानमन्त्री ओलीले सरकारविरुद्ध अफवाह फैलाउने र सानातिना कमीकमजोरीमा खेल्नेको पछि नलाग्न निर्देशन दिए । लकडाउनमा कुनै सम्झौता नगर्न चेतावनी दिए ।

‘कोही–कोहीले खान पाएका रहेनछन् भने पनि त्यसको प्रबन्ध मिलाइदिनु तर घर पठाउने कुरा गर्दै नगर्नुस्,' उनले समितिका सदस्यहरुलाई भने ।

त्यसपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापासहित गृहसचिव महेश्वर न्यौपाने, सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग छुट्टै छलफल गरेका थिए । स्रोतका अनुसार उच्चस्तरीय समिति बैठकमा केही आक्रोश र असन्तुष्टि पोखेका प्रधानमन्त्री ओली सुरक्षा अधिकारी सम्मिलित बैठकमा केही नरम बने ।

यो बैठकमा उनले सरकारले प्रभावकारी कदम चालेकै कारण कोरोना संक्रमण नियन्त्रणमै रहेको दावी गर्दै करिब ४५ मिनेट आफ्नो धारणासहित र निर्देशन दिएका थिए । त्यहाँ ओलीले कोरोना महामारी नियन्त्रणमा नबहकिकन लकडाउन कार्यान्वयन गर्न र मानिसको आवतजावत ठप्प पार्न समेत निर्देशन दिए ।

‘घरजाने भनेर एकदुई हुल मानिस निस्किए भन्दैमा आत्तिनु हुँदैन, कडाइका साथ लकडाउन पालना गर्नुस्, स्थानीय प्रशासन र सुरक्षा निकायलाई चुस्त गरी परिचालन गर्नुस्,’ओलीको भनाई उद्धृत गर्दै उच्च स्रोतले भन्यो, ‘सरकारले संकट टार्न गरेका पहल र कदम नदेख्ने, अनि सानातिना कमीकमजोरी उचाल्ने काम भइरहेको छ, त्यसलाई वास्तै नगर्नुस् ।’

त्यसपछि उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा र सुरक्षा प्रमुखले बोलेका थिए । सबैले आआफूले गरेका कामको जानकारी गराए । सीमा सिलदेखि लकडाउन कार्यान्वयन र चुनौती सामनाबारे सुरक्षा प्रमुखले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । बैठक साँझ ८ बजेतिर बैठक सकिएको थियो ।

प्रकाशित : वैशाख ६, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?