किट अभावमा सल्यानमा ऱ्यापिड टेस्ट स्थगित

वैशाख ६, २०७७

विप्लव महर्जन

सल्यान — किट सकिएपछि सल्यानमा र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) स्थगित भएको छ । परीक्षणका लागि कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले ६ सय थान किट पठाएको थियो । 

अब ८० किट मात्र बाँकी छ । २ थान किट खेर गएको र मौज्दात किट अत्यावश्यक परीक्षणका लागि चाहिने भन्दै परीक्षण स्थगित गरिएको हो । सल्यानमा भारत र अन्य मुलुकबाट करिब ९ सय व्यक्ति फर्किएको तथ्यांक छ । स्थानीयबासी चोरी बाटोबाट पनि फर्किएकाले यो संख्या अझैं बढ्ने जिल्ला प्रशासनले जनाएको छ । स्वास्थ्य सेवा कार्यालयले ४ गतेदेखि भारत र अन्य मुलुकबाट फर्किएकाको द्रुत परीक्षण सुरु गरेको थियो । कार्यालयका अनुसार दार्मा, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, कुमाख र सिद्धकुमाख गाउँपालिकामा परीक्षण सकिएको हो । 

शारदा, बाग्चौर, बन्गाडकुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा किट नपुगेपछि द्रुत परीक्षण स्थगित गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन वुढामगरले बताए । उनका अनुसार जिल्लाभरि अहिलेसम्म ५ सय १८ जनाको र्‍यापिड टेष्ट गरिएको छ । शारदा र बाग्चौर नगरपालिकामा अभियान सुरु गर्न खोजे पनि बाहिरबाट फर्किएका आधालाई पनि चेकजाँच गर्न नसकिने भएपछि स्थगित गरिएको उनको भनाइ छ । ‘किट सकिन थालेपछि  निर्देशनालयमा ३ दिनअघि नै पत्राचार गरिएको थियो,’ उनले भने, ‘तत्काल पठाउन नसकिने जानकारी आएपछि गाउँमा खटिएका स्वास्थ्यकर्मीलाई फर्कन निर्देशन दिइएको छ ।’

कार्यालयले जिल्लामा कारोना भाइरसको संक्रमण भित्रन नदिन र नियन्त्रण गर्न चैत्र १ गतेदेखि मुलुक बाहिरबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षण थालेको थियो । जसका लागि चिकित्सकसहितको २ टोली विभिन्न पालिकामा परिचालन गरिएको थियो ।

बिहीबारदेखि सुरु भएको कार्यक्रमअनुसार दार्मा, कपुरकोट र त्रिबेणीमा २ सय ६३ जनाको परीक्षण गरिएको थियो भने कुमाख, सिद्धकुमाख र छत्रेश्वरीका २ सय ३२ जनाले र्‍यापिड टेष्ट गराएका थिए । त्यसअघि जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका २३ जनाको आरडीटी परीक्षण गरिएको थियो । ‘अहिलेसम्म स्वास्थ्य परीक्षण गरेका कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन,’ डा. बुढामगरले भने, ‘निर्देशनालयबाट किट आएपछि अन्य पालिकामा शिविर राखेर परीक्षण सुचारु हुनेछ ।’

लकडाउनकोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully