इँटा भट्टाबाट अनुरोध- रोल्पा जान पाउँ ! 

वैशाख ६, २०७७

रीना मोक्तान

काठमाडौँ — चैत २७ गते लकडाउनमा परेर घर जान नपाउनेका लागि खुशीको खबर आयो । सरकारले घर जान चाहनेलाई जान दिने । मीनु करेलको समूहले झिम्टी-झम्टा कस्यो । दाङ जाने दुईवटा बस बुक भयो ।

केहीले घर पुगेको कल्पना नै गरिसकेका थिए । झिटी-झम्टा लिएर झ्याउली (ईट्टाभट्टामा मदजुर बस्ने कोठा) बाहिर के निस्केका थिए उनीहरुको घर जाने सपना खोसियो । अर्को समाचार आयो– काठमाडौं बाहिर जानेलाई तत्काल नपठाइने । 

त्यस दिनयता मीनुको समूह भक्तपुरको हनुमान ईट्टाभट्टाकै झ्याउलीमा बस्दैछन् । सरकारले वैशाख १५ सम्मलाई लकडाउन लम्ब्याइसकेको छ । उनीहरु जति सक्दो चाँडो रोल्पा फर्कन चाहन्छन् । तर, बाध्यताको अघि उनीहरुका सपनाले घुँडा टेकेको छ । 

मीनुको नेतृत्वमा पुस महिनामा ५० जना रोल्पाबाट उक्त भट्टामा ईट्टा बोक्न आएका थिए । हुन त चैत/वैशाख, धेरै काम हुने समय हो। तर, यसपाली ईट्टा बनाउने समूह कोरोनाले गर्दा चाँडै घर फर्के । ईट्टा बनाउने नै नभएपछि ईट्टा बोक्नेको के काम ? बाँकी भएका ईट्टा पनि बोकी सिद्ध्याए । तर, मनमा काम सिद्धिएको खुशीभन्दा पनि बर्षाको लागि बचाएको रकम सकिने चिन्तामा छन् उनीहरु । 

 'हामी यहाँ धेरै छौं । ईट्टा बोक्ने काम आजबाट सिद्धियो । यतिका मानिसलाई हामीले कसरी राख्ने ? खानापिना चाहियो । हिँड्न पनि बन्द छ, काम पनि छैन । त्यतिकै बसिरहेका छौं,' झ्यालीमा अडेस लगाउँदै मीनुले भनिन्, 'राम्रो कमाई हुने समयमा यस्तो अवस्था भयो । घर लानलाई बचाएको १० हजार पनि लग्न नसक्ने भयो । गाह्रो छ । अब १० दिनमै त्यो पैसा सिद्धिन्छ । सरकारले सक्दो रोल्पा नै पठाउँदा ठीक हुन्थ्यो ।' 

६ महिनाभरी काम गरेर बर्षाको लागि केही जोहो गर्ने उदेश्यले उनीहरु भट्टामा ‍ईट्टा बोक्न आएका हुन्छन् । अरुबेला कतिले ५० हजार त कतिले १ लाखसम्म पैसा बर्षाको लागि जोहो गर्थे । यसपालीको बचत रकम लकडाउनमै खाएर सकिन थालेपछि उनीहरुको पीर बढेको छ । 

'गाउँमा सामान केही किन्नु पर्दैन । यहाँ किन्नु नपर्ने पानीमात्र हो । पानी साहुले दिएको छ । बाँकी पैसा हप्ता दिनमै सिद्धिन्छ । रोल्पा गएर खाने के लाने के, यस्तै रहेछ जिन्दगी । यहाँ एक हप्ता नै काट्न गाह्रो भइरहेको छ,' मीनुले आफ्नो दुखेसो पोखिन्, 'लकडाउन अब खै खुल्छ कि खुल्दैन । कहिले वैशाख १५ गतेसम्म भन्छन् । कहिले १ महिना भन्छन् । घरदेखि बच्चाहरुले तिमीहरु कहिले आउँछौं आमा भनेर तनाव छ । छोरीहरु आत्तिएका छन् । नातीले बज्यै कहिले आउँछौं भन्छ ।'

मीनुका श्रीमान, छोरा र एक छोरी उनीसँगै ईट्टा बोक्न आएका छन् । रोल्पामा दुई छोरी, बुहारी अनि नातिनी उनीहरुको बाटो कुर्दैछन् । तर मीनुलाई पनि थाह छैन, लकडाउन कहिले खुल्ला ? उनलाई घर जाने छटपटी छ । 

पोहोर साल पानीले दु:ख दियो, चाँडै घर फर्के । यसपाली कोरोनाले गर्दा खाली ईट्टाभट्टामा एकअर्कालाई आश्वासन दिँदै बसिरहेका छन् उनीहरु । 'साहुले बस त भन्नु भएको छ । तर, हामीलाई छटपट लागिरहन्छ । मर्‍यो भने एकैसाथ परिवारसँगै भएर मर्न सकिन्छ । तनाव छ । सरकारले हामीलाई चाँडो घर पठाइदिए हुन्थ्यो भन्ने आशा छ' लामो सास फेर्दै मीनुले भनिन् ।

...

मीरा मीनुकी माइली छोरी । कक्षा ८ पढ्दा पढ्दै आमा बुबासँगै ईट्टा बोक्न भक्तपुर आइन् । पढ्न त्यति जाँगर नचल्ने उनलाई भट्टामा के-के न हुँदो भन्ने कुराले तान्यो । पढाई छोडेर आमाको पछि लागिन् । पुस महिनाको जाडोमा कठ्याग्रिँदै काम गरिन् । हजारवटा ईट्टा बोक्दा ४ सय पाइन्छ । ईट्टा बोक्ने बानी नभएकोले सुरुमा बिरामी हुन्थिन् । जसोतसो पाँच महिना ईट्टा बोकिन् । तर, अब फर्कने बेलामा घर जान नपाउँदा उनको मन अमिलो भएको छ ।  

'भट्टा भन्ने सुनेपछि आउन मन लाग्यो । तर अहिले बुझें, कति गाह्रो हुन्छ भट्टामा । पुष/माघतिर त बेस्सरी जाडो हुन्छ । हात ठिहाउँछ, तर पनि ईट्टा बोक्नुपर्छ । अहिले बुझ्दैछु,' उनले भनिन् 'बल्लतल्ल सिजन सकिएको घर जाने मन छ । हिँडेर जान मिलेन ।'

१६ वर्षिया मीरा गाउँ फर्केर पढ्न चाहन्छिन् । दिदी र बहिनीसँगै विद्यालय जान चाहन्छिन् । लकडाउनले गर्दा विद्यालय गएको कल्पनु सिवाय झ्याउलीको गर्मीमा उनीसँग गर्ने अर्को उपाय छैन । 

मीरासँगै एउटै विद्यालयमा पढ्थिन् अनुजा विक । साथीहरुको लहैलहैमा लागेर उनी पनि भट्टा आइपुगिन् । ईट्टा बोक्ने, पैसा कमाउनेभन्दा पनि काठमाडौं घुम्ने रहरले उनलाई भक्तपुरसम्म डोर्‍यायो । आमा बुबाको गाली खाने डरले कक्षा ८ को परिक्षा सकेर ठूली आमासँग यता आइन् । यता आएको भर्खर १ महिना भयो । कोरोनाको संक्रमण फैलदै गर्दा भट्टा आएकी उनले काठमाडौंमा प्रवेश त गरिन् । तर, काठमाडौं सहर घुम्न पाइनन् । भक्तपुर पनि घुम्न पाइनन् । 

ईट्टा बोक्न आएको केही दिनमै सरकारले लकडाउन घोषणा गर्‍यो । उनीहरुको काठमाडौं हेर्ने सपना पनि अधुरै रह्‍यो । 'काठमाडौं घुम्न नै पाएको छैन नि । हामी काठमाडौं आउने बित्तिकै कोरोना आयो,'अनुजाले हाँस्दै सुनाइन् । अनुजाको कुरा खस्न नपाउँदै दीलमायाले भनिन्, 'घरमा आमाबुवा दाजूभाउजू चिन्ता लिएर बस्नु भएको छ । अब त घर जान मन लागिसक्यो । खै कहिले जान पाउने हो ?' मलिन आवाजमा भनिन् । 

कुराकानीकै बीच भट्टामा काम गर्ने सुरक्षा गार्ड सोधखोज गर्न आइपुगे । भट्टामा अपरिचलाई छिर्न नदिने जिम्मा पाएका उनले पनि हामीसँग आफ्नो समस्या सुनाउन भ्याए । घर सिन्धुली । चार महिना भयो भट्टामा काम थालेको । घर परिवार चिन्तामा छन् । घर फर्किउ भन्दै फोन गर्छन् तर उनी बाध्य छन् यतै बस्न । 'समस्या छ । घर परिवारसँग भेट्न पाएको छैन । कोरोना लाग्ने डर छ । जबसम्म यहाँ काम गर्नेहरु हुन्छ हामी यहीँ बस्नै पर्छ । बुवा आइज भन्नुहुन्छ' उनले भने । 

...

पानकली घुँडाको समस्या भएकाले उपचार गर्न भक्तपुर आइन् । घरपरिवार सबै रोल्पा । चिनेजानेका तिनै रोल्पाली । त्यसैले भक्तपुर आउनसाथ गाउँले बस्ने झ्याउली आइन् । केही दिनमै सरकारले लकडाउन घोषणा गर्‍यो । उनलाई आफ्नो उपचारको भन्दा पनि अरुकोमा पाहुना भएर बस्न अप्ठ्यारो परेको छ । 'उपचार गर्न आको । घुँडा दुखेर । घर जान पनि पाइन । बिजोग छ,' उनले भनिन् ।  

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully