अलपत्र २२ जनाको उद्धार

वैशाख ६, २०७७

रमेशचन्द्र अधिकारी

धनकुटा — लकडाउनका कारण धनकुटा, सुनसरी र भोजपुरको सीमावर्ती त्रिवेणीमा अलपत्र परेका २२ जनाको शुक्रबार राति उद्धार गरिएको छ । 

सुनसरीको चतरा हुँदै हिँडेर त्यहाँ पुगेका उनीहरु सबै भोजपुरका विभिन्न स्थानका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । राति साढे ८ बजे उनीहरुलाई भोजपुरको हतुवागढी, धनकुटाको सहिदभूमि गाउँपालिकाका जनप्रतिनिधि, प्रहरीको समन्वयमा उद्धार गरिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । 

सुनसरीको बराहा नगरपालिका तथा उदयपुरको बेलका नगरपालिका नाका हुँदै सर्वसाधारण आवतजावत गर्ने गरिएको स्थानीयले बताए । सो नाकामा कडाइ नगरिए समस्या हुन सक्ने स्थानीय शिक्षक भानुभक्त राईले गुनासो गरे । त्यस क्षेत्रको  स्थलगत अवलोकन गरी अन्य जिल्लाका जनप्रतिनिधि र प्रशासनसंग समन्वय गरेर कडाइ गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।


उद्धार गरिएकामा एक गर्भवती महिलासहित २ नाबालक छन् । उद्धार गरिएका सबैलाई भोजपुरको हसनपुरस्थित विद्यालयको तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

सोही स्थानमा दुई दिन अघि पनि अलपत्र परेका अन्य ४६ जनाको उद्धार गरिएको प्रहरीले बताएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully