एम्बुलेन्सलाई प्रदेश मातहतमा राख्न मुख्यमन्त्री पौडेलको निर्देशन 

वैशाख ६, २०७७

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

प्रदेशको कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमान्ड पोष्टले एम्बुलेन्स खिचेर सञ्चालन गर्नुपर्ने धारणा राखे । राज्यबाट छुट लिएर सञ्चालन भएका कतिपय एम्बुलेन्सले राज्यलाई संकट पर्दा असहयोग गरिरहेको भन्दै उनले साविकका सञ्चालक वा चालकले एम्बुलेन्स चलाउन नमाने सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताए । पौडेलले निश्चित दूरी कायम गरेर कृषि कार्य गर्न दिने गरी योजना बनाउनुपर्ने धारणा राखेका थिए । 

समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाध रुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गर्नु पर्ने बताए । स्थानीय तहलाई सावधानी अपनाएर र दूरी व्यवस्थापन गरेर कृषिको काम गर्न/गराउन आग्रह गरेका थिए । 

उनले लकडाउनका कारण कतिपय ठाउँमा जुवातास खेल्न र अन्य विकृतिजन्य कार्य गर्न थालेको जानकारी आइरहेकाले त्यस्ता गतिविधिलाई तत्काल रोकेर त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले आफनो घर जान हिँडेका र अलपत्र परेकाको व्यवस्थापन गर्न मातहतका निकायलाई तत्काल पहल गर्न निर्देशन दिएका थिए । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully