कोरोना कैरन

हामीमा सामाजिक नैतिकता र सामूहिकताको भाव ह्रास हुँदै गएको छ । यसरी नै नेपाली समाजको चारित्रिक विशेषता ह्रास हुँदै जाने हो भने नेपालीको चरित्र अन्ततोगत्वा न पश्चिमी देशको झैं व्‍यक्तिप्रधानतामुखी हुनेछ न त पूर्वीय सामाजिक सामूहिकतामुखी नै ।

वैशाख ६, २०७७

डम्बर चेम्जोङ

डिसेम्बर २०१९ देखि चीनको वुहान सहरमा महामारीको रूपमा सुरु भएर हाल विश्वभर फैलिएको कोरोना भाइरस–१९ चमेराबाट सालक हुँदै मानिसमा सर्‍यो होला भन्ने अनुमान गरिन्छ । यस भाइरसको संक्रमणबाट हुने रोगलाई विश्व स्वास्थ्‍य संगठनले फेब्रुअरी २०१९ को दोस्रो हप्तामा कोभिड–१९ नामकरण गरेपछि यो रोगको नाम नै कोभिड–१९ रह्यो ।

यस दौरानमा यूएसएका राष्ट्रपति ट्रम्पले बारम्बार ‘चाइनिज भाइरस’ भने र विदेशमन्त्री माइक पम्पेओले विकसित जी–सेवेन देशहरू (यूएसए, क्यानडा, जर्मनी, फ्रान्स, इटाली, यूके र जापान) को मिटिङमा यस रोगको नाम वुहान भाइरस राख्न प्रस्ताव गरे पनि अन्य देशहरूले मानेनन् ।

नयाँ शब्दहरूको आविष्कार 

आजसम्म नयाँ रोगहरूको पहिचान, निदान र उपचारमा मूलत: मेडिकल साइन्सभित्रैबाट शब्द र शब्दावली निर्माण हुन्थेजस्तो लाग्छ । तर, कोरोना भाइरस–१९ रोगका कारण भने सुन्दैमा अलोकतान्त्रिक लाग्ने ‘लकडाउन’ शब्द विश्वव्यापी बनायो । साथै ‘सोसल डिस्टान्स’, ‘फिजिकल डिस्टान्स’ जस्ता अंग्रेजी शब्दहरू नेपाल भित्रिए । नेपाल सरकारले पहिलोपटकको ‘लकडाउन’ घोषणा यही अंग्रेजी शब्दमै गर्‍यो । तर, यस्ता शब्दको कानुनी तथा राजनीतिक र विभिन्न प्रयोजन भइरहने हुनाले नेपालीमा नै प्राविधिक शब्द–शब्दावलीको निर्माण वाञ्छनीय हुन्छ । यसैले नेपालीमा प्राविधिक शब्द बनाउने प्रयासमा ‘बन्दाबन्दी’, ‘घरबन्दी’ जस्ता शब्दहरू चर्चामा आएपछि कनकमणि दीक्षितले सुरुमा प्रयोग गरेको ‘बन्दाबन्दी’ शब्द मन्त्रिपरिषद्ले समेत प्रयोग गरेको सन्दर्भमा अब स्थापित हुनेछ भन्ने लाग्छ । घरबास हुनेहरू घरभित्र बस्ने मात्र होइन, देशदेशावर नै बन्दको स्थितिमा रहने भएकाले बन्दाबन्दी शब्द उपयुक्त देखिन्छ । यसरी नै रोगको संक्रमण हुन नदिन ‘भौतिक दूरी’, ‘सामाजिक दूरी’ भन्ने नौलो शब्दावली प्रचलनमा आयो । सामरिक हातहतियार, युद्धक जेट, बमवर्षक विमान, युद्धपोतहरू, सिपाही र कमान्डरहरू बन्दुकका

गोली–गठ्ठाहरूसँग लडिने युद्ध भनेर बुझिरहेकोमा कोरोना भाइरसले ‘युद्ध’ शब्दको अर्थ विस्तार गर्‍यो । यो युद्ध औषधिका गोलीसँग रोगविरुद्ध लडिने युद्ध भयो । सामाजिक–राजनीतिक वैमनस्यका कारण लडिन्थ्यो पुरानो युद्ध । कोरोना भाइरसविरुद्धको युद्ध भने सामाजिक सौहार्दता, सहायता र सद्भावले लडिने देखियो ।

कोरोना भाइरसको रोकथाम, निदान, उपचारका लागि विश्व अहिले युद्धस्तरमा काम गरिरहेको छ । तर, कोरोना भाइरस डिजिज–१९ बढ्तै आततायी निस्क्यो । मेडिकल साइन्समा आजसम्म गरिएको प्रगतिले चक्मा खाएको छ यो महामारीविरुद्धको लडाइँमा । बालकृष्ण समले लेखेजस्तै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ चरितार्थ भइरहेको स्थिति छ ।

मानवीयताको पक्ष

वुहानमा रोग फैलिनेबित्तिकै त्यहाँका नेपालीले देश फर्किने याचना गरेपछि नेपाल सरकारले भक्तपुरको खरिपाटीमा आगन्तुकलाई एकान्तबासमा राख्ने तयारी गर्दा–नगर्दै स्थानीयबाट ठूलो विरोध भयो । यसले नेपालीको मानवीयताको एउटा पक्ष र सामाजिक दायित्वबोध कस्तो रहेछ भन्ने दर्सायो । त्यसो त कोरोना भाइरस रोग चीनमा मात्रै सीमित हुनेछ भन्ने विश्वास गरेर बस्यो चीनबाहिरको संसार । एक प्रकारले चीनको खिल्ली उडाउने र खुच्चिङ भन्ने लाक्षणिक अर्थका सामग्री पस्कनमै पश्चिमा सञ्चारजगत् रमाएर बस्यो एक महिनाजति । नेपालमा पनि त्यही सिको गरेको देखियो । ‘तिमीलाई खाने बाघले मलाई पनि खान्छ’ भन्ने हेक्का भएन । तर, नेपालमा समेत यो रोगको संक्रमण भित्रिन सक्छ भन्ने भएपछि बजार भाउ आकासियो, बजारबाट सामान सबै हरायो । प्रथमत: साधारण सर्जिकल मास्क थाहै नपाई सकियो बजारबाट । कालोबजारी बढ्यो । नेपालमा पनि पुँजीवादीका लागि हरेक संकटले मुनाफा कमाउने नयाँ अवसर ल्याउँछ भन्ने भनाइ चरितार्थ भयो ।

नेपाली चरित्रको मानवीय पक्षको अर्को उदाहरण देखियो : इन्डोनेसियाका १३ जना मुस्लिम पाहुनाले कतै बास नपाएको स्थिति । तराईको एक जिल्लामा धार्मिक कार्यक्रममा भाग लिएर फर्किएका उनीहरू सुरुमा बालाजु, माछापोखरीको मस्जिदमा बस्ने योजना थियो । स्थानीयले विरोध गरेपछि प्रहरीले उनीहरूलाई ललितपुरको इमाडोलस्थित जामे मस्जिद पुर्‍यायो । त्यहाँ पनि स्थानीयले विरोध गरी बस्न नदिएपछि उनीहरूलाई गोदावरी लगियो । फेरि स्थानीयको विरोधपछि उनीहरूलाई अन्यत्रै लैजानुपरेको कुरा समाचारमा आएको थियो । दुई महिनाभन्दा अगाडि नेपाल प्रवेश गरेका पाहुनामाथि नेपालीको यस्तो व्यवहारले ‘पर्यटक पाहुना हुन्, पाहुना देउता समान हुन्छन्’ भन्ने नेपाली भनाइको धज्जी उडेको छ । यसरी कोरोनाले सबैभन्दा पीडा दियो, यात्रामा रहेकालाई । एकअर्कामा संक्रमण नहुने कुष्टरोगीलाई त पाप–धर्मसँग जोडेर गाउँ निकाला गर्ने उहिलेको नेपाली समाज, छेउ पर्दा नै रोगको संक्रमण हुन्छ भनेपछि नचिनेको निरोगीलाई पनि छेउ पर्न दिएनन् अहिलेका मानिसले । 

माथि उल्लिखित प्रवृत्तिलाई आम प्रवृत्ति मान्ने हो भने सामाजिक सौहार्दता, सद्भाव, ऐक्यबद्धता र निष्ठाका हिसाबले नेपाली मानवीयता कमजोर हुँदै गएझैँ लाग्छ । नेपाली समाज क्रमश: आत्मकेन्द्रित र व्यक्तिमुखी वा बढीमा आफ्नै परिवारकेन्द्रितसम्म बन्दै गएको भान हुन्छ । हामीमा सामाजिक नैतिकता र सामूहिकताको भाव ह्रास हुँदै गएको छ । यसरी नै नेपाली समाजको चारित्रिक विशेषता ह्रास हुँदै जाने हो भने नेपालीको चरित्र अन्ततोगत्वा न पश्चिमी देशको झैँ व्यक्तिप्रधानतामुखी हुनेछ न त पूर्वीय सामाजिक सामूहिकतामुखी नै । यस्तो प्रवृत्ति विकसित हुँदै जानमा कतै नेपालको विद्यालय शिक्षा प्रणाली वा हाम्रो आफ्नै समाजको सामाजिकीकरणमा केही खोट छन् कि ! 

वैश्विक तहमा कोरोना प्रभाव

विश्व व्यवस्थाका आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक सबै पक्षमा कोरोना महामारीको बृहत् र दीर्घकालीन असर पर्नेछ भन्ने लाग्दैन । किनभने वर्तमान विश्वका सबै देश, उत्पादन प्रणाली र राज्यव्यवस्थासमेत परस्परमा अत्यन्त अन्तरसम्बन्धित र अन्तरनिर्भर भैसकेका छन् । विश्व समाजको हरेक कुना, तह र तप्कामा मुद्रा र मार्केटको प्रभाव यति भित्रसम्म प्रवेश गरेको स्थिति छ कि यसबाट पछाडि फर्कन असम्भव छ । अहिले आर्थिक उत्पादन प्रणाली एक हदसम्म केही महिनालाई आंशिक रूपमा ठप्प वा निलम्बित भइरहेको स्थिति मात्र हो । साथै मुद्रा र मार्केटको हैसियत अहिले आंशिक रूपमा निलम्बित छ ।

केही समयपश्चात् हालको निलम्बित उत्पादन प्रणाली र प्रक्रिया सुचारु भएपछि संरचनाले आफ्नो पूर्वरूप लिनेछ । विश्व अर्थव्यवस्थामा कोरोना भाइरसको महामारीले ल्याएको आर्थिक मन्दीको परिणामको हिसाबकिताब त हुनेछ तर विश्व अर्थव्यवस्था पूर्वरूपमै फर्कनेछ किनभने सम्पूर्ण कुराहरूको पूर्वाधारमा क्षति पुगेको वा भत्केको स्थिति होइन । विकसित देशहरू र कामको अवसर प्राप्त खाडी देशबाट कामदारहरू फर्काइन्छन् होला भन्ने जो त्रास छ, त्यसरी त ती देश नै चल्ने छैनन् । बरु अहिलेको संकटमा घरबाट टाढा रहनुपरेकाहरू कहिल्यै विदेश नजाने गरी फर्कने सम्भावना पनि उत्तिकै छ । यसर्थ नेपालजस्तो देशको निमित्त कृषि प्रणालीमा नयाँ खेती पद्धति सुरु गरेर आत्मनिर्भरताको पक्षमा हिँड्न सकिन्छ । स्थानीय समुदायलाई आत्मनिर्भर हुनेगरी विकास र समृद्धिको नयाँ मोडेलहरू लागू गर्न सकिन्छ । 

यस महामारीको असर आर्थिक पक्षभन्दा केही ज्यादा विश्व राजनीतिमा पर्ला कि भन्ने लाग्छ । आगामी नोभेम्बरमा सम्पन्न हुने यूएसएको राष्ट्रपतिको निर्वाचनको पृष्ठभूमिमा हालका राष्ट्रपतिले कोरोना क्राइसिसलाई राजनीतिक हतियारको रूपमा पनि प्रयोग गरिरहेको प्रस्टै छ । यसै क्रममा यूएसएले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको कोष रोक्ने घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका एक पूर्वअधिकारीले ट्रम्पको यस्तो चाल मानवताविरुद्ध अपराध हो भन्ने आरोप लाएका छन् । स्थिति हेर्दा चीन आफ्नो उत्पादन प्रणालीको पुरानै लयमा चाँडै फर्कने अवस्थामा छ ।

मानिलिऊँ, विश्व स्वास्थ्य संगठनलाई यूएसएले यस वर्षका लागि कबोल गरेको कोष करिब ५७ मिलियन यूएस डलर साँच्चै नै रोक्यो र त्यो रकम चीनले थपिदियो भने यूएसए र यूएनबीचको राजनीति कस्तो होला ? चीन पुरानै लयमा फर्किरहँदा अफ्रिकी देशहरूसँग चीनको हालको नजिकको सम्बन्ध पुरानै गतिमा अघि बढाइरहन सक्नेछ । एउटा सम्भावना, चीन लामो समय कोरोना महामारीले थला परेको भए अफ्रिकासँगको उसको सम्बन्धमा आउने खाली ठाउँ भर्न युरोप वा उत्तर अमेरिका तयार हुने अवस्था आउन सक्थ्यो । तर, हाल परिस्थिति युरोप र उत्तर अमेरिकाका लागि प्रतिकूल भइदियो । उनीहरू आफैँ तंग्रिन केही समय लाग्ने देखियो । युरोपियन युनियनभित्रको आन्तरिक राजनीतिमा पनि केही हदसम्म कोरोना प्रभाव पर्छ भन्ने लाग्छ । 

नेपाली अवस्था 

नेपालमा कोरोना महामारी फैलन नदिन पूर्वसावधानी अपनाउने क्रममै आर्थिक, सामाजिक हिसाबले दैनिक रूपमा ज्यालादारीमा जीवन गुजारा गर्नुपर्ने सबैभन्दा कमजोर वर्गले नै ठूलो संकट भोग्नुपर्‍यो । हामी घरबासको बन्दोबस्त भएकाहरू लकडाउन घोषणा हुनासाथ घरभित्र पस्यौं र हात धुँदै बस्यौँ । दैनिक ज्यालादारीमा काम गर्नेका लागि सात दिन मात्र पनि काम छुट्यो भने उनीहरू र उनीहरूको परिवार भोक–भोकै रहनुपर्ने सम्भावना शतप्रतिशत हुन सक्छ । यस्तो स्थितिको कामदार भोकै हुनुभन्दा रोगले भेटे पनि निको हुन्छु भनेर काम खोज्छ । यसैले हुन सक्छ, काठमाडौंका कामदारहरू दैनिक दर्जनौंको संख्यामा पैदल हिँडेर घर–गाउँ फर्किरहेका छन् । सोलुखुम्बुबाट कैलाली, ललितपुरदेखि सुनसरी जाँदै छन्, भक्तपुरदेखि बर्दिया हिँड्दै छन् । केही होला कि भन्ने आशाले काठमाडौं पसेका कामदार आज भोकले रन्थनिएर जीवनको ‘लङ मार्च’ मा छन् । यहाँ ‘लकडाउन’ को विरोध गरिएको होइन तर सरकारले यस्ता घोषणा गर्दा विपन्न वर्गलाई सर्वप्रथम ध्यानमा राख्नुपथ्र्यो । घरबास हुने त्यसैभित्र बस्छन्, घरबासै नहुने कहाँ बस्लान् भन्ने हेक्का सरकारले राखेन । सबैखाले समस्या, संकट बुझ्न र समाधान खोज्न वर्गीय कोणबाट केलाउनुपर्छ भनेर हामी कहिल्यै थाक्दैनौं । हामी केही गरिखाएका, अलिकति पढिखाएकाहरूको चेतना र मजदुर वर्गको मुक्तिको लडाइँ लड्ने हाम्रो वर्गवादी चेत पनि लकडाउनसँगै लकअप भएको पत्तै भएन । 

करन कुँवर र पुष्पा पौडेलले ‘काठमाडौं उपत्यकामा मजदुरहरूलाई पुग्दो पिउनलाई सफा पानी उपलब्ध छैन, हामी हरेक आधा घण्टामा साबुन–पानीले हात धुँदै बस्ने’ अभियान चलाइरहेका छौँ लेखेर फट्कारेपछि अनि कवि विनोदविक्रम केसीले ‘लालबहादुर घरभित्रै छ’, सामाजिक ‘दूरीका निम्ति यति धेरै चिन्ता गर्नुपर्दैन, सदियौँदेखि हुने र नहुनेबीच विकराल छँदै छ दूरी’ लेखेर सान्त्वना दिएपछि मात्र हामी ढुक्कले बस्न सकेका हौँ घरभित्र पनि । काठमाडौंमा हामी केही गरिखाएका, पढिखाएका लालपथका बटुवाहरू, आफ्नै अनुहार ऐनामा हेर्दा यस्तो लाग्छ— हामी मुखले माक्र्सवादी हौँ, चित्त र चिन्तनले सामन्तवादी हौँ र जीवनशैलीले पुँजीवादी हौँ– बन्दाबन्दी हाय हाय, हामी सुरक्षित हुन पाए, कामदारहरू जतासुकै जाय । 

महेन्द्र पी लामाका वाक्यांश लिने हो भने ‘कोरोनालाई पनि राजनीतिको नाङ्लोमा निफन्ने प्रवृत्ति’ नेपालमा पनि छरपस्टियो । राजनीति सरकारपक्षीय र सरकारइतरमा मात्र सीमित रहेन, अझ दुवै पक्षबीच गुट उपगुटमा विभक्त भएर सरकारले अपनाएका कोरोनाबाट बच्ने उपायप्रति समर्थन र विरोधका स्वरहरू प्रवाहित बने । कोरोना संकटसँग जुझ्न सर्वदलीय सरकारको अनौपचारिक माग उठ्यो । एक जना प्रतिपक्षका नेताले मध्यावधि निर्वाचनको जिकिर पनि गरे । फेरि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनुपर्छ भन्ने पनि आयो । सरकार पनि के निर्णय कसरी गरिरहेको छ, आफैँलाई पत्तो नहुने गरी आत्तिएजस्तो देखियो । पैदलै घर फर्किरहेका मजदुरका लागि दुई दिन यातायात चल्ने निर्णय गरियो । आँखा झिमिक्क गरियो, अनि पढियो त्यस्तो कुनै निर्णय भएको छैन । कमरेड प्रचण्डले ठीकै भनेका रहेछन्, ‘द्वन्द्ववाद भनेको त हो पनि होइन पनि हो नि त ।’

कोरोना भाइरसविरुद्धको लडाइँ प्राविधिक र सामरिक क्षमताले मात्रै लड्न सकिने होइन । यसलाई सामाजिकता, आपसी सहयोग, समझदारी र सामाजिक अनुशासनले रोक्न र जित्न सकिन्छ । तर, यहाँ न त सत्तासीनमा निष्कपटता र निष्ठा प्रतीत हुन्छ न त प्रतिपक्षीमै जिम्मेवारीबोध । 

लकडाउनकोरोना भाइरस

डम्बर

Link copied successfully