ईपीएल टुंग्याउन क्लब तयार- खेलकुद - कान्तिपुर समाचार

ईपीएल टुंग्याउन क्लब तयार

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) को यो सिजन टुंग्याउन माथिल्लो डिभिजनका क्लब शुक्रबार तयार भएका छन् । क्लबको बैठकले जुन ३० सम्म लिग सकाउने समय सीमा भने तोकेका छैनन् ।

कोरोना भाइरस संक्रमणका कारण मार्च १३ देखि लिगका खेल हुन सकेका छैनन् । यस्तोमा लिग टुंग्याउने मिति तय गर्न २० क्लबमाथि दबाब थियो । लिगमा अझै ९२ खेल बाँकी छन् ।

लिगको यो सिजन टुंग्याउन सकेन भने १ अर्ब पाउन्ड बराबरको नोक्सानी हुने हुनाले सबै क्लब बाँकी खेल खेल्न तयार भएका हुन् । बेलायत मे ७ सम्म लकडाउन रहेको हुनाले सबै क्लब स्थिति सुधार हुने प्रतीक्षामा छन् ।

प्रकाशित : वैशाख ६, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञको सुझाव मानेकाले जर्मनीमा मृत्युदर कम

जर्मनीमा हालसम्म १ लाख ४१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसके पनि मुत्‍यु हुनेको संख्‍या ४ हजार ३ सयमात्र छ
डा. सरोज चुडाल

बर्लिन — म जर्मनीको बर्लिनमा बस्छु । पेसाले इन्टरनल मेडिसिन र इमर्जेन्सी चिकित्सक हुँ । सन् २०१४ मा बर्लिनस्थित सारिटे मेडिकल विश्वविद्यालयबाट अध्ययन सकेपछि क्रान्केन हाउस अस्पतालमा कार्यरत छु । नेपालमा चिकित्सकका रूपमा काम गरेको लामो अनुभव नभए पनि सन् २०१५ को महाभूकम्पका बेला केही समय काम गरेको थिएँ ।

विकसित र विकासोन्मुख देशको विकास, प्रविधि र अन्य स्रोतसाधनमा जुन फरक छ, त्यस्तै फरक नेपाल र यताको स्वास्थ्य क्षेत्रमा पनि छ । नेपालमा सीमित स्रोतसाधनको परिधिमा रहेर कसरी राम्रो सेवा दिने भन्ने हुन्छ । त्यसको अनुपातमा यता साधन र स्रोतको सुविधा बढी हुन्छ । त्यसैले यता काम गर्न अलि सहज हुन्छ र राम्रो सेवा दिन सकिन्छ ।

जर्मनीमा स्वदेशी र विदेशीबीच विभेद हुन्छ भन्ने सुन्ने गरिन्छ । मैले भने त्यस्तो अनुभव गरेको छैन् ।

म आपत्कालीन सेवामा कार्यरत भएकाले विभिन्न खालका बिरामी आउँछन् । धेरैजसो मुटु र फोक्सोसम्बन्धी बिरामी हुन्छन् । गम्भीर हृदयाघात र मुटुसम्बन्धी अन्य रोगका बिरामीको संख्या धेरै हुन्छ । दम, आन्तरिक रक्तस्राव, ढाड दुखेका, पखाला लागेका उच्च रक्तस्राव र मुटुका सामान्य रोगी पनि उपचारका लागि आउँछन् । केही समस्या नभए पनि बिसन्चो भएको जस्तो लागेर अस्पताल आउने गर्छन् । आपत्कालीन सेवाका चिकित्सकको मुख्य काम नै बिरामीको त्यस्तो अवस्था किन भयो ? किन अकस्मात् बिरामी भयो भन्ने पत्ता लगाउनु हो । सकेसम्म त्यस्ता बिरामीको श्वासप्रश्वास, मुटु र स्वास्थ्य जटिलतालाई स्थिर राखेर रोग पत्ता लगाउने अनि त्यसको जटिलता हेरेर सघन उपचारमा पठाउने कि अन्य वार्डमा पठाउने भन्ने सिफारिस गर्नु पनि आपत्कालीन सेवाका चिकित्सकका प्रमुख कार्य हुन् ।

आपत्कालीन सेवामा पहिले आउनेले सुरुमै उपचार पाउने भन्ने हुन्न । बिरामीको जटिलता हेरेर कसलाई तत्कालै उपचार गर्ने त्यो हेरिन्छ । हामीले अन्य मुलुकमा जस्तै मेन्चेस्टर ट्रियाज सिस्टम अपनाउँछौं । त्यसअन्तर्गत बिरामीको अवस्था परीक्षण गर्ने पाँच प्रकारका श्रेणी हुन्छन् : रातो, सुन्तला रङ, पहेंलो, हरियो र नीलो । रातो श्रेणीमा परेका बिरामीको तत्कालै उपचार नगरे मृत्यु हुन सक्ने भएकाले तत्कालै हेर्नुपर्छ । यस्ता बिरामी प्राय: एम्बुलेन्समा चिकित्सककै साथमा आएका हुन्छन् र एम्बुलेन्समै ईसीजी गरिएको हुन्छ । ईसीसीको रिपोर्टबाट के समस्या हो भन्नेबारे जानकारी हुन्छ । ईसीजीकै सूची हेरेर कहाँ राख्नुपर्ने हो त्यहीं सिधै लान सकिन्छ । यसले गर्दा समयको बचत हुन्छ र बिरामीले छिटो उपचार पाउँछन् ।

कतिपय बिरामी हिँडेर वा सामान्य गाडीमा पनि अस्पताल आएका हुन्छन् । त्यस्ता बिरामीको स्थिति गम्भीर हुँदैन । उनीहरूको नाडीको पल, अक्सिजनको मात्रा, ब्लडप्रेसर, मुटुको धड्कन, श्वासप्रश्वासको अवस्था आदि हेरेर कति समयपछिसम्म हेर्दा हुन्छ भन्ने निर्णय गरेर चिकित्सकलाई सिफारिस गरिन्छ ।

नेपालमा चिकित्सकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचार नगरेको भन्ने सुनिन्छ । तर यता यस्तो सुनिँदैन । यसले विश्व नै त्रसित बनाइरहेको हुँदा डर सबैलाई हुन्छ । डर लागे पनि यहाँ अस्पतालमा आएका बिरामीलाई ‘उपचार गर्दिनँ, यहाँ हुन्न अर्को ठाउँमा उपचार गर्न जानू’ भन्न भने पाइन्न । बिरामीको रोगअनुसारको उपचार सेवा आफ्नो अस्पतालमा छैन भने पनि अर्को उपयुक्त अस्पताल खोजेर, चिकित्सकसँगको परामर्शपछि बेड खोजिदिएर आफैंले एम्बुलेन्समा राखेर पठाउनुपर्छ । अर्को कुरा, यहाँ पनि नेपालमा झैं पीपीई (व्यक्तिगत सुरक्षा कवच) भन्ने शब्दबारे धैरै नै बहस चलेको छ । जर्मनीमा भने यसको अभाव छैन र कोरोना संक्रमित बिरामी आउँदा सुरक्षाका सामग्री नभएर उपचार गर्दा डराउनुपर्ने स्थिति पनि छैन ।

जर्मनीका सबै अस्पतालभित्र पस्नुअघि मूल प्रवेशद्वार अगाडि नै केही संकेत राखिएका हुन्छन् । कोरोना लागेको छ भने त्यसैलाई संकेत गर्ने घण्टी बाहिरैबाट बजाउनुपर्छ । त्यो घण्टी बजाएपछि अस्पतालको आपत्कालीन कक्षका सबै विभाग सक्रिय हुन्छन् ।

संक्रमण भएको वा शंकास्पद बिरामीलाई सुरुमा आइसोलेसन वार्डमा राखिन्छ र उपचार गरिन्छ । नेगेटिभ देखिएपछि मात्र अन्य सामान्य वार्डमा सारिन्छ । पोजेटिभ भए कोहोर्ट आइसोलेसन (ग्रुप आइसोलेसन) मा राखिन्छ । उदाहरणका लागि, दुई जना कोरोना पोजेटिभलाई एउटै कोठामा राखेर उपचार गरिन्छ ।

इटाली र स्पेनमा जस्तो बेड नपुगेर बिरामीलाई कोरिडोरमा राख्नुपर्ने अवस्था जर्मनीमा हालसम्म आएको छैन । यद्यपि संक्रमित संख्यामा वृद्धि हुँदै गए भविष्यमा त्यस्तो अवस्था नआउला भन्न पनि सकिँदैन ।

जर्मनीमा केही खोप दिइन्छ । स्ट्रेप्टोकोक्कुस निमोनिया भन्ने कीटाणुको संक्रमण नहोस् भनेर लगाइने भ्याक्सिनलाई न्युमोकोक्कल भ्याक्सिनेसन भनिन्छ । यो कीटाणुका कारण विशेषगरी निमोनिया, मेनेन्जाइटिस, सिनुसिटिस आदिको संक्रमण हुने गर्छ । कम्युनिटी एक्वायर्ड निमोनिया अर्थात् स्वास्थ्य सेवाबाहिरबाट हुने लगभग २० देखि ४० प्रतिशत निमोनिया यही ब्याक्टेरियाले सार्छ । यस्ता बिरामीबाट बच्नलाई यो खोप लगाइन्छ । सबै देशमा बालबालिकालाई लगाइने खोपमा यो पनि पर्छ । जर्मनीमा चाहिँ यो खोप ६० वर्ष माथिका र रोग निरोधक क्षमता कम हुने (जस्तै– एचआईभी पोजेटिभ, शारीरिक अंग प्रत्यारोपण, बोनम्यारो प्रत्यारोपण गरेका आदि) लाई सिफारिस गरिन्छ । इन्फ्लुएन्जा नलागोस् भनेर फ्लुको भ्याक्सिन पनि दिइन्छ । दुवै भ्याक्सिनले कोरोना भाइरस नियन्त्रणमा कतिको भूमिका खेल्छन् भन्ने चाहिँ यकिन छैन ।

जर्मनीमा कोरोना संक्रमितको संख्या पनि कम छैन । यद्यपि युरोपका अन्य मुलुकमा भन्दा यहाँ मृत्यु हुनेको संख्या कम छ । त्यसलै धेरै अचम्मित परेका छन् । त्यसो हुनुमा क्रिस्टियान रोस्टन भन्ने एक जर्मन अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ । सन् २००२–२००३ मा सार्स फैलिएको बेला रोस्टान र उनको टोलीले कोरोनाबारे पत्ता लगाएको हो । त्यसबेला नोवल कोरोना भाइरस नदेखिए पनि त्यसबारे अनुसन्धान भने भइहेको थियो । चीनमा कोभिड–१९ को महामारी सुरु नहुँदै कोरोना भाइरसबारे अनुसन्धान भइरहेकाले पनि भाइरस फैलिएसँगै त्यसविरुद्ध कसरी काम गर्ने भनेर उनै रोस्टानले बेलैमा सचेत गराए । जर्मनीमा कोरोना भाइरस परीक्षण विधिको विकास पनि उनैले गरेका हुन् । चीनमा कोरोना भाइरस फैलिनुअघि नै यहाँ परीक्षण पद्धति विकास गरेर प्रयोगशालाहरूमा पठाइसकिएको थियो । त्यसले गर्दा सबैले तयारी गर्न पाए । रोस्टानको सुझावबमोजिम नै जर्मन सरकारले काम गर्‍यो । उनले नातिनातिनालाई हजुरबा, हजुरआमाबाट टाढै राख्नू भने । जनताले माने । वृद्धवृद्धा र युवालाई छुट्याएर टाढा राखिदिएपछि जर्मनीमा संक्रमित संख्या कम देखिएको हो ।

अर्को कुरा, जर्मनीले तत्कालै व्यापक मात्रामा परीक्षण गर्‍यो र संक्रमितलाई क्वारेन्टाइनमा राख्यो । जसका कारण अन्यमा संक्रमण सर्न पाएन र संक्रमित संख्या कम भयो । जर्मनी व्यवस्थित देखिनुको अन्य कारण के हो भने, सरकारले गरेको निर्णयलाई जनताले मान्नु । विशेषज्ञ चिकित्सकका सुझाव सरकारले मान्नु । अर्को कारण जर्मनीमा चिकित्सक र नर्सको संख्या बढी हुनु पनि संक्रमित संख्या कम हुनु हो ।

संक्रमितलाई उपचार गर्न क्रिटिकल केयर बेड महत्त्वपूर्ण हुन्छ । कोरोना संक्रमण फैलिनुअघि जर्मनीमा २८ हजार क्रिटिकल केयर बेड थिए । त्यसमध्ये २५ हजार भेन्टिलटेरसहितका बेड थिए । हाल उक्त संख्या बढाएर ४० हजार पुर्‍याइएको छ । भेन्टिलेटर संख्या ३० हजार पुर्‍याइएको छ । क्रिटिकल बेड र भेन्टिलेटर संख्या वृद्धि गरिएकाले पनि जर्मनीमा स्वास्थ्य सेवा र क्षमता बढेको छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा भेन्टिलेटरमा राखिएका कोरोना संक्रमितमध्ये जर्मनीमा ५० प्रतिशतको मृत्यु भएको छ । बाँकी ५० प्रतिशत निको भएका छन् । भेन्टिलेटर नपाए उनीहरू बाँच्दैनथे । १० जनालाई भेन्टिलेटर आवश्यक छ तर तीनवटा मात्र उपलब्ध छन् भने सात जनाको ज्यान जाने भयो । इटालीमा यस्तै भएको हो ।

स्पेन, इटाली, जर्मनी र फ्रान्समा चिकित्सक संख्या लगभग उस्तै भए पनि नर्सका संख्या स्पेन र इटालीमा ज्यादै कम छ । स्वास्थ्य सेवा दिन चिकित्सक मात्र नभई नर्स र चिकित्सकीय उपकरणका सुविधा पनि महत्त्वपूर्ण हुन्छ । बिरामीको अवस्था बुझ्ने, सबैभन्दा पहिले सम्पर्क हुने, स्थिति बुझ्ने, रिफर गर्ने र सेवा दिने नर्सले हो । यसरी हेर्दा फ्रान्स र जर्मनीमा नर्सको संख्या पनि धेरै देखियो ।

फ्रान्स, जर्मनी, इटालीले देशका कुल गार्हस्थ उत्पादन (जीडीपी) को क्रमश: ११, १२ प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । त्यति धेरै खर्च गरेपछि स्वास्थ्य पद्धति राम्रो हुने नै भयो । अमेरिकामा त्योभन्दा राम्रो लगानी छ ।

जर्मनीका अस्पतालमा पनि अहिले संक्रमितको चाप बढेको छ । यद्यपि अन्य बिरामी संख्या भने घटेको छ । अन्य बिरामी अस्पताल आउन डराएका छन् । एकदमै अन्तिम परेर मात्रै आएका छन् । अन्य बिरामीलाई भन्दा कोरोनाका संक्रमितलाई परीक्षण र उपचार गर्न धेरै समय लाग्छ । मैले काम गर्ने अस्पतालमा कोभिड–१९ महामारीपूर्व इलेक्ट्रिक अप्रेसन हुने गथ्र्यो । तर अहिले उक्त सेवा बन्द गरिएकाले चार–पाँच महिनाअघिदेखि डेट लिएर बसेका हर्निया र हातगोडाका अप्रेसनका बिरामीको अप्रेसन भएका छैनन् । जसले गर्दा पनि अस्पतालमा बिरामी कम छन् । जर्मनीमा अप्रिल अन्तिम वा मेको सुरुतिर संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ ।

यहाँ इटालीभन्दा धेरैपछि पहिलो संक्रमित पुष्टि भएको हो । इटालीमा संक्रमणका कारण मृत्यु हुनेको संख्याले उच्च बिन्दु पार गरिसकेकाले हामी तयारी अवस्थामा छौं । जर्मनीमा उपचारका स्रोत, साधन र उपकरणमा कमी छैन ।

केही दिनअघि म एम्बुलेन्स लिएर एक जना बिरामी लिन गएको थिएँ । सेप्टिक सकको उक्त बिरामीलाई अस्पताल ल्याउनु थियो । तर उक्त बिरामी अस्पताल आउनै मानेन । जर्मनीमा बिरामीले जान्न भनेपछि जबरजस्ती गर्न पाइँदैन । कोरोनाको डरले उक्त बिरामी अस्पताल आउन मानेको थिएन । त्यस्तै पहिले हार्ट अट्याक भएर जति आउँथे त्यस्ता बिरामी कहाँ गए ? उनीहरूलाई के भएको छ ? यस्ता बिरामी कति होलान्? अहिले डराएर नआए पनि कोरोना संक्रमण अन्त्य भएपछि त्यस्ता सबै बिरामी अस्पताल आए भने धान्न नसकिने पो हो कि भन्ने पनि डर लाग्छ ।

(कान्तिपुरकर्मी ददी सापकोटासँगको कुराकानीमा आधारित)

प्रकाशित : वैशाख ६, २०७७ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×