कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन अझ कडा पार्न प्रधानमन्‍त्री ओलीको निर्देशन

‘जो जहाँ छन्, त्‍यहीँ रोक्नू । खान पाएका छैनन् भने व्‍यवस्था गरिदिनू । दायाँबायाँ गर्ने नै होइन, आवतजावत पूर्ण रूपमा ठप्प पार्नू । लकडाउनमा बहकिएर हिँड्ने कुरै छैन ।’-प्रधानमन्‍त्री केपी शर्मा ओली
बिनु सुवेदी

काठमाडौँ — काम गरिरहेको ठाउँका ठेकेदारले बेवास्ता गरेपछि र स्थानीय तहले वितरण गर्ने राहतमा पनि पहुँच नपुगेपछि भोकै बस्न नसकेर घर हिँडेका मजदुरहरू बाटैमा अलपत्र परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन दिएका छन् ।

लकडाउन अझ कडा पार्न प्रधानमन्‍त्री ओलीको निर्देशन

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिमा सदस्‍य रहेका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखसहित शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन अझै कडा पार्न निर्देशन दिएका हुन् । ‘लकडाउन भनेको लकडाउन नै हो, अत्यावश्यक कामबाहेकका कसैलाई पनि बाटोमा निस्किन नदिनू,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘खान नपाएका मजदुरहरूलाई बसेकै ठाउँमा खाद्यान्नको व्यवस्था मिलाइदिनू ।’

यस्तै बैठकमा मजदुरहरूको सही तथ्यांक निकालेर उनीहरूलाई काममा लगाउने विषय उठे पनि थप छलफल भएन । प्रधानमन्त्री ओलीसँग छलफलमा जानुअघि कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा घर हिँडेका मजदुरहरूको बाटोमै बिचल्ली भएकाले उनीहरूलाई जसरी भए पनि घर पुर्‍याउने व्यवस्था गर्नुपर्ने र त्यसको पहलकदमी स्थानीय सरकारहरूले लिनुपर्ने निष्कर्ष निस्किएको थियो । मजदुरलाई या त भरपेट खाना दिनुपर्ने या घर जान दिनुपर्ने दुई विकल्प लिएर प्रधानमन्त्रीसमक्ष समितिका पदाधिकारी पुगेका थिए । तर प्रधानमन्त्रीले लकडाउनको मर्म र लक्ष्य बुझ्नुपर्ने बताउँदै जो जहाँ छ, त्यहीं राख्न निर्देशन दिए । ‘त्यसको समन्वय गृह मन्त्रालयबाट हुन्छ तर हिँडेर जान दिन हुँदैन,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘गाडीमा चढाएर पठाउन पनि साध्य लाग्दैन । त्यसैले जो जहाँ पुगेको छ, रोकेर राख्नुस्, खान दिनुस् ।’

मन्त्रीहरूको काम गराइमा समेत प्रधानमन्त्री ओलीले चित्त बुझाएका थिएनन् । ‘मजदुरहरूको त्यत्रो इस्यु आइरहेको छ, कोहीले ५ हजार मजदुर छन् भन्नुहुुन्छ, कोहीले ७ हजार,’ ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘पहिले मजदुरको यकिन तथ्यांक ल्याउनुस्, कसले कहाँ खान पाएको छैन, विवरण मगाउनुस् । निर्माण कम्पनीमा काममा लगाउनुस् ।’ उनले यी सबै काम धेरै मन्त्रालयहरूको समन्वयमा हुने भए तापनि मन्त्रीहरू अलमल परेकामा आलोचना गरेका थिए । उनले मन्त्रीहरूले गरेका काममा राम्रो समन्वय नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । अरू दिनजस्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कुरा सुन्ने भन्दा पनि आफ्ना कुरा बढी सुनाएर उनीहरूका काममा असन्तुष्टि जनाए ।

प्रधानमन्त्रीको आक्रोशको तारोमा मन्त्रीहरू मात्र थिएनन्, सधैंजस्तै मिडिया पनि थियो । उनले मिडियाबाट आइरहेका समाचारप्रति आक्रोश व्यक्त गरे । ‘राम्रो काम गर्दागर्दै पनि त्यो कुरा मिडियाले देखेनन्,’ उनले बैठकमा भनेका थिए । मिडियाले सानो कुरालाई पनि ठूलो बनाएको तर सरकारको सावधानीकै कारण अहिलेसम्म स्थिति नियन्त्रणमा राख्न सकेको कुरालाई चाहिँ नजरअन्दाज गरेको गुनासो उनको थियो । ‘प्रधानमन्त्रीको कुरा सुन्दा सबै काम मिडियाले बिगारिदिएका हुन् कि जस्तो सुनियो,’ बैठक स्रोतले भन्यो, ‘मिडियाले लेख्दै गर्छन् तर आफ्नो काम सही ढंगले गर्नुपर्छ । हाम्रो केही कमजोरी छन् भने सच्याउनुपर्छ भन्ने खालको भाव उहाँमा देखिँदैन ।’

समितिको बैठक बस्नुअघि विभिन्न दलका नेताहरूले समिति संयोजक ईश्वर पोखरेललाई भेटेर मजदुरबारे केही निर्णय लिन आग्रह गरेका थिए । कानुन तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले पनि अलपत्र महिला र बालबालिकालाई प्राथमिकता दिन अनुरोध गरेकी थिइन् । शुक्रबारै सर्वोच्च अदालतले पैदल हिँडिरहेकालाई गन्तव्यमा पुर्‍याउन आदेश दिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबारै यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै न्यूनतम सुविधा पुर्‍याउन निर्देशन दिएको थियो । सडकमा लामो दूरीको यात्रा गरिरहेकालाई गन्तव्यमा पुर्‍याउनुपर्ने सर्वत्र दबाब बढेपछि शुक्रबार गृह मन्त्रालयमा त्यसबारे समीक्षा भएको थियो तर यो सबै घटनाक्रम देखे–बुझेका प्रधानमन्त्री ओलीले अहिले बहकिने समय नभएको भन्दै लकडाउन झन् कडा पार्ने धारणा उच्चस्तरीय समितिसमक्ष पेस गरे ।

समितिसँगको बैठक सकिएपछि प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, गृहसचिव, प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग सुरक्षा अवस्थाबारे छुट्टै ब्रिफिङ लिएका थिए । त्यहाँ पनि उनले लकडाउनलाई सकेसम्म कडा बनाउन निर्देशन दिए । करिब डेढ घण्टाको छलफलमा प्रधानमन्त्री ओलीले लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्नर्ुपर्ने र योभन्दा अन्य कुरामा बहकिएर हिँड्न नहुने धारणा राखेका थिए ।

‘दायाँबायाँ गर्ने नै होइन, आवतजावत पूर्ण रूपमा ठप्प पार्नू, कसैले खान पाएका छैनन् भने खाने व्यवस्था गर्नू,’ सुरक्षा प्रमुखहरूसहितको बैठकमा पनि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अहिलेसम्म मानवीय क्षति नहुनु सरकारले गरेको रोकथाम र नियन्त्रणकै प्रतिफल हो, उच्च मनोबलका साथ काम गर्नू । लकडाउनमा बहकिएर हिँड्ने कुरै छैन ।’

स्रोतका अनुसार बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले हालसम्मको अवस्था सन्तोषजनक रहेको र मिलेर चुनौतीको सामना गर्नुपर्ने बताएका थिए । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भने लकडाउन उल्लंघन गरेर घर फिर्ने संख्याले समस्या पारेको ब्रिफिङ गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले लकडाउन कार्यान्वयन र सीमामा आवतजावत रोकिएको बारे बताएका थिए ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले लकडाउन उल्लंघनकर्तालाई नियन्त्रण गर्नु नै मुख्य चुनौती भएको बताएका थिए । उनले त मानिसहरू अनावश्यक हल्लाको पछि लागेर घर छोड्ने क्रम बढेको भन्दै प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

‘विदेशमा रहेका नेपालीलाई दु:ख छैन’

प्रधानमन्त्री ओलीले रोजगारीका सिलसिलामा खाडी र मध्यपूर्वमा रहेका नेपालीले अहिलेसम्म कुनै दु:ख नपाएको जानकारी पनि उच्चस्तरीय समन्वय समितिसँगको बैठकमा गराएका थिए । उनले आफूले सम्बन्धित देशका सरकार प्रमुखसँग कुरा गरेको बताउँदै अहिलेसम्म नेपालीको अवस्था सन्तोषजनक रहेको जानकारी दिएका थिए ।

‘विदेशमा रहेका नेपालीले खुब दु:ख पाए भनेर समाचार आए, त्यसपछि मैले तत्तत् देशका सरकार प्रमुखसँग कुरा गरें,’ बैठकमा ओलीले भने, ‘अहिलेसम्म कोही मजदुर बेरोजगार भएका छैनन् र भविष्यमा भएछन् भने पनि त्यहींको सरकारले व्यवस्था गर्ने कुरा भएको छ ।’ ओलीले बैठकमा दिएको जानकारीअनुसार उनले कतार, बहराइन, यूएई, साउदी अरेबिया, साइप्रसलगायत देशका प्रमुखसँग संवाद गरेका हुन् । ‘अहिले सबैको अवस्था ठीकै भएकाले जो जहाँ छ, त्यहीं बस्ने, विदेशबाट नेपाली नल्याउने र पछि रोजगारी गुमेर खान पाएनन् भने पनि त्यहींको सरकारले व्यवस्था गर्छाैं भनेका छन्,’ ओलीले भने, ‘उनीहरूसँग मेरो बातचित भइरहेको छ ।’

प्रकाशित : वैशाख ६, २०७७ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?