काठमाडौँ — क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नगद जम्मा गरेको छ । सीप्यानका महासचिव पारस खड्काले कोषमा शुक्रबार ४ लाख ६२ हजार जम्मा गरिएको जनाएका छन् ।
सीप्यानले गत वर्ष देखि शैक्षिक संस्था नेसनल कलेज अफ कम्प्युटर स्टडिज, नेसनल क्रिएटिभ को-एजुकेसनल स्कुल र एनसीसीएस उच्च माध्यमिक विधालय (एनसीसीएस ग्रुप) सँग मिलेर एनसीसीएस–सीप्यान क्रिकेट अवार्ड गर्दै आएको थियो । यस वर्ष पनि आयोजना गर्ने मिति चैत २१ गते तोकिएपछि कोरोना त्रास फैलिएसँगै कार्यक्रम स्थगित गरी सो रकम कोभिड १९ कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
सीप्यान वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइभ टाइम एचिभमेन्ट गरी ५ विधामा पुरस्कार दिने घोषणा गरेको थियो । सीप्यानले लैंगिक समानता बनाउँदै वर्षको क्रिकेट खेलाडी महिला र पुरुष समानलाई १ लाख ३२ हजार तथा अन्यलाई समान ६६ हजार दिने घोषणा गरेबमोजिमको रकम कोभिड १९ कोषमा जम्मा गरेको हो ।
सीप्यानले यस वर्षको अवार्ड अर्को वर्ष गरिने जनाएको छ । गत वर्षको यो अवार्डमा सन्दीप लामिछाने र सीता रानामगर पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडी भएका थिए ।
