कोही किन गाउँ फर्कन्छ ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोही किन गाउँ फर्कन्छ ?

गाउँमा शोषणको स्थिति जतिसुकै कष्टकर भए पनि, झुपडी भए पनि खुला आकाश हुन्छ, फराकिला खेतका कान्ला हुन्छन्। ऊ खुला सास फेर्न पाउँछ। साँघुरो सहरमा काम नभएपछि ऊ त्‍यसैले आफ्नो गाउँ जान मरिहत्ते गर्छ ।
प्रमोद मिश्र

कोभिड-१९ महामारीले एकातिर विश्वमा सबभन्दा सम्पन्न राष्ट्र अमेरिकामा तीसौं हजार मानिसको मृत्‍युले अमेरिकी सरकारको अव्‍यवस्था र नेतृत्वहीनतालाई उजागर गरेको छ । अर्कोतर्फ नेपाल र भारतमा अहिलेसम्म टेलिभिजनको पर्दामा नदेखिएको मजदुरहरूको कन्तबिजोगले त्‍यहाँको सरकारको कल्पनाशीलता र संवेदनशीलताको अभावलाई छर्लङ्ग पारेको छ।

कुनै राष्ट्रपति पत्रकारलाई गाली गर्न, अरूमाथि दोष थोपर्न र आफ्नो फाइँफुट्टी लाउनमै समय खर्चिँदै छन् भने कुनै प्रधानमन्त्री जनतालाई बत्ती बाल्न लाएर वा राष्ट्रिय गीत गाउन भनेर कोरोना भाइरसको भूत भगाउन लागिपरेका छन्। तर यिनको राष्ट्रवादी मन्त्रले कोरोना भूत भाग्ने छाँटकाँट देखिँदैन। एकछिनका लागि अमेरिकालाई बिर्सेर नेपाल-भारतकै कुरा गरौं।

सोलुदेखि कैलाली, काठमाण्डौबाट सप्तरी-मोरङ, दिल्लीबाट बिहार, उत्तर प्रदेश र नेपालका गाउँ हिँडेर जाने ज्यालादारी मजदुरको लाम केही दिन अगाडि देखियो । अझै घर हिँडनेको ताँती सिद्धिएको छैन। नाका-नाकामा आफ्नै देश फर्कन नसक्ने छटपटी र ज्यानको बाजी लाएर महाकालीसमेत तर्ने र भिजेको नाङ्गो जिउ पुलिस हिरासतमा पर्ने हिम्मतसमेत देखियो। पोकापन्तुरा पिठ्यूँमा, बालबच्चा काँधमा, सुत्केरी पछिपछि। चार दिनदेखि बाह्र दिनसम्मको हिँडाइ। यी बटुवा देशविदेशका हुनेखानेले जस्तो भरिया बोकाएर जिउको बोसो घटाउन हिँडेका थिएनन्। जिउलाई फुर्तिलो बनाइ आफ्नो कोर्पोरेसनको नाफा वृद्धि गर्ने प्रबन्धक वा मनोरञ्जन गर्ने टुरिस्ट थिएनन् ती । न त देश दर्शन गर्न हिँडेका देशप्रेमी नै वा देशाटनमा हिँडेका यायावर। न थिए ती बम भोलेको भक्तिनारा लाउँदै पैदल हिँड्ने बोलबम तीर्थयात्री। यी त मजदुर थिए, मजदुर। यिनका मातापिता, पितामह परपितामह पनि मजदुर नै थिए होलान् भरसक। यिनलाई काम नपाएका बेला हिमालयको सुन्दरतासँग के लेनादेना? यिनलाई सहरमा काम नभएका बेला वा भएकै बेला पनि काठमाडौंको दरबार स्क्वायरको प्राचीनता वा कुतुब मिनारको मनोरम दृश्यसँग के मतलब? यी त सहरमा आउन बाध्य भएका, आफ्ना गाउँमा रहेका जहानबच्चा वा वृद्ध आमाबालाई पाल्ने जोहो गर्ने फगत मजदुर थिए।

मेरै मोरङको गाउँका युवाहरू कोही अहमदाबादमा अड्केका छन्, कोही दिल्ली, करनाल, लुधियानामा। कोही कतार, अबुधाबी, मलेसिया-कहाँ, कहाँ। काम नहुँदा यी कसरी बस्न सक्छन् जहाँ बसे पनि? यी सबै घर फर्किन छटपटिँदैछन्। कामले दिन भरिन्थ्यो यिनको गाउँ छाडेर जहाँ बसे पनि। पैसा कमाउने आसले जाँगर चल्थ्यो। पैसा कमाएर गाउँमा एक कठ्ठा घडेरी किन्ने सपना पालेर दु:ख गरिरहेका थिए यी। तर सर्वत्र लकडाउनका बेला कामबिना साँघुरो कोठामा खाँदिएर कसरी बसुन्? फेरि नेपाल/भारतका सहरमा काम गर्न जाने त खाडी मुलुक वा मलेसिया-कोरिया न जान सक्ने नै हुन्छन्। जीवनभर किताबको संगतले लेखपढ गरी बस्ने मानिसलाई त महिना दिन घरमै कोच्चिएर बस्दा उकुसमुकुस भई डिप्रेसन हुने सम्भावना देखिइसकेको छ भने फगत कमाइका लागि सहर पसेका अनपढ मजदुरको के हुन्छ हालत?

यस प्रलय सम्झाउने घडीमा सामाजिक सञ्‍जालमा हेर्नुपर्छ। घरमा कसरी मन बहलाउने र स्वस्थ रहने अनेक उपाय बताइन्छ। हामी हुनेखानेले घरमै बस्दा पनि कति दु:ख भोग्नुपरेको होला! कतिबिघ्न मानसिक पीडा बेहोर्नुपर्न सक्छ भन्ने सम्‍भावनाहरू देखाएर तिनको निवारणका उपाय बताइन्छ हामीलाई! घर वरिपरि नै म्याराथन कसरी कुद्ने। घरकै लिभिङरुममा दस हजार पाइला कसरी पूरा गर्ने। रामदेवको प्राणायाम र कपालभातीको त कुरै के गर्नु! यस्ता “योगा” र “मेडिटेसन” का कुरा कति हो कति! अनि यी सबले पनि पुगेन भने अनेक थरीका फिल्म हेर्ने सल्लाह दिइन्छ। हलिउड हेर्नेकि बलिउड? कमेडी हेर्ने कि ट्रेजेडी? यी सबै सल्लाहसुझाव बाजिबै हुन् किनभने घरबन्दीमा यत्रो दिन बस्दा दिक्क लाग्नु स्वाभाविकै हो। तर यी अनेकौं स्वास्थ्यवर्द्धक एवं मनोरन्जक उपाय तिनलाई काम लाग्छ जसको घर छ वा जसको घरमा इन्टरनेटसहितको सबै सेवा सुविधा हुन्छ। कमसेकम स्मार्टफोन हुनेले र डाटा किन्न सक्नेले गर्न सक्छ। नेपाल र भारतका सहरमा मजदुरी गर्नेहरुसँग खाडी-मलेसियामा काम गर्नेको जस्तो फेसबुक पनि नहुन सक्छ। अनि सामाजिक सञ्‍जालको अंग्रेजी-नेपाली-हिन्दीमा हुँदै गरेको बाह्रसत्ताइस कुरासँग तिनलाई के मतलब?

फेरि लकडाउन पनि भारत-नेपालका शासकले यसरी लागू गरे कि त्यो सैनिक शासन जस्तै हुन गयो। बाहिर कोही देखियो कि त्यसलाई डण्डा लगाइहाल्ने। कुनै निर्देशन छैन, कुनै तयारी छैन। दिनहुँ कुनै प्रेससँग अन्तरक्रिया छैन। हुँदै गरेको वा भइसकेको गल्तीलाई सच्याउने गतिशील व्यवस्था छैन। नेपालका प्रधानमन्त्री स्वास्थ्य अवस्थाले आराम गरिरहेका छन् भने भारतकाले प्रेसको सामना नै गर्न चाहँदैनन्। तर दुवै घरिघरि टेलिभिजनको पर्दामा आएर बत्ती बाल्ने र गीत गाउने हुकुम दिन भने पछि पर्दैनन्। यो महाव्याधि इजरायली इतिहासकार युभल नोहा हरारीले भने जस्तै तिनका लागि हैकम जमाउने बहाना बनेको छ।

गरिब, अनपढ, निमुखा, निर्धा मजदुरलाई त यिनले भेंडाबाख्रा नै ठानेका छन् जस्तो लाग्छ। घरमै बस्ने आदेश अक्षरशः पालना गरेनन् भने बुझ्नुसुझ्नु केही छैन भाटा कार्यक्रम चलाइहाल्यो। माओवादी वाईसीएल गए, एनजीपी (नेपाल गभर्मेन्ट पुलिस) आए मधेसी-दलित र गरिबलाई कुट्न। अब त मनोबल बढेर यिनले डाक्टर-साक्टर सबैलाई न छोड्ने भए। तर यस्ता लट्ठी बर्साउने ज्यादतीका घटना कहाँ र कोमाथि बढी भएको छ भनेर सर्वेक्षण गर्दा सबै थाहा हुन्छ। मैले अहिलेसम्म मधेसी-दलित बाहेक अरूलाई भाटैभाटाले प्रतिवादबिना कुटेको देखेको छैन। सप्तरीमा छोरालाई बचाउन आएकी एक जना महिलालाई कुटेरै मारे। मजदुरलाई कुट्दा प्रतिकार कसले गर्ने! तिनको त कोही माइबाप हुँदैन।

लकडाउनमा एक्लै बाहिर निस्कियो भने के बिग्रियो? कुनै कामले जाँदै होला। अवज्ञानै गरेको हो भने पुर्जी काट्नु। मोटरवालालाई पुर्जी दिन मिल्छ भने देहातका युवकलाई किन दिन मिल्दैन? यो सब किन हुन्छ ? पुलिसलाई त कमजोरमाथि लौरो बर्साउने तालिम दिइएको हुन्छ, मानिस भएर जनताको हिफाजत गर्न त सिकाएकै हुँदैन। व्यवस्था बद्लिसक्यो, संस्कार उस्तै। अनि लट्ठी किन नबजारोस्?

ती मजदुर कसरी यति सजिलै हेपिए, पिटिए, धपिए ओली-प्रचण्डको राजमा? मजदुरकै नाममा तिनले “सामन्तका” टाउको काटेका अनि राज्यविरूद्ध जनविद्रोह गरेका हैनन्? ती र तिनका सर्वहारा दल कता हराए? मार्क्सले त भनेकै छन्, “ती (मजदुर) आफ्नो प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूलाई अरूले (आभानगार्ड, अथवा अगुवाहरूले) नेतृत्व दिनु पर्छ।“ नेपाल-भारतमा अगुवामा पर्छन् बंगाल, केरल र नेपालका ब्राहमण कमरेडहरू। नेपालमा सर्वहाराका नाममा राजनीति गर्ने ती आज मजदुर मारा हुन पुगेका छन् सत्तामा पुगेपछि। नत्र बसको व्यवस्था गर्न सकिँदैनथ्यो? लकडाउनको घोषणा गर्नु अगावै एकदुई दिनको समय दिन सकिन्थ्यो। भारतकै कुरा गर्ने हो भने मोदी चिया घोट्नेको छोरा हुँ भनेर सुकिलामुकिला गान्धी-नेहरू परिवारभन्दा म फरक हुँ भनेर चुनाव जितेका होइनन्? तर समस्या के छ भने चाहे ती चिया घोट्नेका छोरा हुन् चाहे मजदुरका नाममा टाउको काटेर शासनमा आएका हुन्।

सत्ताको मात चढिसकेपछि सबै बिर्सिँदोरहेछ भन्नेकुरा मजदुरहरूको यस महामारीमा भएको दशाले छर्लङ्ग पारेको छ। पाँचदेखि बाह्र दिनसम्म मजदुर भोकैप्यासै कसरी हिँड्न सक्छ? अरू जस्तो उसको जिउमा बोसो कहाँ छ जो पग्लिन्छ उसलाई हिँडने उर्जा दिन? मजदुरबारे यो कुरा नबुझ्न सक्नु भनेको दक्षिण एसियाका कम्युनिस्ट राजनैतिक नेतृत्वको चरित्र र यसको कल्पनाशक्ति र सोच अनि विवेकमा उहिल्यैदेखिको खडेरी लाग्नु हो कि भने मार्क्स, लेनिन, माओलाई जातले, भाषाले, क्षेत्रले कोही किन गरिब हुन्छ भन्ने थाहा थिएन र हाम्रा सर्वहारा शासकलाई गुरूशास्त्रमा नघोकेका कुरा थाहा हुने कुरै भएन।

सहरमा खान दिन्छौं, कोरोना लकडाउनमा भाडा तिर्न पर्दैन भन्ने बेलामा तर दिल्लीमा आठ दिनकी सुत्केरीले पानी खाएर बस्नुपर्दा शिशुका लागि दूध निस्किन छाड्यो। नेपालमा पनि सहरमा अड्किएका मजदुर भोकभोकै बाटाबाटामा सुतेका छन्। भारतमा कति त घर जान हिँडेका दुई-तीन सय किलोमिटर हिँडीसकेपछि बाटैमा मरे। कति आ-आफ्नो गाउँ पुग्न सफल भएका छन्।

गाउँबाट मानिस सहर किन लाग्छ? अवसरका लागि। औकात, जात, वर्ग, भाषा, पहिचानका आधारमा कोही गाउँबाट दिल्ली, पञ्‍जाब त कोही खाडी, मलेसिया त कोही काठमाडौंमा मजदुरी गर्छ। त कोहीकोही हामी जस्ता पहिला काठमाडौं त्यसपछि अमेरिका पुग्न सफल हुन्छौं बाह्र घेरा नाघेर। तर हिजो हामी सबै त्यही गाउँबाट आएका होइनौं र ? तर गाउँबाट आए पनि के गर्ने? कोही मालिक कोही नोकर थियौं गाउँमा, कोही नमस्ते खाने कोही जदौ बजाउने।

तर फरि यी मजदुरलाई गाउँ नै फर्किन किन यति हतारो? मजदुर दिल्ली, पञ्‍जाब, काठमाडौं आ-आफ्नो गाउँबाट गएर खट्छन् किन भने गाउँमा काम छैन। ती सहरमा पैसा बढी पाइन्छ। तर ती काम गर्ने सहरमा मजदुर फगत श्रमको स्रोत हुन्छन्, श्रमिक हुन्छन्। त्यहाँ उसको पहिचान हुँदैन। काम गराउने मालिकले उसलाई मजदुरको रूपमा चिन्दछ, एउटा सामाजिक प्राणीको रूपमा जान्न चाहँदैन। तर आफ्नो गाउँमा ऊ नातागोता, दरदियाद, भाइभैयारी, साथीसङ्गी, चाडबाड आदिले गर्दा एउटा पहिचानसहितको सामाजिक प्राणी हुन्छ ।

गाउँमा शोषणको स्थिति जतिसुकै कष्टकर भए पनि। फेरि गाउँमा झुपडी भए पनि खुला आकाश हुन्छ, फराकिला खेतका कान्ला हुन्छन्। ऊ खुला सास फेर्न पाउँछ। साँघुरो सहरमा काम नभएपछि ऊ त्‍यसैले आफ्नो गाउँ जान मरिहत्ते गर्छ । महाकालीमा पौडी खेलेर पनि ताकि त्‍यहाँ ऊ पहिचानसहितको खुला सास फेर्न सकोस्। पारम्परिक सामुदायिकतामा खुशी मनाउन सकोस्। काठमाडौं आएर काम गर्दाका वर्षमा हामी पनि त बिदा हुनेबित्तिकै आफ्नो गाउँ जान कुदाकुद गर्थ्यौं। यो कुरा आजका नेपालका नेताहरूले बिर्सिसके। काठमाडौंमा महल बनाएर बसेपछि यो कुरा बिर्सिँदोरहेछ। त्यसैले मजदुरको हरिबोजोग देख्दा पनि तिनीहरूको मन पग्लेन। तिनीहरूलाई राहत पुर्‍याउन मन चलायमान हुनुको सट्टा तमासे बनेर बसे र अझ बसिरहेका छन्।

बरू मोरङको मेरो गाउँका युवाहरूको क्लबले यस महाव्याधिमा लकडाउनका बेला गाउँसमाजमा कसैलाई भोकै बस्न दिँदैनौ भनेर देशव्यापी लकडाउनको घोषणा भएकै दिन सूचना जारी गर्यो र सोहीअनुरूप काम गर राखेको छ। काठमाडौंले गाउँबाट र सत्तामातले संवेदनशीलतामा खिल्ली परेका नेताहरूले गाउँका युवाबाट यस्ता धेरै कुरा सिके राम्रो।

प्रकाशित : वैशाख ५, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतबाट फर्केको महिना दिनपछि कोरोना संक्रमण पुष्टि

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएका चितवनका आमाछोरा एक महिनाअघि विदेशबाट फर्केको खुलेको छ । उनीहरुमा संक्रमणको कुनै लक्षण छैन । स्वास्थ्य अवस्था सामान्य रहेका दुवैजनालाई भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

बुधबार आरडीटी गर्दा महिलामा एन्टिबडी देखिएपछि उनीसँगै रहेका दुई छोरासहित ती महिलालाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनीहरु पूर्वीचितवन राप्ती नगरपालिका–८ का बासिन्दा हुन् ।

भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा बिहीबार उनीहरु तीन जनाको पीसीआरमा स्वाब परीक्षण गर्दा दुई जनामा संक्रमण देखिएपछि थप पुष्टिका लागि शुक्रबार टेकु प्रयोगशाला पठाइएको थियो । टेकु प्रयोगशालाले पनि संक्रमण भएको पुष्टि गरेको हो । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार संक्रमित दुवै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ ।

संक्रमित आमाको उमेर ६१ वर्ष र उनको छोराको उमेर २७ वर्ष छ । उनीहरु दुईजना चैत्र ३ गते बेलायतबाट काठमाडौं उत्रेका थिए । उसै दिन अर्का छोरा पनि हङकङबाट काठमाडौं आएका थिए । उनीहरु तीनजना काठमाडौं दुई दिन बसेर चैत्र ५ गते घर चितवन आएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताइन् । अहिले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न नगरपालिका लागेको उनको भनाइ छ ।

राप्ती–८ का वडाध्यक्ष बुद्धिराज थपलियाका अनुसार उनीहरुलाई चैत्र १० गतेपछि होम क्‍वारेन्टाइनमा राखिएको थियो । ‘खासै घुमफिर गरेको अवस्था थिएन । विदेशबाट आएका हुन् भनेपछि हामीले चैत्र १० गते भेटेर होम क्‍वारेन्टाइनमा राखेका थियौं । बीचमा पनि नगरपालिकाका स्वास्थ्यकर्मी गएर थर्मल गनले ज्वरो हेर्दा पनि केही देखिएको थिएन । अस्ति बुधबार आरडीटी गर्दा आमामा शंका देखियो’ वडाध्यक्ष थपलियाले भने ।

सबै अवस्था सामान्य देखिएका कारण उनीहरु अस्पताल जान पर्लार भनेको स्थानीयले बताए । चितवनमा कोरोना भाइरसको संक्रमण देखिएको यो नै पहिलो घटना हो ।

विश्वमा कोरोना संक्रमण बढ्न थालेपछि भरतपुर अस्पतालले गएको फागुन १८ मा नै आइसोलेसन वार्ड बनाएको थियो । अहिले परीक्षणसमेत भरतपुरमै हुन्छ । चितवनमा २१४ जनाको नमुना परीक्षण भइसकेको छ । जसमा दुईजनाको मात्रै पोजिटिभ नतिजा आयो ।

यो पनि

प्रकाशित : वैशाख ५, २०७७ २०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×